गाईजात्रा विशेष

गाईजात्रा विशेष


indreniजात्रैजात्रा !– रत्ननिधि रेग्मी ‘शुक्राचार्य’

जात्रै–जात्रा सबतिर हँुदा गाईजात्रा हरायो
त्यो जात्राले स्तुतिमय कुरा लेख्नुपर्ने गरायो
नेता, मन्त्री, दलजति सबै भाग्यका छन् विधाता
जसका छायामुनि गइबसे बन्छ रे ! विश्वज्ञाता ।

नेता हाम्रा असल गुणले शोभिएका चटक्क
कुर्सी हेरी पद यदि मिले बस्दछन् क्या थपक्क
गर्छन् मीठा फलसरि कुरा विश्व हाँक्ने विशाल
सानो मात्रै त्रुटि हुन गए बाल्न सक्छन् मसाल ।

सेवा गर्छन् हरदिन खटी माफिया– खुफियाको
पाए खान्छन् छल–कपटले नोट औ रुपैयाँको
बस्छन् ज्यादा ‘मिटिङ’तिर ती धाइ–धाई ‘रिसोर्ट’
वार्ता गर्छन् तर पनि कुनै ल्याउँदैनन् निचोड ।

बोली फेर्छन् प्रतिकूल परे ‘पार्टी’ सिद्धान्त फोर्छन्
मौका पर्दा मुलुक–जनता मस्त नौनी निचोर्छन्
फाटो पार्छन् सुख र सुविधा भाग लागि नपुग्दा
मिल्छन् कैहिले कलह जति होस् स्वार्थले पूर्ण बन्दा ।

पालो गर्दै दलजति यहाँ मन्त्री, सर्खार फेर्छन्
आफ्नै ‘पार्टी’उपर कहिले फ्याट्ट विद्रोह गर्छन्
मन्त्री भन्नु अपठित तथा स्वाँठ छन् मूर्खजस्ता
साह्रै तल्लो तहतिर झरे आलुभैंm खुब सस्ता ।

वर्षेनी त्यो असहज अवस्थामा सर्खार बन्छ
नाता–गोता, कति त फरियाको त्यो हुङ्कार बढ्छ
जम्बो मन्त्रिपरिषद् कुनै ख्याउटे होस् तथापि
चुक्दैनन् ती रकम गतिलो खानलाई कदापि ।

ल्याप्चेधारी कतिपय बने लासजस्ता सभासद्
रातो ‘पासपोर्ट’ अनुचित भई बेचिएथे भकाभक
कोही सुत्थे सडक बीचमा जाँडले मात्तिएर
कोही गुण्डा बनीकन हिँडे बैंसले पात्तिएर ।

सत्ता, भत्ता कतिपय कुरा चाहिए एक हुन्छन्
आँखा चिम्ली अरू समयमा मौन भै मस्त सुत्छन्
अन्धा हुन् वा सटिक बहिरा, थेत्तरा हुन् हरामी ?
बुझ्नै गाह्रो अझ पनि भयो क्यान पर्छन् बिरामी ?

फस्टाएको यिनकन सधैं कस्तरी लोकतन्त्र !
लुट्दै खाने दल–विदलको मात्र भो मूलमन्त्र
जात्राजस्तै बनीकन तुह्यो देशको संविधान
कहिले बन्ला गरिब–गुरुवा–निम्सराको विधान ?

कस्तो हाम्रो गति–मति भयो, देश यो व्यङ्ग्यजस्तो
हाँसै–हाँसो सबतिर छ रे ! छैन काहीँ गुनासो ?
लेखौँ के यो अब कलमले देशको गाईजात्रा ?
जात्रा लेखेपछि हुन गयो लेखनी यो नियात्रा !

