इन्द्रेणी

इन्द्रेणी


indreniकेही उन्मुक्तकहरू
– रामेश्वर राउत मातृदास
दाह्रा किट्छ मुड्की बटार्छ खाउँलाझैँ‘ गर्छ काँच्चै
रूप रङ्ग मान्छेजस्तो राक्षसकै छ स्वभाव साँच्चै
कसले पठायो कहाँबाट आयो के–के गर्छ होला यो ?
आँधी ल्यायो पैह्रो लडायो किचिनेछ पैह्रोले यो क्याच्चै

घाँटीमा के झुन्ड्याएको थियो टाईको टालो
गजधुम्म गम्किहाल्यो उखरमाउलेको सालो
सर्र्वोन्नत सृष्टि ताज आफ्नो टोपी लत्याएर,
षड्यन्त्र, बेइमान र घातकी भएको छ यो निष्पट्ट कालो

न भाउ छ हाम्रो न मूल्य
ज्युँदै छौँ तर मरेतुल्य
हुतिहारै त थिएनौँ हामी,
सर्मनाक शिर झुकिरहेको छ कुलङ्गारहरूको भूलले

नेपाली अनुहारबाटै नेपाल र नेपालीको सर्वनास गर्ने
नेपाली अनुहारबाटै नेपाल र नेपालीको सार्वभौम अस्तित्व हर्ने
ए… ज्युँदा नेपाली हो निर्भीकतापूर्वक छाती खोलेर बोलौँ,
के यो घनघोर अन्याय चुपचाप सहेर जिम्दै मर्ने ?

देशको सर्वाधिकार निरशंस विध्वङ्स गरिएको छ जो
के यो देश केही कलमुन्टे पुङ्माङहरूको मात्रै हो त यो ?
हे कृष्ण ! लौ न यी कंसहरूको उखरमाउलो खपिनसक्नु भयो,
जनार्दनको भेषमा अवतरित भएर न्याय बचाउने बेला यही हो ।
– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुलीबस्ती

जाली नेता
– मातृकादेवी भण्डारी

संविधान आउला भन्दै जनता मरे आसैमा,
जाली नेता संसद् हलैमा ।
आज भन्दै भोलि भन्दै हुकुम मात्रै चलाउने
कहिल्यै दिन आएन है जनता रमाउने !
बन्दैन कि संविधान सरकार छैन डेगिलो
यिनले अब पार्ने हुन् कि देशै धमिलो ?!
कोही चढ्छन् चिल्ला गाडी, कोही एसी महलमा
दु:खी जनता सधैंभरि तातो बगरमा !
कति काख रित्तो भयो कति सिन्दुर पुछियो
देशकै लागि भन्दै कैयौँ सन्तान लुटियो ।
मत होइन भ्रष्टलाई कुर्सीबाटै हटाइदिऊँ
टिकट काटी असत्तीलाई देश नै कटाइदिऊँ !
संविधान आउला भन्दै जनता मरे आसैमा,
जाली नेता संसद् हलैमा ।।