एसियाडमा ऐतिहासिक सफलता प्राप्त गर्ने विष्टको दाबी

एसियाडमा ऐतिहासिक सफलता प्राप्त गर्ने विष्टको दाबी


– श्रीविक्रम भण्डारी

आगामी भदौ २ गतेदेखि इन्डोनेसियाको राजधानी जकार्तामा १८औँ एसियाली खेलकुद प्रतियोगिता आयोजना हुँदै छ । नेपालले उक्त प्रतियोगितामा २८ खेलमा सहभागिता दिएको छ । यी सहभागी खेलमा मार्सल आर्टस् र पावर गेममा नेपालले पदक जित्ने सम्भावना रहेको छ । अन्य खेलहरू सहभागिताको लागि सहभागी हुनेमा कुरोमा सायदै कसैको दुईमत होला । एसियाडमा नेपाल प्रदर्शनको चर्चा गर्दा नाक खुम्च्याउनुपर्ने अवस्था छ । एसियाडमा नेपालको अहिलेसम्मकै ठूलो उपलब्धि भनेको रजत पदक हो ।

उक्त ऐतिहासिक रजत पदक बैंकक एसियाडमा तेक्वान्दो खेलाडी सविता राजभण्डारीले जितेकी थिइन् । त्यसपछि सम्पन्न भएका चारवटा एसियाडमा नेपाल कांस्य पदकमै सीमित भएको छ । दक्षिण कोरियाको इन्चोनमा सम्पन्न गत १७औँ संस्करणमा नेपाल पदकविहीन हुनबाट बल्लतल्ल बचेको थियो । नेपाललाई पदकविहीन हुनबाट करातेकी विमला तामाङले कांस्य पदक जितेर नेपालको इज्जत बचाएकी थिइन् ।

इन्चोनमा पदकविहीन हुनबाट बचेको नेपालले इन्डोनेसिया एसियाडमा कस्तो प्रदर्शन गर्ला अहिले नेपाली खेलवृत्तमा निकै चर्चा र चासोको विषय बनेको छ । यस्तो अवस्थामा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले इन्डोनेसिया एसियाडका लागि विशेष तयारी गरेको बताएका छन् । साथै यसपटकको लक्ष्य स्वर्ण पदक भएकोसमेत विष्टले जानकारी गराएका छन् । लक्ष्य स्वर्ण पदक हो, तर सफलता कति प्राप्त हुन्छ त्यो ठोकुवा गर्न नसक्ने बताए । र पनि, विष्टले आगामी एसियाडमा नेपालले ऐतिहासिक सफलता हात पार्ने दाबी गरे । इन्डोनेसिया एसियाडमा नेपालले कम्तीमा पनि दुई रजत र तीन कांस्य पदक जित्ने खुलासा गरे । यी पदकहरू नेपालले र्माुल आर्टस्, बक्सिङ र पाराग्लाइडिङमा जित्न सक्ने सम्भावना रहेको उनको भनाइ छ ।