०००

कवितामार्फत दबाब !
हरेक महिनाको अन्तिम बिहीबार मानव अधिकार तथा शान्ति समाजले गर्दै आएको काव्ययात्रा गाईजात्राको अवसर पारेर गत साउन ३१ गते समाजको सभाकक्षमा सम्पन्न ग-यो । समाजका अध्यक्ष होमकान्त चौंलागाईको सभापतित्वमा सम्पन्न उक्त १८औँ काव्य यात्रामा गोविन्द घिमिरे ‘वेदमणि’, ज्ञानुवाकर पौडेल, रामबहादुर पहाडी, ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’, मेनका पोखरेल, प्रकाशमणि दाहाल, डिल्लीप्रसाद दाहाल, राजेन्द्रप्रसाद ढुङ्गाना, भाग्यशाली अधिकारी, श्यामबहादुर भावुक, बलराम अर्याल, राजुराज स्वयं, कृष्ण कँडेल, गङ्गाप्रसाद अधिकारी, केशवराज निश्चल, ब्रह्मप्रिय प्रेमस्वरूप, चन्द्रश्री कार्की, भुवन थापा, भक्तराज नेउपाने, बालकृष्ण अधिकारी, कृष्णप्रसाद सत्याल, रत्नलक्ष्मी श्रेष्ठ तथा भवविन्द गरी दुई दर्जन स्रष्टाले गीत, कविता, गजल तथा समसामयिक रचना तथा व्यङ्ग्य कविता वाचन गरे । कार्यक्रममा समाजका पदाधिकारीले शान्ति र सिर्जनालाई सँगसँगै लिएर अघि बढ्ने प्रण गर्दै विगतमा संसद्मा धर्ना र सडक आन्दोलन गरे तापनि सभासद्हरूले जनताको संविधान नबनाएपछि साहित्यका माध्यमबाट पनि दबाब सिर्जना गर्ने समाजको नीतिअनुरूप कविगोष्ठी गर्ने गरेको जानकारी दिए ।

