कहिले बन्ने प्रचण्ड सिर्जनाको नायक ?-देवप्रकाश त्रिपाठी

कहिले बन्ने प्रचण्ड सिर्जनाको नायक ?-देवप्रकाश त्रिपाठी


सृष्टिका देवता ब्रह्माजीको कहिल्यै पूजा नहुने, तर संहारकर्ता शंकरजीलाई चाहिँ सबैभन्दा ठूला देवताका रूपमा पूजा गरिने मुलुकमा मानिसहरू सिर्जना र रचनाका निम्ति भन्दा विध्वंशकै निम्ति अभिप्रेरित रहनु स्वाभाविक हो । सिर्जनाभन्दा विध्वंश सजिलो हुने भएकोले पनि मानिस आफूप्रति अन्यको ध्यानाकरि्षत गर्न ध्वंशात्मक क्रियाकलापलाई आफ्नो साध्य पूर्तिको साधन बनाउने गर्दछन् । सम्हाल्नु, सिर्जना गर्नु, बनाउनु सकारात्मक कार्य त हो, तर त्यसका निम्ति विध्वंशमा देखाएको सामर्थ्यभन्दा लाखौँ गुणा जोडबल लगाउनुपर्ने हुन्छ । उकालोमा दौडिएर लक्ष्यमा पुग्नुभन्दा ओरालो दौड ‘आनन्दमय’ भएजस्तै हो सकारात्मकभन्दा नकारात्मक कामप्रतिको आकर्षण पनि । तात्कालिक राज्यसत्ताका मालिक सिर्द्धार्थ गौतमले गन्तव्य प्राप्तिको सकारात्मक मार्ग अवलम्बन गरे, आजको संसारमा भगवान् कहलाइनका निम्ति उनले आफ्नो जीवनमा अनेकौँ कष्ट र कठिनाइहरूको सामना गर्नुपरेका तथ्यहरू अहिले किंबदन्तीझैं लाग्छन् । महावीरले प्राणी जगत्को रक्षाका निमित अहिंसा, सत्य र त्यागको जुन तपस्या गरे त्यो सङ्घर्ष लेनिन र माओले गरेजस्तो जालझेलपूर्ण थिएन र प्रलोभनप्रेरित पनि त्यो थिएन । कन्फ्युसिएसले आफैंलाई दृष्टान्तको रूपमा प्रस्तुत गर्दै सद्व्यवहारका मूल्य-मान्यता स्थापित गर्ने क्रममा पनि उनी सङ्घर्षरत नै थिए । विश्वमा आधिपत्य स्थापना गरिसकेको ब्रिटिस साम्राज्यविरुद्ध गोलाबारुदको युद्ध गर्नेहरू पनि संसारमा नभएका होइनन्, तर करमचन्द गान्धीले मुक्तिको सुन्दर गन्तव्य प्राप्त गर्न नितान्त सकारात्मक मार्ग अवलम्बन गरे । बन्दुक र हिंसाका कुरा गर्नेहरू आज बेपत्ता छन्, करमचन्द महात्मा गान्धीका रूपमा स्तुत्य भएका छन् । बन्दुकको बलबिना कष्टप्रद तर सकारात्मक सङ्घर्ष गरेर नेल्सन मण्डेलाले दक्षिण अफि्रकीहरूलाई मुक्ति दिलाए । त्यस निम्ति उनले सत्ताइस वर्ष कठोर काराबासमा बिताउनुपर्‍यो, तर मण्डेलाले आफ्नो मुलुकलाई समृद्धितर्फ लैजाने ढोका खोलिछाडे । मण्डेलाले कालाको हितका लागि भन्दै कालाहरूलाई मात्र सङ्गठित गरेर हिंसात्मक सङ्घर्ष गरेका भए पनि उनको चर्चाचाहिँ विश्वव्यापी हुनसक्थ्यो, तर दक्षिण अफि्रकामा यति चाँडै शान्ति, स्थिरता र समृद्धि बहाल हुनचाहिँ सम्भव थिए । ब्रिटिसले छोडेको भारतलाई सम्हाल्न पनि गान्धीको सकारात्मक व्यक्तित्व र रचनात्मक भूमिकाले अत्यधिक योगदान पुर्‍याएको हो । चिनियाँ विध्वंशका नायक माओ त्से तुङले बाँचिन्जेल सङ्घर्ष, हिंसा र क्रान्तिकै कुरा गरिरहे, उनी हरेक समस्याको समाधान सङ्घर्ष, हिंसा र क्रान्ति नै हो भन्ने विश्वास राख्दथे । तर, चिनियाँ जनता दशकौँ लामो हिंसा, सङ्घर्ष र क्रान्तिका कुराबाट आजित भएका थिए । चिनियाँ जनताको शान्ति, स्थिरता र समृद्धि प्राप्तिको चाहना देङ सियाओ पिङले सकारात्मक एवम् रचनात्मक मार्ग अवलम्बन गरेर नै पूरा गरेका हुन् । माओझैं उनी पनि हिंसा, सङ्घर्ष र क्रान्तिको भ्रान्तिमा लागेका भए आजको समृद्ध चाइनाको तस्बिर देखिन सम्भव थिएन ।
