छिमेकको समृद्धि र हाम्रो नियति

छिमेकको समृद्धि र हाम्रो नियति


sampadakeeyaछिमेकी मित्रराष्ट्र भारतले गत साता (१५ अगस्ट) आफ्नो ६७औँ स्वतन्त्रता दिवस धुमधामका साथ मनायो । स्वतन्त्रताको करिब सात दशक अवधिमा भारतले हासिल गरेको प्रगति, विकास वा आर्थिक समृद्धि एवम् विश्वमञ्चमा उसले दर्शाएको दर्बिलो उपस्थिति र प्रभावका आधारमा भन्नुपर्दा स्वतन्त्रता दिवसलाई भारत सरकार र त्यहाँका जनताले उल्लास–उमङ्ग र भव्यता प्रदान गर्नुमा स्वाभाविकता झल्किन्छ पनि । भारत स्वतन्त्र भएको तीन–चार वर्षपछि नै प्रजातान्त्रिक आन्दोलनमा सफलता प्राप्त गरेको मुलुक भएर पनि आज नेपाल राजनीतिक तथा आर्थिक रूपमा जसरी पछि परेको छ, यस कोणबाट भन्नुपर्दा छिमेकी मित्रराष्ट्रको समृद्धि हाम्रा निम्ति लोभलाग्दो मात्र नभई अनेक दृष्टिले अनुशरणीय पनि छ ।
एउटा समृद्ध छिमेकीको प्रभाव छिमेकका अन्य राष्ट्रमा पर्ने विषय आजको विश्वपरिवेशमा कुनै नौलो वा अस्वाभाविक सन्दर्भ होइन । त्यसमाथि नेपाल र भारतबीचको भौगोलिक निकटता, मिल्दोजुल्दो सामाजिक–सांस्कृतिक परिवेश, सदियौँदेखि जनस्तरबाटै गाँसिएको अन्तरङ्गी वा रोटीबेटीको सम्बन्ध आदि यस्ता आधार हुन् जसले दुई छिमेकीबीचको अन्योन्याश्रित सम्बन्धको गहिराइ झल्काउँछ । मित्रराष्ट्र भारतले विविध परियोजनाहरूमा नेपाललाई गर्दै आएको अर्बौंको आर्थिक अनुदान सहयोगलाई यही द्विपक्षीय सम्बन्ध र गहिरो मित्रताको द्योतकका रूपमा लिन सकिन्छ । हुन पनि भारतले आफू एक समृद्ध र ठूलो छिमेकी हुनुको दायित्व निर्वाह गर्दै विगत एक–डेढ दशक अवधिभित्रै नेपाल सरकारले प्राथमिकता निर्धारण गरेका आर्थिक विकासका क्षेत्रहरू समेटेर विविध प्रकृतिका साना तथा ठूला सयौँ परियोजनामा अर्बौं आर्थिक सहयोग प्रदान गरिसकेको छ । सयौँको सङ्ख्यामा विद्यालय परियोजना, अस्पताल, सडक, पुल, सिँचाइ एवम् बाढी नियन्त्रण, एम्बुलेन्स, स्कुल बस, हजारौँ सङ्ख्यामा छात्रवृत्ति कोटा, भूपू कल्याणकारी योजना आदि शीर्षकमा ६५ अर्बभन्दा बढी आर्थिक अनुदान प्रदान गर्नु गहिरो मित्रवत् सौहार्दताकै उपज हो ।
