यही साउन १७ गते नेसनल कलेजको आयोजनामा दोस्रो ई–प्लानेट अन्तरकलेज फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । बालुवाटारस्थित ढुकु फुटसल हबमा आयोजना हुने प्रतियोगितामा देशभरका ३२ वटा कलेजले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
मुख्य प्रायोजक एजुकेसन प्लानेट (ई–प्लानेट) प्रालि तथा सह–प्रायोजक नेपाल एसबीआई बैंक रहेको प्रतियोगितामा टेन प्लस टु र ब्याचलर लेभलका विद्यार्थीले सहभागिता जनाउनेछन् । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिनेछ जसअनुसार प्रतियोगिताका समूह चरणका खेल राउन्ड रोविनको आधारमा र त्यसपछिका खेल नकआउट हुने आयोजकको दाबी छ ।
दुईदिने यो प्रतियोगिताको विजेताले नगद ३५ हजार रुपैयाँसहित कूल ५० हजार रुपैयाँ बराबरको पुरस्कार तथा दोस्रो हुनेले नगद २० हजार रुपैयाँसहित कूल ३० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडी, उच्च गोलकर्ता तथा उत्कृष्ट गोलकिपरले पनि आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा प्रतियोगिताबारे जानकारी गराइएको हो । धुम्बाराहीस्थित नेसनल कलेज अन्तरकलेज फुटसल प्रतियोगिता आयोजना गर्ने नेपालकै पहिलो कलेज रहेको आयोजकको दावी छ । सन् २०१० मा कलेजले पहिलोपटक फुटसल प्रतियोगिता आयोजना गरेको थियो । बिचमा रोकिएको प्रतियोगिता गत वर्षदेखि पुनः सुरु भएको थियो ।
१६ टोली सहभागी रहेको गत वर्ष आयोजित प्रतियोगिताको उपाधि आयोजक नेसनल कलेजले जितको थियो । प्रतियोगीतामा सहभागी जनाउन ६ हजार रूपैयाँ रजिस्ट्रेसन शुल्क बुझाउनुपर्ने जानकारी पनि गराइएको छ ।
प्रतिक्रिया