राखेप गर्दै छ भ्रमको खेती, चाल्दै छ कदम गैरजिम्मेवार

राखेप गर्दै छ भ्रमको खेती, चाल्दै छ कदम गैरजिम्मेवार


sportओलम्पिक विवाद
नेपाली खेलकुदलाई ‘ओलम्पिक विवाद’को रोगले गाँजेको लामो समय भइसकेको छ । के रोग लागेको हो त्यसको डाइग्नोसिस भइसकेको र औषधिसमेतको जानकारी हुँदाहुँदै पनि चिकित्सकको जिम्मेवारी पाएकाले औषधि दिन नमान्दा समस्या ज्युँका त्युँ रहेको छ । राखेपमा राजनीतिक नियुक्ति लिएर आउनेहरू रोगसँग चिरपरिचित हुँदासमेत खाली नाङ्लो ठटाएर हात्तीलाई तर्साउने कार्य मात्रै गर्दै आएको तीतो सत्य कसैबाट छिपेको छैन । ओलम्पिक विवादको समाधानभन्दा समाधानको निहुँमा कहिले धामी र कहिले बोक्सीको भूमिका निर्वाह गर्दै आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्दै आएका छन् । जुन यद्यपि जारी छ ।
०३४ देखि ०४४ सालसम्म शरदचन्द्र शाहले राष्ट्रिय खेलकुद परिषद्मा एकछत्र राज गरेका थिए । सोही समयमा ओलम्पिक कमिटीको अध्यक्ष बनेका शाहले दरबारको शक्तिलाई पूर्णरूपमा सदुपयोग गर्दै एनओसीलाई विवादमुक्त राखेका थिए । दशरथ रंगशाला काण्डपश्चात् अर्थात् शाहको बहिर्गमनपश्चात् ०४४ सालमा इन्दुबहादुर शाही राखेपको सदस्यसचिव बनेका थिए । शाहीले राखेपको जिम्मेवारी सम्हालेको केही समयपछि पाकिस्तानमा आयोजना भएको चौथो दक्षिण एसियाली खेलकुदमा नेपालको सहभागिताबारे राखेप र एनओसीबीच विवाद चर्केको थियो । यहीँबाट विवादको सूत्रपात भए पनि शाहीले एनओसीको हस्तक्षेपलाई नजरअन्दाज गर्दै परिषद्कै पहलमा उक्त प्रतियोगितामा नेपाली खेलाडीलाई सहभागिता गराएका थिए । शाहीले एनओसीलाई थाङ्नामा सुताउन सफल भएपछि लाज बचाउन एनओसीले आफ्नै तरिकाले अथ्र्याएको थियो । त्यसबेला एनओसीले ओलम्पिक मुभमेन्ट भएका खेल एसियन र ओलम्पिक खेलमा मात्र हुन्छ भन्दै साफ गेममा कुनै भूमिका नरहने भन्दै चोखिएको थियो । स्मरण रहोस्, शाहीको कदमलाई त्यसबेला एनओसीले जसरी अथ्र्याए पनि वर्तमान अवस्थामा साफ गेमकै कारणले राखेप र एनओसीबीच विवाद हुने गरेको छ ।
वास्तविक रूपमा भन्नुपर्दा एनओसीको विवाद ०४६ सालदेखि शुभारम्भ भएको हो । एनओसी यस्तो संस्था हो जसमा एकपटक सत्तासीन भएपछि व्यक्तिले आफूलाई बिर्सन्छ । देश, विदेशको सयर र विदेशबाट प्राप्त हुने सहयोग यसको मूल कारण हो । अझ आर्थिक पारदर्शिताको कुरा गर्दा हिसाबकिताब राखेपलाई देखाउनुपर्दैन । मुलुकको खेलकुदको विकासमा एनओसीको अहम् भूमिका रहने भए पनि सरकारलाई देखाउँदै पन्छिन पाउने भएकाले यो संस्थाप्रति सबैको गिद्देनजर रहँदै आएको छ । ०४६ देखि ०६१ सालसम्म एनओसी यसरी नै सञ्चालन भएको थियो । तर, ०६१–०६२ देखि खेलाडीहरू आफ्नो हकअधिकारका लागि जुर्मुराएपछि साफ, एसियन र ओलम्पिक खेलमा सहभागिता हुनु तीन महिनापूर्व प्रत्येक खेलाडीलाई दैनिक ५० रुपैयाँका दरले एनओसीले डाइड भत्ता प्रदान गरेको थियो । जनआन्दोलनको सफलतासँगै एनओसीका पदाधिकारीहरूको मनस्थितिमा पनि परिवर्तन आएको थियो । त्यसपछि एनओसीले खेलाडीलाई खेल पोसाक, ट्रयाकसुट र पकेटमनीसमेत उपलब्ध गराउन थालेको थियो । योभन्दाअघि पनि यी खेलमा सहभागिताका लागि सहयोग आउँथ्यो तर किन प्रदान गरिएन प्रश्न अझै अनुत्तरित छ । पदाधिकारी किन एनओसीमा कब्जा जमाउँछन् र सर्वोच्च अदालतको निर्णयलाई समेत धोती लगाउँछन्, त्यसै अनुमान लगाउन सकिन्छ ।
०६८ सालमा राखेपको सदस्यसचिवमा युवराज लामा नियुक्त भएपछि ओलम्पिक विवाद टुङ्गिने सबैले आशा नभई विश्वास गरेका थिए । दुर्भाग्य, उनी पनि कानै चिरेका निस्किए । कहिले ध्रुवबहादुर प्रधान त कहिले रुक्मशमशेर राणालाई उचाल्ने र पछार्ने खेलमा लागे । अहिले पनि लामा यही खेलमा लागेका छन् । त्यसो नहुँदो हो त प्रधानको पुच्छर समातेर लामा विदेशको सयर कदापि गर्ने थिएनन् । यहाँ उनले ठूलो भूल गरेकै हुन् । कहिले आफ्नो ठाउँमा अडिग देखिने, कहिले धोती फुस्केको थाहा नपाउने लामाको दोहोरो चरित्रले ओलम्पिक विवाद झन् रहस्यमयी बनेको छ । लन्डन ओलम्पिकको ‘सेद दि मिसन’ प्रस्तावलाई लत्याएका लामाले लन्डन ओलम्पिकको समापनसँगै प्रधानमाथि खनिएका थिए । लामाले राखेप कर्मचारी सङ्घ, राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी सङ्घ, ओलम्पियन सङ्घसँग समन्वय गरी मोबाइल काण्ड र खेलाडीको भत्ताको विषयमा प्रधानको एनओसीको विरुद्धमा अख्तियारमा समेत पत्राचार गरेका थिए । त्यतिले नपुगी प्रधानको विरुद्धमा खेलाडी, पदाधिकारी र कर्मचारीको जुलुस निकाली नगर परिक्रमासमेत गराएका थिए । त्यसपछि सर्वोच्चले मान्यता प्रदान गरेको राणाको ओलम्पिक कमिटीलाई मान्नका लागि परिषद्मा उर्दी जाहेर गरेका थिए । यसपछि किशोरबहादुर सिंहसँग नाइटो जोडेका लामाले तेक्वान्दो भवनको शिलान्यासको अवसरमा ‘झोले’ एनओसीको संज्ञा दिएर राणासँग पनि नाता तोडेका थिए । ०७० वैशाखमा पुन: लामाले सङ्घका पदाधिकारी र कर्मचारीको भेला डाकी अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीलाई मात्र मान्नु भनी निर्देशन दिएका थिए । जुन यद्यपि जारी छ, भोलि कस्तो निर्देशन आउने हो त्यसको प्रतीक्षामा परिषद्का कर्मचारी रहेका छन् । वर्तमान अवस्थामा खेलकुदमन्त्री रामकुमार श्रेष्ठका लागि समेत फलामको चिउरा सावित भएको ‘ओलम्पिक विवाद’को मुद्दा अब कसले समाधान गर्ला त्यो हेर्न लायक भएको छ ।