०००

पुस्तक समीक्षा

समाज ब्युँझाउने सार्थक प्रयास : शान्ता
सीबी आचार्य
साहित्य मानवमनको उत्कृष्ट सिर्जना हो । यसले मानवजीवनका सबल र दुरुह पक्षलाई जस्ताको तस्तै पाठकसमक्ष प्रस्तुत मात्र गर्दैन, साहित्यकारले पात्रको सिर्जना गरी तिनीहरूको माध्यमबाट समाज र यसका सदस्यलाई नयाँ विचार, चेतना र सन्देश दिन्छ । त्यसैले त जीवन्त पात्रहरू कहिल्यै मर्दैनन्, बरु सन्तान दर सन्तान थप स्थापित हुँदै थप सशक्त बन्दै जान्छन् । साहित्य समाजको सौन्दर्यशास्त्र, मूल्य र मान्यतासँग जोडिएको हुन्छ । मानवीय सम्बन्ध तिनको मूल्य, समाजमा तिनको बदलिँदो महङव, आकाङ्क्षा, अहंकार, स्वार्थ विजय–पराजय, प्राप्ति, निर्धनता, महानता, सम्पन्नता, पदीय हैसियत, राजनीतिक शक्ति सबै साहित्यको दायराभित्र पर्न सक्छन् । परेका छन् र एउटा सभ्य, समृद्ध समाजको कल्पना र समकालीन समाजका विकृतिको विरोध साहित्यको धर्म हो ।
उपन्यासकार पुरुषोत्तम दाहालको उपन्यास ‘शान्ता’ सामाजिक यथार्थवादमा आधारित समसामयिक समाजमा देखापरेका प्रवृत्तिहरूमाथिको तीखो व्यङ्ग्यको रूपमा आएको छ । नारी संवेदना, परमार्थ अङ्ग दान, मानव शरीरको अङ्ग प्रत्यारोपण यसले उठान गरेको विषय हो । शान्ता उपन्यासकी मूल पात्रा हुन् । उपन्यासको मूल कथा यसप्रकार छ– शान्ताका मामा डाक्टरप्रसाद जो पेसाले एक वरिष्ठ चिकित्सक र प्राध्यापक हुन्, लाई कलेजोको क्यान्सर भएको छ । उनी जीवनको अन्तिम अवस्थामा पुगेका छन् । डाक्टरको रायमा उनी अब थप दुई महिना मात्र बाच्न समर्थन छन् । तर, कसैले उनलाई कलेजो दान दिएमा वा कलेजोको सफल प्रत्यारोपण हुन सकेमा उनी जीवित रहन सक्छन्, तर उनलाई कलेजो कसले दान दिने ? सुरुमा डाक्टरप्रसादका थुपै्र आफन्त उनको सहयोगका लागि तयार रहेझैं गर्छन्, तर अन्तिम अवस्थासम्म आइपुग्दा तिनीहरू एकएक गर्दै पन्छिन थाल्छन् । विज्ञान र आविष्कारले आज धेरै असम्भव प्राय: कुरालाई सम्भव बनाएको छ । अङ्ग प्रत्यारोपण पनि त्यसैको योगदान हो । शान्त आफ्ना मामालाई कलेजो दिन तयार हुन्छिन् । उपन्यासको मूल कथावस्तु शान्ताको त्यही भीष्म प्रतिज्ञाको सेरोफेरोमा अडिएको छ । कथा काठमाडौंमा सुरु हुन्छ, दिल्लीको गुडगावस्थित अत्याधुनिक ‘मेदान्त अस्पताल’मा कथाको अधिकतम भाग सकिन्छ । डाक्टरप्रसादको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भइसकेपछि त्यसको फलोअपसमेत सिध्याएर जब डाक्टरप्रसाद काठमाडौं आउँछन् त्यसको एक वर्षको अवधिको वर्णन गरेर कथा सिद्धिन्छ ।
शान्ता एक मध्यमवर्गीय गृहिणी हुन् । आफ्नो परम्परागत पारिवारिक भूमिका निर्वाह गर्ने एक आममहिला जो उत्तमदाकी पत्नी हुन् । उत्तमदा एकजना पत्रकार हुन् र कलेजमा प्राध्यापन गर्छन् । आफ्ना मामा डाक्टरप्रसादलाई कलेजो दान दिने शान्ताको निर्णयप्रति उत्तमदाको न त पूर्ण समर्थन छ न त सस्वर विरोध नै । पत्नीको त्यस्तो महान् कर्मलाई सफल बनाउनुलाई नै उनी दृढ छन् । एउटा जीवित मान्छेको शरीरबाट अङ्ग निकालेर अर्को मान्छेको शरीरमा फिट गर्ने काम निकै जटिल प्रक्रिया हो । त्यसका लागि विभिन्न चरणका विभिन्न प्रयोग आवश्यक हुन्छन् । पचास वर्ष नाघेका व्यक्ति कलेजो र मिर्गाैलाजस्ता अङ्ग दान गर्न सक्दैनन् भने