सृष्टिको अस्तित्व जीवित रहेसम्म धर्तीमा मानिसको उपस्थितिले निरन्तरता प्राप्त गरिरहने आशा गर्न सकिन्छ, तर मानिसमा एउटा व्यापक विशेषता के छ भने हरेक मानिस आफ्नै जीवनमा उपलब्धि खोज्दछ र हरेक व्यक्ति आफ्नो जीवनलाई सुखद, आनन्दमयी तथा सन्तुष्ट तुल्याउन सदैव लालयित रहन्छ । यस क्रममा एउटा पुस्ताको सुख-सन्तुष्टिको स्रोत अर्को पुस्तासँग मिल्न मुस्किल हुन्छ । प्रचण्डको पिता-पुस्ताको विचारमा घरनजिकै पाँच सात सय मुरी धान फल्ने खेत, एकैपटक दशौं लिटर दूध दिने भैंसी, कौसी भएको तीनतले घर, खोरमा दुई चार सय बाख्रा, दश हल गोरु, पाँच-सातजना घरेलु कामदार, पाँच-सात भाइ छोराजस्ता कुराहरू सुख-सन्तुष्टिको स्रोत कारण बन्न सक्थ्यो । तर, प्रचण्डको पुस्ता त्यसप्रकारको सुखमा विश्वास गर्दैन । प्रतिष्ठासहितको नियमित आयस्रोत, सम्पूर्ण सुविधासहितको बंगला, राम्रो कम्पनीको सुविधाजनक गाडी, उच्च तहमा पहुँच र बेलाबखतमा विदेशको सयर प्रचण्ड-पुस्ताको चाहना हो । नयाँ पुस्ता योभन्दा पनि टाढा पुगिसकेको छ । आफ्ना हरेक चाहनाको तत्काल पूर्ति सबभन्दा पछिल्लो पुस्ताको विशेषता हो । चाहनाको विविधता त मानिसमा हुन्छ नै, पुस्तान्तरणमा देखिएको अर्को एउटा परिवर्तन के हो भने पुरानो पुस्ता भावी पिँढीहरूको सुख-सुविधाका निम्ति व्याकुल रहन्थे, तर पछिल्लो पुस्ता आफैंमा सीमित हुन खोज्दै छ, तेस्रो, चौथो पुस्ताका बारेमा उनीहरू चिन्तामुक्त छन् । यसरी व्यक्तिगत जीवनमा चाहनाहरू बदलिएझैं राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक आदि क्षेत्रमा पनि मानिसका चाहना फेरिन्छन् । मानिसको सोचमा स्थिरता रहन्थ्यो भने नेपालमा अहिलेसम्म राणाशासन चलिरहेको हुनसक्थ्यो र रसियामा जारशाही । नभए जनताको नाममा लेनिनहरूले निकै ठूलो छलकपटद्वारा स्थापना गरिएको कथित जनताको समाजवादी शासन व्यवस्था त अहिलेसम्म चलिरहेकै अवस्था हुनसक्थ्यो । ब्रिटेन र अमेरिकालगायत विश्वका केही मुलुकहरूमा निरन्तर बदलिइरहने मानिसको सोच र प्रवृत्तिलाई सम्बोधन एवम् व्यवस्थापन गर्न सक्ने राजनीतिक प्रणालीको अवलम्बन गरियो । छिमेकी मित्रराष्ट्र भारत तथा अन्य कतिपय विकसित विकासोन्मुख मुलुकहरूले पनि प्रजातान्त्रिक राज्य-प्रणाली अवलम्बन गरेर राजनीतिक स्थिरता प्रदान गरेका छन् । विपक्षी मत र विरोधको आवाजलाई समेत स्वीकार मात्र नभई सम्मानसमेत गर्ने प्रजातान्त्रिक राजनीतिक प्रणाली अवलम्बन गरिएका कारणले त्यस्ता मुलुकहरू राजनीतिक दृष्टिकोणले लामो समयदेखि स्थिर रहन सकेका हुन् । मानिसको परिवर्तित चाहनालाई सम्बोधन नगर्ने कुनै पनि नामका प्रणाली विश्वमा चलेनन्, ऐतिहासिक तथ्यले यसको प्रणाम दिएको छ । तर, हामीकहाँ माओवादीका अगुवा प्रचण्ड मानिसको सोचलाई स्थिर राख्ने राज्य-प्रणालीको