१८औँ एसियाली खेलकुद प्रतियोगितामा सम्भावित पदक जित्ने खेलको रूपमा रहेको कराते खेलको थप तयारीका लागि जापान प्रस्थान गरेको छ । नेपाली कराते टोली साउन १६ गते बुधबार जापानको ओकिनावा प्रस्थान गरेको छ । जापानबाटै कराते टोली अगस्ट २२ मा इन्डोनेसिया जानेछ ।
अगस्ट २५ देखि २७ तारिखसम्म हुने करातेको स्पर्धामा नेपालबाट ४ पुरुष र ४ महिला गरी ८ खेलाडीले नेपालको चुनौती दिनेछन् ।
पुरुष एकल कातामा पर्शुराम बाँस्तोला, ६० केजीमा सोनाम लामा, ६७ केजीमा विजय लामा र ८४ केजीमा दिवस श्रेष्ठले सहभागिता जनाउनेछन् । महिलामा चञ्चला दनुवारले एकल काता, अनु अधिकारीले ५० केजी, सुनिता महर्जनले ६१ केजी र रिता कार्कीले ६८ केजीमाथि प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकहरूमा दीपक श्रेष्ठ तथा हीरासिंह डंगोल रहेका छन् ।
एसियाडमा नेपालले करातेमा हालसम्म ३ कांस्य जितेको छ । १९९४ को हिरोसिमा एसियाडमा सीता राई, १९९८ को बैंकक एसियाडमा समरबहादुर गोले र २०१४ को इन्चोन एसियाडमा विमला तामाङले नेपाललाई कांस्य दिलाएका थिए । इन्चोन एसियाडमा विमलाले जितेको कांस्य नेपालले हात पारेको एक पदक मात्र थियो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट कराते महासंघका अध्यक्ष दावा गुरुङले बिदाइ गरेका थिए । सोही अवसरमा थापा बिजेनस ग्रुपका प्रोप्राइटर प्रणील थापा र नेपाल कराते महासंघका उपाध्यक्ष दीपक मलहोत्राद्वारा प्रायोजित ट्रयाकसुट पनि टोलीका सदस्यलाई प्रदान गरिएको थियो ।
प्रतिक्रिया