गु्रप नमिल्ने व्यक्तिले पनि अङ्ग दान गर्न सक्दैनन् । मानव अङ्ग प्रत्यारोपण हुँदा आर्थिक चलखेल हुन सक्ने र मानवशरीरका अङ्ग किनबेच हुन नदिने जटिल कानुनी प्रक्रियाले प्रत्यारोपणलाई थप संवेदनशील बनाएको छ । मानव अङ्ग प्रत्यारोपणका लागि अत्याधुनिक र उच्च विकसित प्रविधिको आवश्यकता पर्दछ, त्यसका लागि उत्तिकै दक्ष जनशक्तिको खाँचो पनि छ । तर, हाम्रो देशमा आधुनिक उच्च प्रविधियुक्त अस्पतालको कमी रहेको र देशका हुनेखाने र पहुँचवालाहरू यसो सामान्य रुघाखोकी लागे पनि औषधोपचारका लागि बैंकक, टोकियो र भारत जाने कुरा त नेपालमा परम्परा नै बनिसकेकोप्रति पनि उपन्यास संवेदनशील छ । यसरी उपचारका क्रममा वर्षेनी करोडौँ–अर्बौं रुपैयाँ विदेशिँदा राष्ट्रलाई ठूलो घाटा लागेको छ । देश विकासका लागि सुदृढ योजना र गम्भीर चिन्तनको आवश्यकता पर्दछ । तर, यो देशका शासक–प्रशासकहरूमा त्यस्तो दूरदृष्टि आजसम्म कहिल्यै देखापरेन ।
जीविकोपार्जनका लागि देश छाडेर मुग्लान भासिन बाध्य हुनु आज आमनेपालीको बाध्यता बनेको छ । देशमा रोजगारीको अवसर एकदम कम छ र जति छ त्यसमा नातावाद, कृपावाद, चाकडी र फरियावादले गर्दा योग्य र क्षमता भएकाहरू पछाडि परेका छन् भने भ्रष्ट, चाकडीवाज र अवसरवादीहरू हावी हुँदै छन् । विवादास्पद छवि भएका, भ्रष्टाचारको कलङ्क लागेका र जनआन्दोलन दबाउन सक्रिय पुरस्कृत हुँदै छन् भने जनआन्दोलन र लोकतान्त्रिक आन्दोलनका घाइते, शहीद र सेनानीका परिवारहरू उपेक्षित हुँदै छन् । देशमा सातुसामल जुटाउन नसक्नेहरू विदेशिन बाध्य छन् । यसरी विदेशिन बाध्यहरू प्राय: भारतका विभिन्न ठाउँमा कुल्ली वा दरबान बनिरहेछन् भने होटलमा भाँडावर्तन माझिरहेछन् । तर, उनीहरू जहाँ–जहाँ भए पनि उनीहरूको देशप्रतिको चासो, चिन्ता र माया घटेको छैन बरु अस्थिर राजनीतिले देशलाई बर्बाद पारिरहँदा उनीहरूको चिन्ताको मात्रा झन् बढेको छ । हो, उनीहरू देशको समस्या समाधान गर्न सक्दैनन् न त कुनै निर्णायक भूमिका निर्वाह गर्न सक्छन् । तर, देश उनीहरूको चेतनाको पोखरीमा पौडी खेल्छ, नसानसामा दौडन्छ । साँच्ची हामीले कहिले सम्मानित जिन्दगी जिउन पाउने । गुर्खा, दरबान, कुल्ली र मसाल्चीको उपेक्षित जिन्दगीबाट हामी कहिले मुक्त हुने ?
जीवन स्वयम् एउटा आस्था हो । यो आस्था कहिले पेसाको रूपमा अभिव्यक्त हुन्छ भने कहिले संस्कारको रूपमा । कहिले दायित्व बनेर सम्पन्न हुन्छ । थुपै्र मानिस जीवनको त्यही एउटा अभीष्ट अर्थात् जीजिविषा पूरा गर्नका लागि पल प्रतिपल हरेक सासमा मरेका छन् । जिन्दगीका हरेक पाइलामा मरेका छन् । मानिसलाई थाहा छ– मृत्यु शाश्वत छ, सार्वभौम छ तर ऊ मृत्युलाई अंगाल्न सक्दैन । ऊ मृत्युबाट टाढा भाग्न चाहन्छ, सकेसम्म आफूबाट पर धकेल्न चाहन्छ । डाक्टरप्रसाद एउटा यस्तै पात्र हुन् । उनी एक सफल डाक्टर हुन्, प्रभावकारी प्राध्यापक हुन् । थुपै्र मानिसलाई उनले गुन लगाएका छन्, थुपै्र मानिसलाई उनले रोजगारी दिलाएका छन् । उनले गुन लगाएका, माया गरेका कोही पनि मानिस उनलाई दु:ख पर्दा सहयोग गर्न अग्रसर भएनन् । बरु विभिन्न वहाना देखाउँदै उनीहरू पन्छिदै गए । मानिसको स्वार्थी प्रवृत्तिलाई उपन्यासमा मिहिन तरिकाले देखाइएको छ । तर, शान्ता, उनी