तथापि, तिक्त यथार्थ नै भन्नुपर्छ, नेपालप्रति भारतले दर्शाएको यस छिमेकी मित्रवत् सौहार्दता एवम् भ्रातृवात्सल्यलाई विकृत अर्थमा बुझ्ने या बुझाउने प्रयत्न यदाकदा हुने गरेको पाइन्छ । नेपालको विकास र समृद्धिको चाहनामा भारतको साथ–सहयोग रहँदै आएको विषयलाई सकारात्मक रूपमा बुझ्दै अझ बढी साथ लिने प्रयास गर्नुको साटो सहयोग आदानप्रदानको पाटोलाई नियतवश नकारात्मक रूपमा व्याख्या गर्न खोज्ने प्रवृत्तिले शिर उठाउन खोज्नु नेपालको हितमा किमार्थ हुन सक्दैन । भारत नेपालभन्दा निकै विशाल छ र भनिन्छ– विशाल वृक्षको मुनि अर्को वृक्ष फस्टाउन सक्दैन । तर, भारत विशाल हुनुमा उसको दोष खोज्नु सान्दर्भिक हुन सक्दैन न कि नेपाल सानो छ भनेर हामीले लघुताभास हुर्काउनै आवश्यक छ । भौगोलिक आकारप्रकारको कसीमा राखेर न भारतले नेपालसँगको मित्रता र सहयोगलाई खुम्च्याएको अनुभूति हुन्छ न त आफ्नो आकारकै कारण सहयोगको दायरा बढाउन नेपालले रोकिनुपर्ने कुरा नै तर्कसङ्गत ठहरिन्छ । स्वतन्त्रता दिवसका अवसरमा मित्रराष्ट्र भारतका राजदूत जयन्त प्रसादले दिनुभएको मन्तव्य यस सन्दर्भमा सान्दर्भिक ठान्न सकिन्छ । भारतको समृद्धि र सफलतामा छिमेकी देशका जनतालाई पनि सरिक गराउन र जनस्तरको सम्बन्ध वा मित्रताको बन्धन अझ कसिलो तुल्याउन भारत अन्तर्मनदेखि नै इच्छुक रहेको धारणा राजदूत जयन्तद्वारा प्रकट भएको छ । निश्चय पनि निष्कपट सहकार्यले नै साझा धरोहर र आपसी सभ्यतागत मूल्य–मान्यतालाई उजागर गर्छ र दुवै देशका जनताको जीवनमा सुखमय रूपान्तरणको कल्पना साकार पार्न सकिन्छ । छिमेकी भारतसँगको सम्बन्ध र राष्ट्रियताको सवाललाई जोडेर यहाँ अनेक तर्क–वितर्क गरिन्छ । विकास वा समृद्धिबिना आजको विश्वपरिवेशमा कसरी राष्ट्रियताको संरक्षण र सम्बद्र्धन हुन सक्छ, यसको चित्तबुझ्दो जवाफ राष्ट्रियताको खोक्रो नारा उराल्नेहरूले दिन सकेका छैनन् । वास्तवमा राष्ट्रियताको आदर्श छाँटेर नजिकको विशाल मित्रलाई बिच्क्याउँदै दु:ख बेसाउनुभन्दा उससँग मित्रताको हात अझ कसिलो बनाएर प्रेम, सहयोग र आर्थिक लाभ लिन सक्नुमा नै नेपाल र नेपालीको हित हुन्छ । देश र जनताको हितमै राष्ट्रियताको भाव पनि बलियो हुन सक्छ । यहाँनेर यो पनि स्मरण गराउनु सान्दर्भिक होला कि छिमेकी मित्रदेश भारतले पनि यदाकदा नेपालमा भारतविरोधी आवाज कताबाट किन उठ्ने गर्छ भन्ने कुरालाई सूक्ष्मदृष्टिले केलाउनु आवश्यक छ । यसो हुनुको जडबारेमा नेपालले औँल्याउनुभन्दा मित्रराष्ट्र भारतले नै गहिराइमा पुग्ने चेष्टा गरेमा द्विपक्षीय हितमा अझै प्रगाढता आउनेमा सन्देह रहन्न । ६७औँ स्वतन्त्रता दिवसका अवसरमा छिमेकी मित्रराष्ट्र भारतप्रति यही शुभेच्छा, शुभकामना ।