नेपाल ओकिनावा सुरिकेन सोरिन रियो कराते डो संघले थाइल्यान्डको बैंककमा भएको थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपका पदकविजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।
जुलाई १८ देखि २२ तारिखसम्म भएको प्रतियोगितामा महिला ३० केजीमुनि कृति गौतमले रजत तथा पुरुष ८४ केजीमाथि डिदम्बरप्रसाद पन्तले कांस्य जितेका थिए । कृतिलाई २० हजार र डिदम्बरलाई १५ हजार नगदसहित सम्मानपत्रद्वारा सम्मान गरियो । प्रतियोगितामा विभिन्न २८ राष्ट्रका ८ सय ३४ खेलाडीको सहभागिता रहेको थियो ।
सोही अवसरमा टोलीका मुख्य प्रशिक्षक राजेन्द्र कपाली, प्रशिक्षकद्वय महेश रञ्जित र देवी पुन, निर्णायक राकेश श्रेष्ठ तथा टोलीको सहभागितालाई प्रायोजन गरेका रामकृष्ण श्रेष्ठ, किसनराज सिंह, अच्यूत लामिछाने र भोलेन्टियर कोप्र्स नेपाललाई पनि प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो ।
उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट र नेपाल ओकिनावा सुरिकेन सोरिन रियो कराते डो संघका अध्यक्ष सञ्जय रञ्जितले नगद तथा सम्मानपत्र प्रदान गरी सम्मान गरेका हुन् ।
प्रतिक्रिया