०७० भदौ १९ गते राखेपले एक दैनिक पत्रिकामा राणाको एनओसीको वैधानिकताबारे सूचना प्रकाशित गर्दै ‘ओलम्पिक विवाद’को आगोमा घ्यू थप्ने कार्य गरेको छ । एनओसीको सम्बन्धमा राखेपले सूचना प्रकाशित गर्नु कानुन सङ्गत छ कि छैन त्यो भविष्यमा अवश्य थाहा होला । तर, राखेपले सूचना प्रकाशित गर्ने कानुनी हैसियत राख्छ भने किन सर्वोच्चले गरेको निर्णय अहिलेसम्म कार्यान्वयन गर्न सकेको छैन, अहम् प्रश्न बनेको छ । प्रकाशित सूचनामा सम्मानित सर्वोच्च अदालतबाट मिति ०६७–६–१८ को फैसलाबाट आधिकारिकता प्रदान गरिएको एनओसीले कार्य गरेको नपाइएकाले भनिएको छ । आश्चर्यलाग्दो कुरा के छ भने सर्वोच्चको फैसलापछि राखेप र मन्त्रालयलाई फैसलाअनुसार कार्यान्वयनका लागि आधिकारिकता प्रदान एनओसीलाई कार्य गर्न लगाउनु भनी पठाएको पत्र कहाँ राखेको छ र यो सूचना प्रकाशित गरियो त्यो बुझ्न सकिएको छैन । सर्वोच्चको फैसलाबारे परिषद् र मन्त्रालयलाई अवश्य जानकारी छ । सो फैसलाअनुरूप परिषद्मा दर्ता भइराख्न तथा परिषद्ले लगतमा राख्नुपर्ने आवश्यक छैन भनी सर्वोच्चले फैसला दिएको छ । यस्तो फैसला हुँदाहुँदै साधारणसभा र निर्वाचन गर्नेबारे राखेपले सूचना प्रकाशित गर्नु कत्तिको नियमसङ्गत हुन्छ सोझै अनुमान लगाउन सकिन्छ । एनओसी आफ्नो विधान र चार्टबमोजिम चल्ने संस्था भएकाले परिषद्सँग आबद्ध नभए पनि फरक पर्दैन । उदारहणका लागि प्रधान एनओसी ज्वलन्त उदाहरण हो ।
एनओसीलाई विवादित बनाउँदा कसलाई फाइदा हुन्छ त्यो राखेपले राम्रोसँग बुझेको छ । अन्यथा राखेपले राणा अध्यक्ष रहेको एनओसीलाई ३५ दिने सूचना कदापि प्रकाशित गर्ने थिएन । दुई–तीन वर्षदेखि कुनै काम नगरेको भन्दै ३५ दिनभित्र निर्वाचन गराउनु अन्यथा दफा १७ र १८ लगाएर कारबाही गर्ने जनाएको छ । के छ त दफा १७ र १८ मा त्यो आम चासोको विषय बनेको छ । खेलकुद विकास ऐन ०४८ को दफा १७ बमोजिम खेलकुदसम्बन्धी संस्थाले हिसाबको स्रेस्ता राख्नुपर्ने उल्लेख गरिएको छ । त्यस्तै, दफा १८ मा परिषद्ले निर्देशन दिने र लगतबाट नाम कट्टा गर्न सक्ने उल्लेख छ । यसैगरी दफा २७, २८ र २९ प्रयोग गर्ने राखेपले जनाए पनि उक्त दफाहरू परिषद्का कर्मचारीका लागि मात्रै सम्बन्धित छ । तसर्थ अहिले प्रश्न तेर्सिएको छ– के उद्देश्य र प्रयोजनका लागि राखेपले यो सूचना प्रकाशित गरेको हो त्यो बुझ्न सकिएको छैन । त्यस्तै, परिषद्ले सूचना प्रकाशित गरेअनुरूप राणाको