पाठक प्रतिक्रिया

पाठक प्रतिक्रिया


pathakmanchभ्रष्ट रेन्जरद्वारा आक्रमणको योजना !
काठेकीराको शक्तिसामु वनरक्षक नै लाचार शीर्षकमा अर्घाखाँचीको देवीदेउराली सामुदायिक वनभित्र भएको ब्रह्मलुटलाई घटना र विचारले उजागर गरेपछि सो समाचार सम्प्रेषण गर्ने समाचारदातामाथि वनमा अनियमितता गरी रकम कुम्ल्याउनेहरूमा कति आक्रोश बढेको रहेछ भन्ने कुरा खुलासा भएको छ ।
स्थानीयवासीका नाताले यस विषयमाथि हाम्रो पनि विशेष चासो रहँदै आएको छ । यसै सिलसिलामा बुझिएअनुसार समाचार प्रकाशन भएलगत्तै जिल्ला वन कार्यालय सन्धिखर्कले देवीदेउराली सामुदायिक वनभित्र भएको अनियमितता छानबिनका लागि प्रक्रिया अगाडि बढाएको छ । कार्यालयका लेखापाल शोभाखर पाण्डे उक्त समुदायमा पुगी अनियमितता भएकै महसुस गरी आफूले तयार पारेको रिपोर्टमाथि जाँचबुझ गरी कारबाही प्रक्रिया अगाडि बढाउनका लागि त्यसै क्षेत्रका रेन्जर नगेन्द्रप्रसाद सिंहलाई फाइल बुझाउनेसम्मको सकारात्मक भूमिका निर्वाह गरेका छन् । तर, यस विषयमा अझै पनि रेन्जर सिंह संवेदनशील नबनेको बुझिन्छ ।
समाचारमा लेखिएजस्तै अर्घाखाँची वनमा काम गर्ने अधिकांश कर्मचारी इमानदार छैनन् भन्ने कुरा केही दिनअघि देवीदेउराली सामुदायिक वनको गोप्य भेलामा रेन्जर नगेन्द्रप्रसाद सिंहले प्रमाणित गरेका छन् । उनले कर्मचारीहरूसँग ‘तपाईंहरूलाई दु:ख दिने समाचारदातालाई बहाना बनाएर भए पनि कारबाही किन नगर्ने ? भनी उक्साएका थिए । रेन्जर सिंहले प्रश्न राख्न नभ्याउँदै उनको साथमा रहेका सहायक अधिकृत कमलराज काफ्लेले रेन्जर सिंहको दुस्साहसप्रति अपसोच प्रकट गर्दै मुलुकको चौथो अङ्गको सम्मान गर्नुपर्ने तर्क राखेका थिए ।
यसरी सर्वसाधारणको हितलाई कुल्चँदै गाउँका केही व्यक्तिको आड लिएर गोजी गरम गर्ने दुस्साहसमा लागेका रेन्जर सिंहले स्थानीयवासीलाई उक्साएर पत्रकारमाथि आक्रमण गर्ने योजना बनाउनुको मूल्य चर्को पर्न सक्छ भन्ने उनलाई हेक्का छ कि छैन ? उक्त समुदायको आम्दानीबाट स्थानीय सर्वसाधारण लाभान्वित बनेका छैनन् भनी समाचारमा उल्लेख भएको कुरा सोह्रैआना सत्य हो । विद्यालय बनाउँदा अठार–बीस लाख लागेको हो भनी फर्जी फाइल बनाउने दुष्प्रयासतर्फ जिल्ला वन कार्यालय सन्धिखर्क सचेत बन्नु आवश्यक छ । किनकि, ०६२ र ०६३ मा उक्त विद्यालय बनाइएको भए पनि त्यस वर्षको वनको आम्दानी २७ लाख ३० हजार पाँच सय ९५ रुपैयाँ र सोही वर्षको खर्च १२ लाख ७२ हजार तीन सय ५० रुपैयाँ भएको कारण यसलाई ढाकछोप गर्न खोज्नु उनीहरूको मूर्खता मानिने छ । देवीदेउराली सामुदायिक वनमा लाखौँ रुपैयाँको हिसाबकिताब पारदर्शी नभएको हुँदा रेन्जर सिंहजस्ता खतरनाक कर्मचारीबारे छानबिन गरी इमानदारहरूलाई प्रोत्साहित गर्ने कार्यमा जिल्ला वन कार्यालयका प्रमुख पञ्चलाल साहको ध्यान जानु आवश्यक छ ।
– जनार्दन र आशिष घिमिरे, अर्घाखाँची