पोखरामा प्रथम खुल्ला पुरुष बिचभलिबल प्रतियोगिता २०७५ हुने भएको छ । कास्की जिल्ला भलिबल संघको आयोजनामा हुने बिचभलिबलका लागि तयारी तीव्र पारिएको आयोजक कास्की जिल्ला भलिबल संघले जनाएको छ ।
पोखरा फेवातालको किनार बाराही घाटमा यही भदौ १ देखि ३ गतेसम्म भएको प्रतियोगितामा २५ टिमभन्दा बढीको सहभागिता रहने संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिएका छन् ।
प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई नगद क्रमशः नगद ३० र २० हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगितामा टिम दर्ताका लागि साउन ३० गतेसम्म समय तोकिएको छ ।
पोखरालाई खेलकुदमार्फत पर्यटन प्रवद्र्धन गर्न तथा बिचभलिबलका खेलाडी उत्पादनलाई समेत मध्यनजर गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष पराजुलीले बताए । कुल ४ लाख ८५ हजार खर्च लाग्ने प्रतियोगितालाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, कास्की जिल्ला खेलकुद विकास समिति, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलगायतका संघसंस्थाहरूले सहयोग गर्ने भएका छन् भने प्रतियोगिताको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ ।
१३औँ दक्षिण एसियाली खेलकुद (साग) मा समेत पोखरामा बिचभलिबलका तयारी भइरहेको नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष एवम् कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम गुरुङले बताए । ‘हामीलाई १३औँ सागका लागि तयारी गर्नुपर्ने अवस्था छ र यो प्रतियोगिताले त्यसका लागि सहयोग पुग्नेछ,’ अध्यक्ष गुरुङले भने ।
प्रतिक्रिया