परिकल्पना गर्दै छन् । प्रचण्ड यस्तो संविधान र राज्य-प्रणालीको कल्पना गर्दै छन् जो अनन्त कालसम्म यस धर्तीमा पैदा हुनेहरूका लागि उपयुक्त हुनेछ भन्ने ठम्याइ शायद उनको छ । परमेश्वर या प्रकृतिले दिएको हातगोडाले नपुगेर मानिसले आफ्नो सजिलोका निम्ति के-के बनाएका छन् भन्ने उनले बुझनुपर्ने हो । भोलिका मानिसले के-कस्तो अवस्था-व्यवस्था अपनाउँदा उपयुक्त हुनेछ भनेर आजका मानिसलाई सास्ती र पीडा दिनु विवेकसम्मत होइन । अरिस्टोटल, प्लेटो, हिगल, कान्ट, फायरबाख, रुसो आदिले मानिसको सहज र सजिलो जीवनयापनका लागि शताब्दीयौँ अगाडि नै सोचेका हुन्, तर हरेक पिँढी उनीहरूको सोच र मूल्य-मान्यताअनुरूप अगाडि बढ्न उत्साही देखिएनन् । आफ्नै जीवनकालमा तात्कालिक वर्तमानले उपलब्ध गराएको स्रोत, साधन र चेतनास्तरअनुरूपको साधन मानिसले अपनाउने गर्छन् । परमेश्वरले झैं लाखौँ पुस्ताको होइन एउटा विवेकवान मानिसले झैं यही पुस्ताको सजिलोका लागि सोच्ने हो भने देशमा विद्यमान विवाद र तनाव सहजै विघटन हुने विश्वास गर्न सकिन्छ । त्यसो नभई मानिसको चेत र चाहनालाई स्थिर राख्ने ढङ्गबाट सोचिन्छ भने त्यसको परिणाम अझै नकारात्मक हुनसक्छ । द्वन्द्वात्मक भौतिकवादका अनुयायी दाबी गर्नेहरूको योभन्दा ठूलो पाखण्डीपन केही हुन सक्दैन जो मानिसका निम्ति खाने र बस्ने कुराको प्रबन्धलाई ‘डेस्टिनेसन’ बनाउन चाहन्छन् र मानिसलाई त्यत्तिमै सीमित तुल्याउने प्रयासमा रहेका छन् । बास बस्नु र खानु मानिसको न्यूनतम आवश्यकता हो, कम्युनिस्टहरू मानिसको त्यति चाहना पूरा गर्नुलाई महान् र अन्तिम गन्तव्य ठान्दछन् । त्यसपछिका मानवीय अकाङ्क्षाहरूप्रति कम्युनिस्टहरू बेखबर, अनभिज्ञ र संवेदनहीन छन् । प्रचण्डले नेपाली जनतालाई त्यस्तै के-के सपना देखाए र हिंसाको आडमा आफ्नो आकाङ्क्षा परिपूर्तिको जग बलियो बनाउँदै लगे । प्रचण्ड र उनको विचारवाहक पार्टी दह्रिलो हुँदै जाँदा देश, प्रजातन्त्र, राष्ट्रिय एकता र शान्ति सुरक्षाको जगचाहिँ भूकम्प पर्खनै नपर्ने गरी खलबलिएको छ । प्रचण्डको अगुवाइमा हाम्रो सामाजिक सद्भाव ध्वस्त पारिएको छ, आदर, अनुशासन र ठूला मानिसहरूप्रतिको सम्मानभाव समाप्त तुल्याइएको छ । क्रिश्चियन धर्मको रक्षा र विकास तथा विस्तारका लागि सनातनी हिन्दू राष्ट्रको पहिचान मेटेर धर्मनिरपेक्ष मुलुक बनाइएको छ । पुनः मिलनको सम्भावनासमेत मेटिने गरी राष्ट्रिय एकता खलबल्याइएको छ । जातीय सद्भावका सम्पूर्ण हाँगाबिँगा गिँडिएका छन् र फेरि सद्भाव बहाल हुन नसक्ने गरी जातीय अहंकार हर्ुकाइएको छ । सार्वभौमसत्ता विखण्डित र कमजोर हुने गरी प्रहार गरिएको छ । मानिसले मानिसको हत्या गर्नु ‘ब्ल्याक लेबलका बोतलको सिल खोल्नुसरह’ सहज र स्वाभाविक तुल्याउन खोजिएको छ । यी सबै हिंसात्मक र ध्वंशात्मक दिमागका उपज हुन् । कम्तीमा प्रधानमन्त्री भइसकेपछि चाहिँ प्रचण्ड सुध्रिएलान्, उनको बेढङ्गी विचार, उत्तेजित तथा आवेगपूर्ण अभिव्यक्ति र अराजक व्यवहारमा