नेपाल आर्मीका रुविना खड्का र चाउची डंगोलले आईटीएफ वर्ष उत्कृष्ट खेलाडीको उपाधि जितेका छन् । नेपाल इन्टरनेसनल तेक्वान्दो (आईटीएफ)को २१औँ स्थानपना दिवसका अवसरमा आयोजित वर्ष खेलाडी अवार्ड कार्यक्रममा खड्का र डंगोललाई पुरस्कृत गरिएको हो ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य बद्री अधिकारी, अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिवकुमार कोइराला, नेपाल आईटीएफका अध्यक्ष अन्जन धमलालगायतले उत्कृष्ट खेलाडीलाई सम्मान गरेका थिए ।
दुवै सम्मानित खेलाडीले सर्लाहीमा सम्पन्न सिनियर राष्ट्रिय आईटीएफ प्रतियोगिता र १५औँ सिनियर तथा ९औँ राष्ट्रिय आईटीएफ प्रतियोगितामा स्वर्ण पदक जितेका थिए । त्यस्तै, हालै नेपालमा सम्पन्न आठ राष्ट्रको सहभागिता रहेको साउथ एसियन तथा आमन्त्रित अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रुविनाले ३ स्वर्ण जितेकी थिइन् भने चाउचीले २ स्वर्ण जितेका थिए ।
त्यस्तै उत्कृष्ट प्रशिक्षकको उपाधि भक्तपुरका आशिष कार्कीले जिते । साउथ एसियन प्रतियोगितामा नेपाललाई टिम च्याम्पियन बनाउँदा उनले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । काभ्रे जिल्ला आईटीएफ संघले उत्कृष्ट जिल्लाको उपाधि हात पारेको थियो । पुरस्कृत सबैले नगद ५ हजार र सम्मान पत्र प्राप्त गरे ।
नेपाल आईटीएफ संघमा योगदान दिने व्यक्तित्वहरूलाई पनि संघले सम्मान गरेको छ । नेपाल आईटीएफका संस्थापक अध्यक्ष राजकुमार थापा, नेपाल मार्सल आर्टस् गेम्स कमिटीका अध्यक्ष एवम् नेपाल आईटीएफका उपाध्यक्ष कल्पदीप राई पनि सम्मानित भएका छन् । त्यस्तै दक्षिण एसियाली आईटीएफ महासंघ अनुशासन कमिटीको अध्यक्षमा चयन भएकोमा नेपाल आईटीएफकी महासचिव अञ्जु राउतलाई पनि संघले सम्मान गरेको छ ।
प्रतिक्रिया