अख्तियार पछि नहट

अख्तियार पछि नहट


sampadakeeyaअनियमितता र भ्रष्टाचारविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले परिणामदायी अभियान सञ्चालन गरेपछि कर्मचारीतन्त्रको भ्रष्ट तप्कामा खैलाबैला मच्चिएको छ भने जनमानसमा खुसी र आशाको तरङ्ग सञ्चार भएको अनुभूति गरिएको छ । संविधानसभाको भावी निर्वाचनबारेको चर्चालाई पनि यतिबेला भ्रष्टाचार र भ्रष्ट कर्मचारमाथि अख्तियारले सुरु गरेको छानबिन तथा कारबाही अभियानबारेको चासो र चर्चाले उछिनेको छ । सरकारी निकायमा हुने गरेका ढिलासुस्ती, अनियमितता वा घुस असुलीजस्ता भ्रष्ट आचरणबाट आमसेवाग्राही कति मर्कामा परेका छन् र भ्रष्टमाथिको कारबाही प्रक्रियाबाट जनतालाई कति सन्तोष र उल्लास प्रदान गरेको छ भन्ने कुराको द्योतक पनि हो अख्तियारको अभियानप्रति बढेको चर्चा, जनचासो र जनसमर्थन ।
वास्तवमा नेपाल राष्ट्र आज जुन रूपमा कमजोर र पिछडिएको अवस्थामा देखिएको छ, यसको मूल जड भ्रष्टाचार तथा त्यसमाथि अनुगमन, छानबिन र कारबाहीको अत्यन्त फितलो वा निस्प्रभावी प्रक्रिया नै हो भन्दा अतिसयोक्ति ठहरिन्न । आज मुलुकको राजनीति बिग्रेको छ, विकृत राजनीतिले देशलाई दिनानुदिन झन्–झन् थिल्थिल्याइरहेको छ, देशका जिम्मेवार नेताजनप्रति आमजनतामा वितृष्णा र आक्रोश चुलिँदो छ । अझ भन्नुपर्दा नेपाल असफल राष्ट्र हुँदै देशको अस्तित्व नै गुम्न सक्नेसम्मको खतराको डिलमा पुग्नुमा भ्रष्टाचारले नै प्रमुख भूमिका निर्वाह गरेको छ भन्दा अतिसयोक्ति ठहरिन सक्दैन । राजनीतिक नेतृत्व तहदेखि नै भ्रष्ट सोच, शैली र क्रियाकलाप अवलम्बन तथा भ्रष्टाचार उन्मूलनको साटो उल्टै त्यसलाई प्रश्रय दिने प्रवृत्ति मौलाएकोले मुलुक भ्रष्टाचारबाट आक्रान्त र जर्जर बन्न पुगेको विषय अब देशको सीमाबाहिरसम्म पनि उदाङ्ग हुन पुगिसकेको छ । यस्तो खतरनाक एवम् उन्मूलन नगरिनहुने विषयमा अख्तियारले हात–पाइला चालेको सन्दर्भले तरङ्ग पैदा गर्नु अस्वाभाविक पनि होइन ।
तर, अख्तियारको अभियानसँगै यस अपरिहार्य र प्रशंसनीय पहलकदमीको कर्मचारीतन्त्रभित्रैबाट समेत विरोध र असहयोग गरिएको विचित्रावस्था यहाँ देखिएको छ । भ्रष्ट र माफियाहरूबाट विरोध र अवरोध हुनुलाई अस्वाभाविक नठानिए पनि अध्यागमन विभागलगायतका कर्मचारीले प्रदर्शन गरेको चरम असहयोगको व्यवहार र कर्मचारी सङ्घ–सङ्गठनहरूद्वारा गरिएको विरोधलाई दुःखदाश्चर्यकै रूपमा हेरिएको छ । भ्रष्टाचारविरुद्ध कारबाही अघि बढाउनुलाई ‘राष्ट्रसेवक कर्मचारीको मनोबल गिराउने प्रयत्न’का रूपमा अतिरञ्जनापूर्ण प्रचार गरेर स्वयम् भ्रष्ट र भ्रष्टका मतियारहरूले अख्तियारको मनोबल गिराउने या तेजोबध गरेर शिथिल तुल्याउने दुश्प्रयत्न सुरु गरेका छन् । हिजो त्यही अध्यागमनका कर्मचारीले विदेशमा पसिना बगाएर आएकी नेपाली चेलीको रकम धुत्ने र अस्मिता लुट्नेसम्मको अपराध गर्दा ‘सिङ्गो कर्मचारीवर्गकै शिर निहुरिएको’ भनी एक शब्दको खेद प्रकट गर्न नसक्ने कर्मचारी सङ्गठनहरू आज भ्रष्टमाथि कारबाही हुँदा कोकोहोलो मच्चाउन पुगेका छन् । विभिन्न दलनिकट कर्मचारी सङ्घ–सङ्गठनको यस बेतुकको विरोधले भ्रष्ट कर्मचारीतन्त्रलाई थप नङ्ग्याउने काम गरेको छ भन्दा अत्युक्ति नहोला । अख्तियारको कदमको विरोध गर्नेहरूले मनन गर्नुपर्ने हो कि देश अख्तियार आयोगको मात्र होइन, तिनै भ्रष्ट र इमानदार कर्मचारीहरूको पनि हो । देश सबै तह–तप्काका नागरिकको हो । सबैले माया गरे, भ्रष्ट आचरणलाई तिरस्कार गरे मात्र यो फुल्छ, फल्छ र फस्टाउँछ । अख्तियारको सकारात्मक अभियानमा ‘होस्टेमा हैँसे’ गरिदिए मुलुक र मुलुकवासी सबैको कल्याण हुन सक्छ ।
वास्तवमा भ्रष्टाचारले एउटा प्रवृत्ति र संस्कृतिकै रूप लिइसकेको नेपाली समाजमा भ्रष्टाचारविरुद्धको कारबाही सजिलो कामचाहिँ पक्कै होइन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि यो बुझेकै हुनुपर्छ । यस परिवेशमा अख्तियारविरुद्ध सङ्गठित भएर भ्रष्ट कर्मचारी, तिनका मतियार, माफिया र अवैध क्रियाकलाप गरी जनता, समाज र राष्ट्र चुस्न पल्किएकाहरूले अनेकौँ अनर्गल प्रचारबाजी गर्न पनि सक्छन् । भ्रष्टाचार गर्न पाउनैपर्छ भनी यहाँ नाराबाजी, जुलुस र भोक–हडतालको नौटङ्की प्रदर्शन हुनसमेत बेर लाग्दैन । तर, अख्तियारले आफ्ना पाइला डग्मगिन दिनुहुँदैन । मुलुक खोक्रो हुनुको मूल कारण भ्रष्टाचार नै हो भन्ने तीतो यथार्थलाई मनन गरी यसको जरैदेखि उन्मूलनका लागि सार्थक भूमिका निर्वाह गर्न जिम्मेदार निकाय कहिल्यै पछि हट्नुहुँदैन । यसका निम्ति आफ्ना न्यायोचित कदम वा काम–कारबाहीबारे चौतर्फी सूचना सम्प्रेषण गर्दै आमतह–तप्काको समर्थन र सहयोग हासिल गर्नेतर्फ पनि अख्तियारले विशेष पहलकदमी लिनु आवश्यक हुन्छ । बिनापूर्वाग्रह राष्ट्रको पक्षमा उठाइएका कदमहरूको न्यायप्रेमी देशभक्त नेपालीले स्वागत गर्ने नै छन् । यो हेक्का राखेर अख्तियार अघि बढोस्, यही शुभेच्छा ।