परितर्वन आई रात बदलिएर दिन भएझैं एउटा सकारात्मक व्यक्तित्व बन्ने हुन् कि भन्ने अपेक्षा नेपाली जनताले गरेका थिए । नकारात्मकबाट सकारात्मकतातर्फको यात्रा सुरु गरेका भए प्रचण्डको उचाइ बढ्ने मात्र होइन देशले शान्ति, स्थिरता र विकासको जग बसेको महसुस पनि गर्न सक्दथ्यो । तर, प्रचण्ड कुनै पनि हालतमा आफू नबदलिन दृढ देखिए । यही दृढताका कारण उनले शिक्षालयलाई ब्यारेक बनाइनुपर्ने र विद्यार्थीजति लडाकु बन्नुपर्ने घोषणा गरे, अहिले आफैं सत्तामा पुगेपछि विशाल सङ्घर्ष सुरु गर्ने उद्घोष गर्दै छन् । सङ्घर्ष कसका विरुद्ध ? आफैंले निर्माण गरेको आफ्नै सरकारविरुद्ध, विपक्षी दलहरूका विरुद्ध या जनताका विरुद्ध ? आफैं धामी आफैं बोक्सीको भूमिकालाई नेपाली समाजले सम्मान गर्दैन र स्वीकार गर्न पनि सक्दैन । तर, प्रचण्ड दन्त्यकथाको राक्षसझैं सबै समस्याको समाधान आफैं भएको मन्यता स्थापित गर्न आफैं बग्रेल्ती समस्या पैदा गर्दै छन् । गणतन्त्र घोषणापश्चात् ‘महान् विजय’ भएको घोषणा गर्दै सबै दलहरूसँग सद्भावपूर्ण सम्बन्ध स्थापित गर्ने तथा प्रजातान्त्रिक राज्य-प्रणालीका पक्षमा आफूलाई उभ्याउन खोजेको या सकेको भए सत्ता प्रचण्डको पोल्टामा बारम्बार आइरहने परिस्थिति सिर्जना हुन असम्भव थिएन । प्रचण्ड बदलिन चाहेनन्, तर्साएर-धम्क्याएर-छक्याएर-कुटेर-काटेर इच्छा पूरा गर्ने बानी बसालेका उनले सकारात्मक र सिर्जनशील हुनुलाई सायद कमजोर र लुलो हुनु हो भन्ने अर्थमा बुझे । सधैं तर्साएर मात्र काम चल्दैन भन्ने सत्य बुझन उनले चाहेनन् । प्रचण्ड बदलिन नचाहनुको सास्ती आज सिङ्गै मुलुकले व्यहोर्दै छ ।
हुन त विध्वंश र हिंसात्मक क्रान्तिको अगुवाइ गर्नेहरूले देश निर्माण गरेको दृष्टान्त विश्व इतिहासमा कतै भेटिँदैन । माओ पनि विध्वंशैविध्वंशका बीच सिद्धिएका हुन्, लेनिन र स्टालिन पनि त्यसरी नै विध्वंशभन्दा टाढा पुग्न सकेनन्, सत्ता प्राप्तिको ६ दशक बितिसक्दा पनि फिडेल क्यास्त्रोले विध्वंशका कुरा गर्न छाडेका छैनन् । प्रचण्डले पनि यसैगरी सधैं सङ्घर्ष, विध्वंश र क्रान्तिकै मात्र कुरा गर्ने हुन् भने उनी नेपाली समाजमा क्रमशः असान्दर्भिक बन्दै जाने कुरामा शङ्का नगर्दा हुन्छ । प्रचण्डले हिजो मागेका सबै माग पूरा भइसकेका छन्, संविधानसभा र गणतन्त्र उनकै माग थियो । तर, हरेक बिहान नयाँनयाँ माग तेर्स्याउँदै जाने हो भने नेपाली जनताले नै कुन दिन प्रचण्डलाई पूर्ण अस्वीकार र तिरष्कारको घोषणा गर्ने हुन् लामो प्रतीक्षा गर्नु नपर्ने हुनसक्छ । सिर्जनशील एवम् सकारात्मक भूमिकामा प्रचण्ड दिगो ढङ्गले प्रस्तुत हुने हो भने मुलुकले शान्ति र संविधान तत्काल प्राप्त गर्ने मात्र होइन समृद्धिको शिखरारोहण पनि लामो प्रतीक्षाको विषय नबन्न सक्छ । हरेक लोकतन्त्रप्रेमी, सचेत, देशभक्त नेपाली प्रचण्डलाई सकारात्मक र सिर्जनशील भूमिकामा देख्न चाहन्छन्, बदलिँदैनन् प्रचण्ड भने जनता परिस्थिति बदल्न तत्पर हुँदै छन्, समयमै चेतना भया ।