राष्ट्रिय खेलकूद परिषदका सदस्यसचिव केशवकुमार विष्टले खेलकूद संघको नाउँमा विदेश जाने उद्देश्यले खोलेका, सम्पर्क कार्यालय नभएका र काम नगर्ने झोले खेलकूद संघलाई क्रमशः खारेज गरिँदै जान लगिएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने बताएका छन् ।
सम्बन्धित खेलको विकास गर्दै खेलाडी उत्पादन गर्ने उद्देश्य राखी सञ्चालन गर्नुपर्ने खेलकूद संघ नाममात्रैको संस्था खोलेर काम नगरेकै कारण आफू सदस्य सचिव भएर आएको तीन वर्षको अवधिमा २५ वटा त्यस्ता संस्था खारेज गरिसकेको पनि सदस्य सचिव विष्टले बताए ।
टग अफ वार एशोसियसन (तान डोरी संघ) काठमाडौंको आयोजनामा विभिन्न विद्यालयका प्रिन्सिपलहरूको लागि राजधानीको मध्यबानेश्वरमा आयोजित एकदिने ‘खेलकूद विज्ञान तथा प्राविधिक गोष्ठी’ को उद्घाटनका अवसरमा सदस्यसचिव विष्टले सो कुरा बताएका हुन् ।
हालसम्म अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा पुरुषको तुलनामा महिला खेलाडीले बढी पदक जितेको उल्लेख गर्दै सदस्य सचिव विष्टले पुरुषको साथै महिला खेलाडी उत्पादन गर्ने र नियमित रुपमा प्रतियोगिता आयोजना गर्ने कार्यमा संघ सकृय भएमा परिषदले आर्थिक अनुदानदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिममा प्रशिक्षक सहभागी गराउन परिषदले कुनै कसर बाँकी नराख्ने पनि उनले बताए ।
सरकारले बिरामीको उपचारका लागि अस्पताल खोल्नुभन्दा रंगशाला बनाएर स्वस्थ र निरोगी खेलाडी उत्पादन गर्नुपर्ने पनि विष्टले औंल्याए । सदस्य सचिव विष्टले गोष्ठीका सहभागी करिव ४ दर्जन प्रिन्सिपल तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र पनि वितरण गरेका थिए ।
एशियाली टग अफ वार एशोसियसनका उपाध्यक्ष भवानीप्रसाद पौडेलले खेलकोे विकासको लागि समयसमयमा विभिन्न प्रतियोगिता आयोजना गरि खेलाडी उत्पादन गर्दै खेललाई जीवन्त राख्नुपर्ने कुरामा जोड दिए । सो अवसरमा एशियाली टग अफ वार एशोसियसनका कोषाध्यक्ष तथा टग अफ वारका विज्ञ केशवराज गौतमले टग अफ वारका विभिन्न विधा र नियमबारे प्रशिक्षण दिएका थिए ।
टग अफ वार एशोसियसन नेपालका केन्द्रीय अध्यक्ष सुर्य भटटराईका अनुसार हाल २० वटा जिल्लामा संघको पुनर्गठन भइसकेको र बाँकी जिल्लाहरूमा पुनर्गठनको कार्य भइरहेको छ ।
प्रतिक्रिया