२४ वर्षपछि एसियाड खेल्दै भारोत्तोलन खेलाडी

२४ वर्षपछि एसियाड खेल्दै भारोत्तोलन खेलाडी


इन्डोनेसियामा हुने १८औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली भारोत्तोलन टोली वैदेशिक प्रशिक्षणका लागि साउन १७ गते बुधबार थाइल्यान्ड प्रस्थान गरेको छ ।

एसियाडअन्तर्गत भारोत्तोलनतर्फ पुरुषमा ८ र महिलामा ७ गरी १५ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । नेपालले भने पुरुष÷महिलमा समान २–२ गरी ४ स्पर्धामा सहभागिता जनाउनेछ । पुरुषमा कमलबहादुर अधिकारीले ६९ केजी तथा विकास थापाले ७७ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । कमल १०औँ सागका स्वर्णधारी तथा विकास १२औँ सागका रजत विजेता हुन् ।

त्यस्तै, महिलाको ५३ केजीमा सन्जु चौधरी तथा ७५ केजीमा १२औँ सागकी कांस्य विजेता तारादेवी पुनले सहभागिता जनाउनेछन् । चारै खेलाडी आ–आफ्नो स्पर्धाका राष्ट्रिय कीर्तिमानधारी हुन् । प्रशिक्षकमा दिनेश भुजेल रहेका छन् ।

टोली थाइल्यान्डमा चोनबुरी स्पोर्टस् स्कुलमा अगस्ट १७ तारिखसम्म प्रशिक्षणरत रहनेछ । अगस्ट १८ मा टोली इन्डोनेसिया जाने कार्यक्रम छ । एसियाडअन्तर्गत भारोत्तोलन अगस्ट २० देखि १७ तारिखसम्म चल्नेछ । भारोत्तोलनको ७३ दिनको विशेष बन्द प्रशिक्षण नेपालगन्जमा भएको थियो ।

१९८२ मा भारतमा भएको एसियाली खेलकुदमा नेपालले पहिलोपटक भारोत्तोलनमा सहभागिता जनाएको थियो । त्यसयता एकपटक १९९४ मा जापानको हिरोसिमामा भएको एसियाडमा मात्र नेपालले भारोत्तोलनमा सहभागिता जनाएको छैन । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रमबीच बुधबारै बिदाइ गरे ।