साउन १२ गते शनिबारदेखि नर्वेको राजधानी ओस्लोमा आयोजना हुन लागेको नर्वे कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा काव्य स्कुलले सहभागिता जनाउने भएको छ । काव्य स्कुलबाट नर्वे कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भाग लिएको यो दोस्रोपटक हो । यसअघि गत वर्ष पनि काव्य स्कुलको टोली नर्वे गएको थियो ।
नर्वे सरकारको आयोजनामा हुन लागेको सेभेन ए साइड फुटबल प्रतियोगितामा जुनियर फुटबल एसोसिएसन (जेएफए) नेपालको तर्फबाट सो टोली असार ११ गते शुक्रबार बिहान नर्वे प्रस्थान गर्नेछ ।
जेएफएका संस्थापक अध्यक्ष तथा काव्य स्कुलका संस्थापक निर्देशक रिजन खड्काको नेतृत्वमा नर्वे जान लागेको सो टोलीमा संघका प्रमुख प्रशिक्षक प्रज्ज्वल प्रताप क्षेत्रीका साथै ८ जना खेलाडी रहेका छन् । फुटबल खेलाडीमा ओम दाहाल, प्रसुन निरौला, सञ्जय खत्री, विपेश बुढाथोकी, सनुप श्रेष्ठ, क्षिनित भट्टराई, प्रयुश खड्का र इशान गौतम छन् ।
राष्ट्रगानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला), शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतम, काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटा तथा निर्देशकहरू प्रेमराज अर्याल र दिलीप थापाले नर्वे जान लागेका खेलाडीहरूलाई टीका र खादा लगायर बिदाइ गरेका थिए ।
संसारभरका करिब एक सयवटा मुलुकका फुटबल खेलाडीले भाग लिने सो प्रतियोगिताको पहिलो दिन काव्य स्कुल टोलीले नर्वेसँग लिग खेल खेल्ने काव्य स्कुल टोलीका प्रमुख प्रशिक्षक क्षेत्रीले बताएका छन । लिगपछि नकआउट खेल हुनेछ ।
काव्य स्कुलका विद्यार्थीले सो प्रतियोगितामा २ वटा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै ओस्लोमा आयोजना हुने कम्प्युटर तथा शिक्षासम्बन्धी विश्वस्तरीय प्रदर्शनीमा भाग लिने बताइएको छ ।
जेएफएका संस्थापक अध्यक्ष तथा काव्य स्कुलका संस्थापक निर्देशक रिजन खड्काका अनुसार यसअघि काव्य स्कुलका खेलाडीले गत वर्ष नर्वे कपका लागि खेलेका थिए । त्यसअघिका वर्षमा अमेरिकाको फ्लोरिडा, थाइल्यान्डको बैंकक र ताइवानमा जुनियर फुटबल खेल खेलेका थिए ।
प्रतिक्रिया