अब नेपालमै भलिबल लेभल टु कोचिङ कोर्स

अब नेपालमै भलिबल लेभल टु कोचिङ कोर्स


राष्ट्रिय खेल भलिबलको लेभल टु कोचिङ कोर्स काठमाडौंमा शुरु भएको छ । पाँचदिने विशेष कोर्स नेपालमा पहिलोपटक आयोजना भएको हो । काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मालगायतले प्रशिक्षण शिविरको उदघाटन गरेका थिए ।

उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै ओलम्पिक कमिटीका अध्यक्ष सांसद श्रेष्ठले भलिबल राष्ट्रिय खेल भएका कारण यसको विकास र विस्तारमा सबैको ध्यान केन्द्रित हुनुपर्ने धारणा राखे । ‘भलिबलको विकास संघको मात्र चासोको कुरा होइन, यो आमनेपालीको गौरवको विषय हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘राष्ट्रिय खेलको विकास गर्नु हाम्रो दायित्व पनि हो ।’

नेपालमा स्तरीय प्रशिक्षकहरूको उत्पादन बढाउनका लागि पहिलोपटक लेभल टु कोर्स आयोजना गरिएको नेपाल भलिबल संघले जनाएको छ । नेपालमा लेभर टु कोर्स पूरा गरेका प्रशिक्षक अहिलेसम्म पाँचजना मात्र छन् ।

भलिबल संघका महासचिव जितेन्द्र चन्दले कोर्स पूरा गर्नका लागि विदेश जाँदा धेरै खर्च लाग्ने भएकाले फेडेरेसन अफ इन्टरनेसनल भलिबल एफआईभीको सहकार्यमा नेपालमै पहिलोपटक यस कार्यक्रम आयोजना गरिएको जानकारी दिएका थिए ।

कोर्समा नेपालबाट १६, भारतबाट २ र सिरियाबाट १ प्रशिक्षार्थी प्रशिक्षकको सहभागिता छ । उनीहरूलाई एफआईभीका कोर्स डाइरेक्टर डच नागरिक लास डे डी जोङ र प्रशिक्षक दामिर कोलोले प्रशिक्षण दिइरहेका छन् ।