प्रथम विश्व विश्वविद्यालय उसु च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित सात सदस्यीय नेपाली टोली साउन १५ गते मंगलबार मकाउ प्रस्थान गरेको छ ।
मकाउ पोलिटेक्निक इन्स्टिच्युट मल्टी स्पोर्टस् पेभेलियनमा अगस्ट २ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । तीनै खेलाडीले थाउलो स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यु’ गर्न लागेका अशोक बुढामगरले पुरुष नान्छ्वान र नान्गुनमा भाग लिनेछन् । महिलामा १२औँ दक्षिण एसियाली खेलकुद (साग) की रजतधारी सविता राईले ताइची छ्वान र ताइची छेन तथा ओसिन राईले जेन सु र चेन सुमा आ–आफ्नो कौशल प्रदर्शन गर्नेछन् । ओसिनसँग पनि इन्चोन एसियाड खेलेको अनुभव छ । ओसिन र सविता आ–आफ्नो स्पर्धाका लगातार पाँचपटकका राष्ट्रिय च्याम्पियन हुन् ।
विश्वविद्यालय खेलकुद सङ्घ नेपालका अध्यक्ष प्रदीप जोशीको नेतृत्वमा जान लागेको टोलीको प्रशिक्षकमा राजीव महर्जन तथा अफिसियलमा राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत आर्थिक प्रशासन शाखाका लेखापाल कुमार बस्नेत र विश्वविद्यालय खेलकुद सङ्घका सदस्य महेन्द्र तामाङ रहेका छन् ।
अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासङ्घ र मकाउ विश्वविद्यालय खेलकुद सङ्घको संयुक्त आयोजनामा हुने प्रतियोगितामा ३५ राष्ट्रको सहभागिता रहने विश्वविद्यालय खेलकुद सङ्घका महासचिव पूर्णसिं बोहोराले जानकारी गराएका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रशासन विभागका प्रमुख वासुदेव आचार्य र कानुन शाखाका प्रमुख नारायणराज अर्यालले एक समारोहबीच बिदाइ गरेका थिए
प्रतिक्रिया