यतिबेला एसियन गेममा सम्भावित पदक जित्ने खेलहरूलगायत अन्य खेलको स्वदेश र विदेशमा प्रशिक्षण भइरहेको छ । एसियाडमा समावेश २८ खेलहरूमा कराते, तेक्वान्दो, बक्सिङ, उसु, जुडो र प्याराग्लाइडिङलाई सम्भावित पदक जित्ने खेलको रूपमा हेरिएको छ । सदस्यसचिव विष्टले यस्तो दाबी गरिरहँदा नेपालले इन्डोनेसिया एसियाडमा ऐतिहासिक सफलता हात पार्ने देखिन्छ । तर, एसियाडमा नेपालको प्रदर्शनको इतिहासलाई पल्टाएर हेर्दा भने उहाँको दाबीमा शङ्का गर्ने थुप्रै ठाउँ प्रसस्तैै देखिन्छ । यसर्थमा अहिलेसम्म नेपाल एसियाडमा जितेको सबैभन्दा ठूलो पदक भनेको रजत हो । त्यो तेक्वान्दोमा सविता राजभण्डारीले जितेकी थिइन् । त्यसबेला र अहिलेको तेक्वान्दो स्तर हेर्दा बागमतीमा धेरै पानी बगिसकेको छ । आठौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ)मा सर्वाधिक १४ स्वर्ण पदक जितेर कीर्तिमान कायम गरेको तेक्वान्दो १२औँ सागसम्म आइपुग्दा शून्यको अवस्थामा पुगेको छ । १२ सागमा दक्षिण एसियाली मुलुकैमा स्वर्ण जित्न नसकेको तेक्वान्दोबाट एसियाडमा कुनै पनि पदकको आशा गर्नु मरभूमिमा पानी खोज्नुसरह हो भन्दा अतिसयोक्ति नहोला ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न राम्रो तयारी हुनुपर्छ । बजेटको उचित व्यवस्था हुनुपर्छ । प्रशिक्षणरत खेलाडीका लागि खेलमय वातावरण हुनुको साथै उचित डाइडको व्यवस्था हुनुपर्छ । त्यस्तै उनीहरूलाई विशेष रूपमा मानसिक रूपमा तयार पारिनुपर्छ । नेपालको तयारी हेर्दा यी कुनै पनि कुरामा ध्यान दिएको देखिएको छैन । सरकारले दिने सीमित बजेटमा स्वदेशदेखि विदेशी प्रशिक्षण र सहभागिताको तालमेल मिलाउनुपर्छ, जुन आफैँमा अवैज्ञानिक छ । दुर्भाग्य नेपालको, अहिलेसम्म नेपालको खेलकुद यही परम्परामा चल्दै आएको छ । साँचो रूपमा भन्नुपर्दा सरकारले खेलकुदलाई कहिल्यै प्राथमिकतामा राखेको छैन । जुन नेपाली खेलकुदको विकास र विस्तारको लागि रोडा बन्दै आएको छ । माग गरेको बजेटको आधा स्वीकृत गर्ने, त्यो रकम पनि सरकारले समयमा नदिने हुँदा खेलकुदको स्तरमा ह्रास आइरहेको छ । यसरी तोकिएको बजेटमा काम गर्दा अन्य काम हुँदैन । जसको प्रत्यक्ष प्रभाव खेलको स्तरमा पर्छ, यो कुरामा अहिलेसम्म सरकारले खासै चासो राखेको छैन । खालि झारा टार्ने काम मात्रै भैरहेको छ, जुन आफैँमा चिन्ताको विषय बनेको छ ।

एसियाली खेलकुदजस्तो प्रतिष्ठित खेलकुदमा पदक जित्न कम्तीमा पनि चार बर्षदेखि तयारी गर्नुपर्छ । जसको लागि राज्यले महत्वपूर्ण भूमिका निभाउँदै नायकको रूपमा प्रस्तुत हुनुपर्छ । बजेट होस् या स्वदेश र विदेशको प्रशिक्षण, राज्यको सहयोग र हस्तक्षेप उत्तिकै जरुरी हुन्छ । तर, नेपालमा राज्यले खेलकुदलाई कहिल्यै सकारात्मक दृष्टिले हेरेन, उल्टै ‘खाए खा नखाए घिच’को वातावरणको सिर्जना गरिदिएको छ । परिणाम नेपालको खेलकुद नामको मात्रै खेलकुद बन्न पुगेको छ । साँचो रूपमा भन्नुपर्दा नेपालको खेलकुद ‘बाँदरको पुच्छर लौरो न हतियार’ जस्तै बन्न पुगेको छ । यस्तो खेलकुदले ओलम्पिकपछिको सबैभन्दा ठूलो प्रतियोगिता एसियाडमा कस्तो प्रदर्शन गर्ला सोझै अड्कल काट्न सकिन्छ । त्यसैले यहाँ खेलाडी र पदाधिकारीलाई दोषारोपण गर्नुभन्दा राज्यको खेलकुदमा कति लगानी ग¥यो भन्ने प्रश्न उठाउँदा जायज होला । तसर्थ यस्तो बेहालको खेलकुदलाई सही मार्गमा डो¥याउन सर्वप्रथम सरकारले आफ्नो दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने जरुरी भइसकेको छ । यो २१औँ शताब्दी हो, मुलुकको समग्रको विकासका लागि खेलकुदको कति महत्व छ त्यसलाई आत्मसात् गर्नु अहिलेको आवश्यकता भइरहेको छ । खेलकुदका कार्यक्रममा प्रधानमन्त्री, खेलकुदमन्त्रीले खेलकुदको विकासमा लागि आकाशकै तारा टिपेर ल्याउने भाषण गर्नुभन्दा खेलकुदको महत्वलाई बुझेर सोही किसिमको दूरदर्शी कदम चालेमा मात्र नेपालमा खेलकुदको विकास सम्भव देखिन्छ ।

