कलाकर्मीलाई चुनावको रन्को

कलाकर्मीलाई चुनावको रन्को


funtimeमङ्सिर ४ गते चुनाव हुन्छ–हुँदैन ? अझै केही भन्न सकिने अवस्था छैन । तर पनि चुनावको माहोल र रन्को भने यतिबेला व्यापक नै छ । त्यसमाथि यसपटकको चुनावदेखि ‘सेलिबे्रटी’हरू पनि यसतर्फ आकर्षित हुन थालेपछि त्यो समाचारले बजार भने गर्माएको छ ।
प्रत्यक्ष वा समानुपातिक दुवैमा कुनमा उठ्ने वा कसरी आफ्नो प्रभाव बलियो पार्नेजस्ता कलाकारले चुनावका लागि दिएको चासोले साँच्चै कलाकारिता क्षेत्रतर्फ पनि तरङ्ग पैदा गरेको छ । अहिलेसम्मको लेखाजोखा गर्दा नायिका रेखा थापा, नायक भुवन केसी, निर्माता उद्धव पौडेल, निर्माता रमेशजंग रायमाझी अनि निर्माता तथा नायक रोज राणाको नाम चर्चामा छ । टिकट पाउनका निम्ति दौडधुपमा लागेका यी चलचित्रकर्मीमध्ये रेखा एमाओवादी, उद्धव पौडेल राप्रपा (नेपाल), भुवन केसी एमाले र रमेशजंग रायमाझी अनि रोज राणा नेपाली काङ्गे्रसबाट चुनावमा उठ्दै छन् । भुवनले काठमाडौं ताकेका छन् भने रेखा र रमेशजंग रायमाझीले आफ्नै क्षेत्र विराटनगर रोजेका हुन् । यसैगरी उद्धव पौडेलले काठमाडौं ताकेका छन् भने रोज राणाले आफ्नै गृहनगर प्युठान छानेका छन् । आ–आफ्नो क्षेत्र र गृहनगरबाट चुनावमा उठ्दा बलियो हुने आशा र विश्वास यतिबेला यिनीहरूमा छ ।
चुनावमा यी सेलिबे्रटीहरू संलग्न हुन थालेको चर्चाले बजार तातिए पनि कुनै कुनामा भने चुनाव हुने हो कि होइन भन्ने डर पनि यिनीहरूमा छ । सबै काम र प्रभाव छाडेर चुनावतिर होमिएला, यता चुनाव नहोला । यसो भएमा त आपत परिहाल्छ नि एउटा कुनामा यो डर पनि छ यिनीहरूमा ।
राप्रपा नेपालमा हालै मात्र प्रवेश गरेका चलचित्र निर्माता उद्धव पौडेलले आफू अब पूर्ण रूपमा राजनीतिमा लाग्न लागेको जनाउ पनि दिइसकेका छन् । त्यसकारण पनि उनले गोपीकृष्ण हल, एफएम र टेलिभिजनको रेखदेख गर्ने जिम्मा आफ्ना सन्तानलाई सुम्पेपछि पूर्ण रूपमा पौडेल राजनीतिमा लागेको स्पष्ट भएको छ । राप्रपा नेपालमा प्रवेश गर्नासाथ केन्द्रीय सदस्य पाएका पौडेल कुनै समय राष्ट्रिय पञ्चायतको समयमा उपप्रधानपञ्च पनि भइसकेका छन् ।
यता नायिका रेखा थापा पनि एमाओवादीबाट प्रत्यक्ष रूपमा चुनाव उठ्ने तयारीमा छिन् भने निर्माता रमेशजंग रायमाझी र रोज राणाको तयारी पनि अन्तिम चरणमा नै पुगेको छ । दुवै नेपाली काङ्गे्रससँग आबद्ध पुराना चिरपरिचित अनुहार हुन् । भर्खरै मात्र एमालेमा प्रवेश गरेका नायक भुवन केसी त समातुपातिकबाट आफू नजाने कुरा बताउँछन् । ‘त्यसमा त आफ्नो अस्तित्व नै हुँदैन,’ यसै भन्छन् उनी । ‘हाम्रो मान राख्ने र हामीलाई विश्वास गर्ने हो भने प्रत्यक्ष रूपमा नै टिकट दिनुपर्छ,’ यसै भन्छन् भुवन ।
अभिनेता राजेश हमाल र हास्य कलाकारद्वय मदनकृष्ण र हरिवंशलाई पनि आफ्नो पार्टीमा प्रवेश गराउन पार्टीहरू खुबै लागिपरेको समाचार नआएका होइनन् । तर दल, पार्टी र कार्यकर्ताभन्दा माथि रहेका यी तीन हस्ती भने अहिले पार्टीमा प्रवेश गरिहाल्ने अनि चुनावमा उठिहाल्ने मनस्थितिमा भने देखिँदैनन् । ‘भविष्यमा के हुन्छ भन्न सकिन्न, तर अहिले होइन, पछि हुन्न भनेर इन्कार पनि गर्न सकिन्न,’ महानायक राजेश हमाल यसै भन्छन् ।
कलाकारहरूको क्रेज, महत्व अनि चर्चालाई बुझेर पार्टीहरूले स–सम्मान टिकट दिन खोजेको र साँच्चै जिम्मेवारी बनाउन खोजेको हो भने यसको अवमूल्यन गर्नु पनि हुँुदैन । तर, कलाकारहरूको क्रेजलाई छोटो समयका लागि प्रयोग गरेर पार्टीले आफ्नो स्वार्थ पूरा गर्न लागेको हो भने यसतर्फ कलाकारहरू सचेत हुनैपर्छ । नत्र पछि यता न उता भइयो के गर्ने ?

