खेलकुदलाई आर्थिक समृद्धिसँग जोड्न सुझाव

खेलकुदलाई आर्थिक समृद्धिसँग जोड्न सुझाव


खेलकुदलाई मनोरञ्जनको साधन मात्र नबनाई आर्थिक समृद्धि र सामर्थ्यको पाटोमा समेत जोड्नुपर्ने युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको ४०औं स्मृति दिवशका अवसरमा पोखरामा आयोजित प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता उदघाटन गर्दै मन्त्री विश्वकर्माले वर्तमान समयमा खेलकुदमा धेरै समस्या र चुनौती देखिए पनि खेलकुदको माध्यमबाट पर्यटनलाई जोड्दै आर्थिक समृद्धितर्फ अघि बढाउन सकिने सम्भावना रहेको बताए ।

खेलकुद राष्ट्रिय गौरव बढाउने एक सशक्त माध्यम रहेको बताउँदै मन्त्री विश्वकर्माले खेलकुद अयोजनाका गर्नका लागि मात्र नभई राष्ट्रिय पहिचानका लागि पनि खेलकुद अपरिहार्य रहेको औंल्याए ।

खेलकुदको क्षेत्रमा पोखरामा अथाह सम्भावना रहेको कुरालाई उल्लेख गर्दै पकृतिको बरदान स्वरुप प्राप्त पोखरा र प्रदेश ४ मा साहसिक र हाइ अल्टिच्युड खेलकुदका माध्यमद्वारा पर्यटन प्रवद्र्धन गर्दै देशकै आर्थिक समृद्धिसंग जोड्न सकिने र यहाँको खेल विकासका लागि ठोस संकल्पका साथ आफु अगाडि बढिरहेको समेत चर्चा गरे ।

यतिबेला नेपालका लागि १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतिष्ठाको विषय रहेको उल्लेख गर्दै पोखरामा आयोजना हुने केही खेलहरुलाई सम्पूर्ण पोखरेलीहरुले एकजुट भएर सहयोग गर्न आग्रह गरे ।

सो अबसरमा नेपाल उद्योग बणिज्य महासंघका उपाध्यक्ष उमेशराज श्रेष्ठले राजनीतिक रूपमा खेलकुदका विषयमा कुनै राजनीतिक दलले चासो नदिएको धारणा राख्दै खेलकुदको विकासका लागि खेलकुद विश्वविद्यालयको अपरिहर्याता रहेको कुरामा जोड दिए । उपाध्यक्ष श्रेष्ठले खेलकुदमा निजी संस्थाहरूको सहभागिता हुनुपर्ने कुरा औंल्याउँदै खेलकुद राजनीतिबाट मुक्त राख्नु पर्ने बताए ।

तीन दिनसम्म चल्ने प्रदेशस्तरीय व्याडमिन्टन डबल्स प्रतियोगितामा ९४ टिममा १ सय ८६ जना खेलाडीहरुको सहभागिता रहेको आयोजक राष्ट्रिय बाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले जानकारी दिएका छन । प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले नगद २०, १५ र १० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै, १३औं दक्षिण एशियाली खेलकुद (साग) का लागि पोखरा रंगशालामा निर्माणाधीन पूर्वाधारका विषयमा मन्त्री विश्वकर्माले जानकारी लिएका छन् । उनले पोखरामा आयोजना हुने ह्याण्डबल, फुटबल, आर्चरी, ट्रायथोलन, भलिबल लगाएतका पूर्वाधार निर्माणका बारेमा चासो राखेका थिए । सो अवसरमा क्रिकेट व्याडमिन्टन, बास्केटबल लगाएतका पूर्वाधार निर्माणका बारेमा जानकारी समेत लिए । उनले पोखरा रंगशालामा खेलकुदका संघ संस्थाका प्रतिनिधिहरुसंग भेटी उनीहरुका समस्याका बारेमा समेत जानकारी लिएका थिए ।