इन्द्रेणी

इन्द्रेणी


indreni

नेपाली माओ जे दुङको औतार !
– बद्रीप्रसाद दाहाल

कोही भए क्यासवादी, कोही ड्यासवादी ।
टिकिट्याँस कुनै बने, कुनै झ्याँसवादी ।।
‘जनवाद’ धनवाद् भो, कतै ‘घनवाद’ ।
कोही ‘गनवाद’ भन्ने, कोही ‘डनवाद’ ।। १ ।।

संसद्वादीसित कोही, घाँटी–कुम जोड््छन् ।
राष्ट्रवादी बन्न कोही, खाँटी राजा रोज्छन् ।।
कोही नौलो जनवादी, कोही ध्वंश–ऊग्र ।
लुट्ने–कुट्ने परे गिँड्ने, कमाउनमै व्यग्र ।। २।।

ठोस परिस्थितिको नै, ठोस व्याख्या अरे ।
नेप्टो, चेप्टो, बाङ्गोटिङ्गो, व्याख्या सबै गरे ।
माओ समाई ‘खाओ’ भन्छन्, अल्छी भुसतिघ्रे ।
नेपालका ‘माओवादी’, सबै खोया–बिर्के ।। ३ ।।

‘सत्ता–भितर्’ एमाउवादी, राष्ट्र–धनमा गुड्छन् ।
‘सत्ता–इतर्’ बीमाउवादी, जन–धन चुँड्छन् ।।
‘राष्ट्रियता’ सस्तो नारा, जात–क्षेत्र–लिङ्ग ।
भित्री मन निरङ्कुशे, छर्छन् द्वन्द्वै–द्वन्द्व ।। ४ ।।

ठेगानमै छैन बोला, झोली थरी–थरी ।
वादै छैन यी नकटा, सुनाउँछन् लोरी ।।
माओवादी मासिसके, जम्मै भुँडीवादी ।
ढाल बन्यौ माओ यहाँ, जम्मै फुँडीवादी ।। ५।।
(इति गाईजात्रा पञ्चकम् )

रानीपौवाकी कान्छीमाया
– मोतीराज बम
रानीपौवा,
काफल फलाउँछ
कान्छीमायाको गालामा
आलु फलाउँछ
कान्छीमायाको छातीमा
हत्केलाका किरिङमिरिङ रेखाहरू
कान्छीमायाका अन्न फलाउने गराहरू हुन्
ओठहरू जस्तै बारीको डिलडिलमा फरफराउने
बेलौती र भुँइचम्पाका पातहरू
कान्छीमायाको भरिलो जवानी हो ।
कान्छीमाया,
रातमा उदाएको जुन र
छिप्पिनुअघिको घाम
अनि कान्छीमायाको अनुहार
नाचिरहेको गणेश हिमाल र
हाँसिरहेको हिउँँको खिरिलो ढिक्का ।
कान्छीमाया,
संसारमा एक हो वा एकमा संसार
खुट्याउनै गाह्रो
उसले दिएको तातो चियाले
ओठ पोले पनि, जिब्रो खुम्चिए पनि
अपनत्वले चुम्बन गरेझँै लाग्छ
स्नेहले स्पर्श गरेझैँ लाग्छ ।
कान्छीमाया,
आफैँले उमारेको एक डोको बैंस ल्याएर
कहिलेकाहीँ काठमाडौं छिर्छ
काठमाडौं कान्छीमायालाई कुरूप देख्छ, हाँस्छ र खिसिट्युरी गर्छ
तर, लुट्न छोड्दैन उसको इज्जत
र उसको कौमार्य
र पनि कान्छीमायालाई
काठमाडौं बिरानोजस्तो लाग्दैन
आफ्नै रानीपौवाजस्तो लाग्छ
मान्छेहरू पनि रानीपौवाकै जस्ता लाग्छन्
बेसरम काठमाडौं कान्छीमायालाई
निर्मम कोपर्छ, चिथोर्छ, लुच्छ, झम्टन्छ र
सोझो अस्मितामाथि नाङ्गै पौडी खेल्छ ।
हुनै सक्दैन
काठमाडौं र कान्छीमायाको तुलना ।
साँच्चै काठमाडौंको नाभीमा
अग्लो लाग्ने धरहरा
कान्छीमायाको नाकभन्दा अग्लो छैन
ठूलो लाग्ने टँुडिखेल
कान्छीमायाको छातीभन्दा चौडा छैन
घन्टाघरले दिने समय
कान्छीमायाको ढुकढुकीले नै बताउँछ
केही फरक देखिन्न
कान्छीमाया र स्वयम्भूका आँखामा
सिङ्गै पशुपति उठाएर पिठ्युँमा
कान्छीमाया,
ठमठमी हिँड्छ रानीपौवाको उकालो
रानीपौवा, एउटा सुन्दरता
कान्छीमाया अर्को सुन्दरता
छुट्टिनुअघि नमन गरेर मैले भने
कतै हरायो भने मेरो देश
खोज्दै आउनेछु म
रानीपौवाकी कान्छीमाया ।