एसियाडमा नेपालको प्रदर्शन कस्तो हुन्छ सदस्यसचिव विष्टलाई राम्रोसँग थाहा छ । तर, विडम्बना खेलकुदको प्रमुख भएका कारण विष्ट सत्यतथ्यलाई लुकाउन बाध्य छन् । करातेको विवाद राष्ट्रदेखि अन्तराष्ट्रसम्म पुगिसकेको छ । बन्द प्रशिक्षणमा रहेको खेलाडी एसियाडमा जाने कि राखेपले अनुशासन तोडेकोमा कारबाही गरेको खेलाडी जाने त्यसको टुङ्गो अहिलेसम्म लागेको छैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता पाएको करातेको चलखेलले गर्दा अहिलेसम्म करातेका खेलाडीले वैदेशिक प्रशिक्षण जापानमा जान पाएका छैनन् । त्यस्तै कराते खेलाडीको सहभागितासँगैै कराते प्रशिक्षकहरूको विवाद पनि चुलिएको छ । पोखरामा सञ्चालन हुँदै आएको प्रशिक्षणमा राखेपले अन्तिम समयमा दीपक श्रेष्ठ र कुशल श्रेष्ठलाई प्रशिक्षकको रूपमा पठाएपछि विवाद चुलिएको हो । यसभन्दा अधि कराते खेलाडीलाई हीरासिंह डङ्गोल र दीपक श्रेष्ठले प्रशिक्षण दिँदै आएका थिए । यी दुवैजनाले लाइसेन्स रिन्यु नगरेका कारण दीपक र कुशललाई प्रशिक्षणको लागि राखेपले पठाएको जानकारी प्राप्त भएको छ । अब लाइसेन्स प्राप्त प्रशिक्षक इन्डोनेसिया जाने कि नभएका त्यो विवादको विषय बनेको छ ।

त्यस्तै, बालाजु कराते डो प्रतिष्ठानका अध्यक्ष ध्रुवविक्रम मल्लले प्रशिक्षण गराउने प्रशिक्षकसँग लाइसेन्स नभएकै कारण आफ्ना खेलाडी नवीन रसाइलीलाई बन्द प्रशिक्षणमा नपठाएपछि अर्को विवाद शुरु भएको छ । अहिले करातेमा यो विवाद चरम उत्कर्षमा पुगेको छ । नवीन बन्द प्रशिक्षण नआएपछि राखेपले उनको साटो विजय लामालाई बोलाएर प्रशिक्षण गराएको थियो । लामालाई प्रशिक्षणमा राख्नुअघि प्रशिक्षणमा आउन बारम्बार फोन, म्यासेज र पत्राचार गरेको राखेपले जानकारी गराएको छ । तर, यो कुरामा अध्यक्ष मल्लले असहमति प्रकट गरेका छन् । राखेपले फोन र म्यासेज गरेको भए कहिले गरेको हो त्यसको रेकर्ड हेरे सबै छर्लङ्ग हुने बताएका छन् । त्यस्तै पत्राचार गरेको भए कसले बुझ्यो त्यसको नाम उल्लेख गर्नुपर्ने बताए । साँचो कुरा के हो भने बन्द प्रशिक्षणको समय र अन्तर्राष्ट्रिय प्रतियोगिताको समय एकै समय परेकोले यस्तो घटना भएको मल्लले बताए । सोही समयमा एसियन कराते महासङ्घको आयोजनामा जापानमा एसियन कराते प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितामा खेल्न नवीन त्यहाँ गएको थियो, त्यसपछि जोर्डन र थाइल्यान्डमा प्रतिस्पर्धा गरेर स्वदेश फर्किएको छ । अब अगस्ट ८ तारिखमा नवीन मलेसियामा प्रतिस्पर्धा गर्न जान लागेको पनि मल्लले बताएका छन् ।

