थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक युनिभर्सिटी थाइल्यान्ड जुडो च्याम्पियनसिपका पदकविजेतासहितको नेपाली टोलीलाई नेपाल जुडो संघले स्वागत गरेको छ । टोलीलाई जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य, महासचिव धर्मकुमार श्रेष्ठ, कोषाध्यक्ष विपिन श्रेष्ठलगायतका पदाधिकारी, खेलाडी, प्रशिक्षकले स्वागत गरेका थिए ।
अगस्ट ४ र ५ तारिखमा भएको प्रतियोगितामा नेपालले २ स्वर्ण, १ रजत र १ कांस्य पदक जितेको थियो । प्रतियोगितामा नेपाल समग्रमा तेस्रो भयो । आयोजक थाइल्यान्ड ७ स्वर्णसाथ टिम च्याम्पियन बन्यो भने जापान २ स्वर्ण र ३ रजतसाथ तेस्रो स्थानमा रह्यो । प्रतियोगितामा १४ राष्ट्रका १ सय पुरुष र ६९ महिला खेलाडीले १६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र महिला ५७ केजीमुनि मनिता श्रेष्ठ प्रधानले नेपाललाई स्वर्ण दिलाएका थिए । १५ प्रतिस्पर्धी सहभागी स्पर्धामा इन्द्रले ४ खेलाडीलाई पराजित गरेका थिए । उनले थाइल्यान्डका २ तथा यूएई र जापानका खेलाडीलाई हराएका थिए । ११ खेलाडी सहभागी महिला ५७ केजीमुनि मनिताले भियतनाम, सिंगापुर, मलेसिया र थाइल्यान्डका खेलाडीलाई पराजित गरेकी थिइन् ।
महिला ७८ केजीमुनि पुनम श्रेष्ठले रजत जितिन् । पुनमले लाउसकी खेलाडीलाई पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । फाइनलमा पुनम थाइल्यान्डकी खेलाडीसँग पराजित भएकी थिइन् । त्यस्तै महिला ५२ केजीमुनि देविका खड्काले कांस्य हात पारिन् । गत संस्करणमा नेपालले उक्त प्रतियोगितामा २ कांस्य जितेको थियो । इन्द्र र उमेश मगरले कांस्य हात पारेका थिए ।
प्रतिक्रिया