मेरा सपनाको सारथि
जीबी आचार्य
अनगिन्ती मेरा सपना
कति मैले देखेर झरे
कति मैले देख्नै नपाई झरे
जाजरकोटमा भोकमरी पर्दा दुख्ने भए सपना
काभे्रमा बस पल्टँदा क्षतविक्षत भए,
डोल्पाका यार्चागुम्बासँगै उदाउने मेरा सपना
इलामका चियाबगानसँगै झाँगिए,
तराईका धानसँगै फले
ऊर्जासङ्कटले देश आक्रान्त भएको बेला
लोडसेडिङले अँध्यारो छरेर जीवन निस्सार बनाइरहेका बेला
मैले एउटा सपना देखँे
माथिल्लो कर्णालीबाट १२ हजार मेगावाट बिजुली निकालेको
वार्षिक एक अर्बभन्दा बढीको व्यापारघाटा भइरहेको बेला
मैले अर्को सपना देखेँ
देशले आफ्नै क्षमतामा आधारित औद्योगिक क्रान्ति गरेको
किसानहरू वर्षामा मल नपाएर सडकमा राँको बालेको बेला
मैले देखेँ सपना
मल, बीउ र प्रविधिमा हामी आत्मनिर्भर भएको
बोक्सीको आरोपमा निरापराध निर्धामाथि
बलियाले मानव मलमूत्र खुवाउँदै, आँखा फोरेको बेला
मैले देखेँ सपना
न्याय, समानता र चेतनाले नेपाल झलमल्ल भएको
बेचिएर छिमेकीको वेश्याकोठीमा
जीउमा असाध्य रोग लागेपछि
एउटा संस्थाको आँगनमा विदेशी जुठोपुरो खाँदै
मृत्यु कुरिरहेकी एउटी अभागी महिला भेटेपछि
मैले देखँे सपना
उसको जीवन र जवानीको सौदागरलाई
कानुनले कडा कारबाही गरेको
उफ निरन्तर झरिरहे मेरा सपना
तर मैले सपना देख्न बिर्सेको छैन
निरन्तर देखिरहेछु,
यस्तै यस्तै सपना,
खाँचो छ फगत एउटा सारथिको–२

कृति
पुस्तकमा ‘राजनीतिक सन्दर्भ’
त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र विभागका उपप्राध्यापक तथा अधिवक्ता अश्वस्थामाभक्त खरेलद्वारा लिखित पुस्तक ‘राजनीतिक सन्दर्भ’ प्रकाशित भएको छ । पुस्तकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भका उन्नाइस लेख समावेश गरिएका छन् ।
राज्यको अस्तित्वका आधारभूत तत्र्वहरूमा अन्तर्राष्ट्रिय सम्बन्धजस्तो कूटनीतिक पक्षलाई प्राथमिकता दिइएको उक्त पुस्तक विश्वपरिवेशमा नेपालको उपस्थितिलाई पेस गर्न सफल भएको देखिन्छ । राजनीतिक प्रणालीमा आजसम्म विश्लेषणको विषयवस्तु बनेका ‘प्रतिनिधित्व’, ‘सहभागिता’ र ‘प्रतिस्पर्धा’मा मात्र सीमित नरहेर सामाजिक सन्तुलन र राज्यको नीतिलाई समेत यस पुस्तकमार्फत लेखकले विश्लेषण गरेका छन् । गहन अनुसन्धान र अध्ययनबाट मात्र सङ्ग्रह गर्न सकिने विषयवस्तु समेटिएको हुनाले यो पुस्तक राजनीतिशास्त्रका मात्र नभएर अन्य विधाका पाठक र अनुसन्धानकर्तालाई समेत उपयोगी दस्तावेजका रूपमा आफ्नो स्थान ओगट्ने देखिन्छ ।
नेपालको वैदेशिक सम्बन्ध, शान्तिक्षेत्रको प्रस्ताव र समर्थन, संयुक्त राष्ट्रसङ्घजस्तो विश्वव्यापी सङ्घ र नेपालको सम्बन्ध, दक्षिण एसियाली सन्दर्भमा नेपालको भूमिकाजस्ता विषयलाई सूचनामूलक र विश्लेषणात्मक ढङ्गले केलाउन यो पुस्तकले कुनै कसर बाँकी राखेको छैन । दुईदेशीय सम्बन्धका सन्दर्भमा नेपाली राजनीतिक इतिहासको सर्वाधिक चासो बनेको नेपाल–भारत सम्बन्ध सुधारसूत्रका बारेमा नेपाल–भारतबीच रहेका विवादित मुद्दाका सन्दर्भमा भारतसँग समाधानको बाटो खोज्न सकेमा सम्बन्धगत तुषारापात घट्दै जाने निष्कर्ष यस पुस्तकमा उल्लेख गरिएको छ ।
विकेन्द्रीकरण, स्थानीय स्वायत्त शासन, नेपालको संवैधानिक विकासक्रम र संविधानसभाजस्ता पक्षलाई समेटिनुले आन्तरिक राजनीतिक सन्दर्भ र राजनीतिक परिवर्तनको तथ्यलाई पनि पुस्तकले प्रस्ट पारेको छ । नेपालमा विस्तृत शान्ति सम्झौता २०६३ पछि भएको सहमतीय राजनीतिक संस्कार र त्यसलगत्तै सङ्घीयतामा देखिएको असहमतिको राजनीतिलाई वस्तुगत ढङ्गले गरिएको विश्लेषण रोचक तथ्यको प्रमाण हो । वर्तमान बुझ्न र भविष्यको प्रक्षेपण गर्न विगत बुझ्नु जरुरी छ । सबैभन्दा महत्र्वपूर्ण पक्ष राजनीतिक सन्दर्भले नेपाली राजनीतिको विगतलाई अत्यन्त सूक्ष्म ढङ्गले सतहमा ल्याएको छ । तथ्याङ्कगत आधारमा विश्लेषण र सूचना एवम् जानकारीमूलक प्रस्तुति यस पुस्तकका विशेषता हुन् । नेपालको राजनीतिक र ऐतिहासिक अध्ययन गर्न चाहने जो–कोहीलाई पनि यो पुस्तक सहज पहुँचको दस्तावेज बन्न सक्ने देखिन्छ ।