पति त्यागेकी रञ्जनालाई अमेरिका टोक्नु न बोक्नु
कलाकारिता प्रस्तुत गर्न अमेरिका पुग्ने अधिकांश नेपाली कलाकारको एउटै सपना हुन्छ– ग्रिनकार्ड हात पार्ने । प्रायशको यो सपना पूरा पनि भएको छ । कलाकारिता त वहाना मत्र हो उनीहरूको । आयोजकले पनि कार्यक्रमको वहानामा कलाकारसँग मोटो रकम लिएर अमेरिका पु-याउने गरेको सत्यता पनि अब लुक्न छाड्यो । नेपालबाटै जाँदा ग्रिनकार्ड हात पार्ने सपना संगालेका कलाकारमध्ये अधिकांशको सपना पूरा भएको छ । तर, अहिले एउटी नायिकालाई भने आफ्नो त्यो सपना पूरा नभएपछि अमेरिका टोक्नु न बोक्नु भएको छ । उनी हुन्– रञ्जना शर्मा । नेपालमा राम्रा सिनेमा पाए तापनि काम राम्रो गर्न नसकेपछि बेरोजगार हुने अवस्थामा पुगेकी थिइन् उनी । त्यति नै बेला केही लाख खर्च गरेर अमेरिका जाने अवसर आएपछि त्यसमा सहमति जनाइन् उनले र अमेरिका पनि पुगिन् । उनी अमेरिका गएको लगभग तीन वर्ष भइसक्यो । उनीसँगै अमेरिका पुगेका केही कलाकार ग्रिनकार्ड हात पारेर नेपाल–अमेरिका अनि अमेरिका–नेपाल गर्न थालेका छन् । तर, रञ्जनाले हजारौँ डलर खर्च गर्दा पनि ग्रिनकार्ड हात पार्न सकिनन् । तीनपटकसम्म ग्रिनकार्डका लागि प्रयास गर्दा पनि कार्ड हात पार्न नसकेपछि अब उनी गैरकानुनी रूपमा अमेरिकामा बस्न बाध्य भएकी छिन् । अब नेपाल फक्र्यौं भने ‘ओभर स्टे’का कारण जिन्दगीभर अमेरिकामा जान पाइन्न, अमेरिका बसौँ भने बसुञ्जेलसम्म डराइडराई गैरकानुनी रूपमा कति बस्नु ? यस्तै पीडा र तनावमा छिन् रञ्जना ।
रञ्जनालाई ग्रिनकार्डका लागि सहयोग गर्ने नेपाली वकिल विनोद रोक्काले पनि बिनापारिश्रमिक सहयोग गरेका हुन् । उनले कानुनी लडाइँ लडेका अन्यको ग्रिनकार्ड सजिलै भएको छ । रञ्जनाको नहुनुमा उनी पनि चकित परेका छन् । नेपाली समाजबीच राम्रो कहलिएका र उपस्थिति जनाएका विनोद रोक्का आफूले पनि बुझ्न नसकेको कुरा बताउँछन् ।
यतिबेला अमेरिका टोक्नु न बोक्नु भएको छ रञ्जनालाई । जिन्दगीभर गैरकानुनी रूपमा उतै बस्ने कि अब नेपाल फर्कने के गर्ने ? दोधारमा रहेकी रञ्जना धनका कारण सुखी भए तपानि मनले भने खुसी देखिन्नन् ।