त डाक्टरप्रसादबाट अवाञ्छित लाभ लिने स्वार्थी समूहभित्र छैनन् । तर उनले अङ्गदानजस्तो महान् र चुनौतीपूर्ण कार्यलाई जुन हिम्मतका साथ स्वीकार गरिन् त्यस प्रक्रियामा उनको ज्यानैसम्म जान सक्थ्यो । यसर्थ उनले मृत्युको शाश्वत सत्यलाई स्वीकार गरिन् । यही नै उनको महानता हो । डाक्टरप्रसाद बाँच्न विवश छन् तर शान्ता मर्न गौरवान्वित छिन् । त्यसैले डाक्टरप्रसाद बाँचेर पनि त मरेका छन् । एउटा अनुगृहित, दयापात्र जीवन ।
शान्ता समकालीन नेपाली समाजकी एउटा दुरुह पात्र हुन् । पुरुष हैकमले सिर्जना गरेको कर्मकाण्डीय पुरातन गृहस्थ भूमिका आज नेपाली महिलाको प्रज्वल यथार्थ हो । बाँचेर पनि जीवनको सार्थक्य नभेटाउनु, आश्रित भएर बाँच्न अभ्यस्त हुनु र पराधीन जीवन नेपाली नारी मात्रको दुरावस्थाको कटु यथार्थ हो । तर, शान्ताले समाजले सिर्जना गरेको यस दुरुह दुश्चक्रलाई सतत चिर्न सकेकी छिन् । अङ्गदान शान्ताको निर्णय हो, कुनै आवेग वा लोभलालचबाट निष्पृह उनको निर्णयको सम्पूर्ण भागीदार स्वयम् उनी आफैँ हुन् । उनलाई थाहा छ, अङ्गदान भूदान वा श्रमदानजस्तो सजिलो छैन, कथम्कदाचित उनको जीवन बाँचिहाले पनि उनी दीर्घरोगी बन्छिन्, एउटा मध्यमवर्गीय गृहिणीकोझैं उनको चुनौती। सकस, सङ्घर्ष र भूमिका कम छैनन् र ती पूरा गर्न उनलाई स्वस्थ रहनु नितान्त आवश्यक छ, अङ्गदानले उनको सङ्घर्षपूर्ण जीवनमा थप समस्या पैदा हुने कुरा पनि उनलाई थाहा छ । तर, समाजका लागि आवश्यक विद्वत् वरिष्ठ चिकित्सक एवम् प्राध्यापक आफ्नो साख्खै मामालाई जीवनदान दिनुलाई उनले सबैभन्दा महान् ठानेकी छिन् । जीवनप्रतिको उनको यही अनवरत आस्था सलामयोग्य छ । शान्ताले आफ्नो अस्तित्व कायम गरेकी छिन्, उत्तमदाले त केवल उनको साहस र बलिदानी भावनालाई सम्मान मात्र गरेको छ । यो कृति समग्रमा पठनीय कृति बन्न पुगेको छ ।
शैलीगत दृष्टिले उपन्यासमा केही कमी–कमजोरी पनि रहेका छन् । पात्रहरूको अधिकाधिक उपस्थितिले पाठकलाई कतै अलमल्याउने त कतै कथानक नै दुर्वोध्य बनाउने काम गरेको छ । खासगरी पात्रहरू यति छिटो आउँछन् जान्छन् कि ती पात्रले पाठकमा प्रभाव छाड्न सकेका छैनन् । बिना कुनै भूमिका पात्रलाई उपस्थित गराइँदा कतिपय ठाउँमा तिनको कथानक नै गुमेको छ । उपन्यासमा कतिपय सन्दर्भ पुनरावृत्त भएका छन् र तिनले पाठकलाई थप टाउको दुखाउन पर्याप्त छन् । उपन्यास पढ्दै जाँदा औपन्यासिक कम र दैनिकी बढीजस्तो लाग्छ ।
उपन्यासको मूल पात्र शान्ता हुन्, तर उपन्यासकारले शान्तालाई भन्दा बढी उत्तमदालाई भूमिका दिएका छन् । उत्तमदाको भूमिका बढी आदर्शपूर्ण, अलौकिक सर्वज्ञाता देखाइएको छ । यस्तो लाग्छ– उत्तमदाले जुनसुकै काम पनि फत्ते गर्न सक्छ, शान्ताले गरेको महान् त्यागका अगाडि सत्तमदाले गरेका सबै काम झिनामसिना नै हुन् । तर, उपन्यासको अधिकांश भाग त्यस्तै प्रसङ्गले भरिएको हुँदा बोझिलोजस्तो लाग्छ । तर, औपन्यासिक सिर्जनाको पहिलो कृतिका लागि उपन्यासकारलाई साधुवाद दिनैपर्छ । आमनेपाली पाठकका लागि, महिलाअधिकार आन्दोलनमा समावेश भएका महिलाका लागि अनि अङ्ग प्रत्यारोपण त्यसमा पनि खासगरी कलेजो प्रत्यारोपण कार्यका लागि तत्पर व्यक्तिका लागि उपन्यास विशेष सङ्ग्रहणीय छ ।