त्यसो भए नवीन इन्डोनेसिया एसियाड खेल्छ कि खेल्दैन भन्ने जवाफमा मल्लले भने, ‘त्यससम्बन्धी खेलको अध्यक्ष र ओलम्पिक कमिटीको अध्यक्षको हातमा रहेको खुलासा गरे ।’ उनीहरूले छनोट गरेर पठाए नवीनले एसियाड खेल्ने बताए । इन्डोनेसिया एसियाडमा नवीन करातेका सम्भावित पदकविजेता खेलाडी हुन् । करातेमा कसैले पदक जित्छ भने नवीनले मात्रै जित्ने मल्लले ठोकुवा गरे । यसमा पनि कारण छ भन्दै मल्लले भने, ‘नवीन राष्ट्रिय च्याम्पियन मात्र नभई तीनपटकको दक्षिण एसियाली मुलुकको च्याम्पियन हो ।’ साथै अहिले विश्व कराते महासङ्घमा वरियताक्रममा नवीनको स्थान ७९औँ भएको पनि खुलासा गरे । त्यसैले नवीनले मेडल ठोक्छ यसमा दुईमत छैन । तर, अन्य कराते खेलाडीले कुनै पनि पदक नजित्ने मल्लले दाबी गरे । यदि इन्डोनेसिया एसियाडमा कुनै पनि कराते खेलाडीले कांस्य पदक जिते बालाजु कराते डो प्रतिष्ठानको तर्फबाट जनही ५ लाख दिने घोषणा पनि गरे ।

मल्लले यस्तो दाबी गर्दै गर्दा राखेपका सदस्यसचिव विष्टले भने यसपटक अन्य एसियाडको भन्दा राम्रो तयारी भएको र ऐतिहासिक सफलता हासिल गर्ने दाबी गरेका छन् । पदक जित्ने कुरा सङ्घ र राखेपको हातमा हुन्न भन्दै त्यो खेलाडीको प्रदर्शनमा निहित हुने विष्टले बताए । साथै विष्टले खेलकुद पदक जित्नको लागि मात्र नभई आपसी सम्बन्ध विस्तारको लागि पनि भएकोले त्यसैको मूल्य र मान्यताको आधारमा नेपालले एसियाडमा सहभागिता जनाउने प्रस्ट पारे । त्यस्तै करातेको विवादको सम्बन्धमा खेलाडीमा नभई प्रशिक्षकहरूमा भएको विष्टले स्वीकार गरेका छन् । त्यो समस्याको हल पनि आफूसँग भएको विष्टले दाबी गरेका छन् । करातेलाई अहिले जुन किसिमवाट बिवाद बनाइएको छ, त्यसभित्र नभएको पनि प्रस्ट पारेका छन् ।

इन्डोनेसिया एसियाडमा नेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल, ब्याडमिन्टन, बक्सिङ, साइक्लिङ, फेन्सिङ, फुटबल, गल्फ, जुडो, कराँते, कबड्डी, लनटेनिस, सुटिङ, पौडी, तेक्वान्दो, टेबलटेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, सेपाकताक्रो, उसु, स्पोर्टस् क्लाइम्बिङ, प्याराग्लाइडिङ, कुराँस, पेनकेनसिताल र स्केटबोर्ड सहभागिता जनाएको छ ।