खेलकुदमन्त्री सुनारद्वारा पूर्वाधारको निरीक्षण

खेलकुदमन्त्री सुनारद्वारा पूर्वाधारको निरीक्षण


युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी निर्माण र मर्मत भइरहेका भौतिक पूर्वाधारको साउन १७ गते बिहीबार निरीक्षण गरेका छन् ।

खेलकुदमन्त्री विश्वकर्माले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, सातदोबाटोस्थित कराते हल, पौडी पोखरी, कन्फ्रेन्स हल, सुटिङ रेन्ज र च्यासलस्थित एन्फा टेक्निकल सेन्टरको निरीक्षण गरेका थिए ।

निरीक्षणका दौरान राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्ट, राखेपअन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्याय र सम्बन्धित निर्माण कार्यमा खटिएका इन्जिनियरले कार्य प्रगतिबारे खेलकुदमन्त्री विश्वकर्मालाई जानकारी गराएका थिए ।

सो अवसरमा खेलकुदमन्त्री विश्वकर्माले विगतमा पनि निर्माणकार्यको प्रगतिबारे जानकारी लिँदै आएको र हालको कामको प्रगति आसलाग्दो हिसाबले अगाडि बढेको बताउदै १३औँ साग सारा नेपाली र सिंगो राष्ट्रको प्रतिष्ठा र गौरवसँग जोडिएको विषय भएकोले चलिरहेको निर्माणकार्यलाई अझ तीव्र गतिमा बढाएर समयमै सम्पन्न गर्ने दिशामा अगाडि बढ्न आवश्यक रहेको बताए ।