एनओसीले निश्चित समयमा निर्वाचन गर्ने कुनै आधार देखिँदैन । त्यो राखेपले सोचेअनुरूप सरल र सहज पनि छैन । यो सबैले बुझेको कुरा पनि हो । आमनागरिकलाई राखेपको यो सूचनाले पक्कै गुमराहमा पार्ने देखिए पनि सम्बन्धित व्यक्तिहरूका हकका लागि राखेपको यो कार्य हास्यास्पद बनेको छ । परिषद्ले बुझेर पनि बुझ पचाएको कुरा के हो भने सर्वोच्चद्वारा मान्यता प्राप्त एनओसीलाई न त परिषद्को ऐन–नियम न त नेपाल सरकारको ऐन–नियम तथा न त ओलम्पिक चार्टरले काम गर्न दियो । तसर्थ आफँै काम गर्न नदिने फेरि काम नगरेको भन्दै कारबाहीका लागि सूचना प्रकाशित गर्नुको अर्थ के हो ? मुद्दा पेचिलो बन्दै गएको छ । अब प्रश्न उठ्छ, ३५ दिनभित्र निर्वाचन नगराए राणाको एनओसीलाई राखेपले कुन नियम–कानुनको हैसियतमा कारबाही गर्ने ? कसरी दफा १७, १८, २७, २८, २९ लगाउने ? साँचो रूपमा भन्नुपर्दा सूचनामा उल्लेख गरिएका दफा एनओसीसँग नै सम्बन्धित छैनन् । अनि कुन दफाले कारबाही गर्ने ? यसका बाबजुद पनि एउटा सत्य कुरा के हो भने अदालतले मान्यता प्रदान गरे पनि राणाको एनओसी सडकको शालिक बनेको थियो । उसले दुई तीन वर्ष त्यस्तै बितायो । खेलकुदको विकासका लागि एउटै कदम पनि चालेन । यदि उसले काम गर्न चाहेको भए खाने मुखलाई जुँगाले छेक्ने थियो र ?

खेल समाचार

विश्व शान्तिका लागि कार्कीको दौड
‘बालबालिकाको कुरा सुनौँ, बाल दुव्र्यवहार अन्त्य गरौँ’ भन्ने नेपाल बाल सङ्गठनको नारालाई सबैले आत्मासात् गरून् भनी सन्देश प्रवाह गर्नु र विश्व शान्तिको कामनासहित लामो दूरीका धावक रामसुन्दर कार्कीले काठमाडौं–दोलखा दौड यात्रा सुरु गरेका छन् । ललितपुरको गोदामचौर गाविस– ४, गोदावरी निवासी ४० वर्षीय कार्कीले चुच्चेपाटीस्थित केएल टावरबाट दौड प्रारम्भ गरेका थिए । खाडीचौरमा पुगेर कार्कीको पहिलो दिनको दौड टुङ्गिएको थियो भने दोस्रो तथा अन्तिम दिन दोलखाको चरिकोट बजरमा पुगेपछि कार्कीको दौड समाप्त भएको थियो । । त्यस दौरान कार्कीले करिब एक सय ४५ किलोमिटर दूरी तय गरेका थिए । कार्कीलाई सफलताको शुभकामना दिँदै दौडको मुख्य प्रायोजक केएल टावरका म्यानेजिङ डाइरेक्टर सुन्दरकुमार श्रेष्ठ, टावरका जनरल म्यानेजर गणेश ढुङ्गाना, टावरअन्तर्गत व्यापार सङ्घका अध्यक्ष जुबु गुरुङ, दौडका संयोजक राज कक्षपतिलगायतले बिदाइ गरेका थिए ।
त्यस अवसरमा म्यानेजिङ डाइरेक्टर श्रेष्ठले गौरीशंकर बालगृह, चरिकोटलाई टावरको तर्फबाट प्रदान गरिने १५ हजार रुपैयाँको आर्थिक सहयोगबराबरको चेक सम्बन्धितलाई हस्तान्तरण गर्ने गरी कार्कीलाई प्रदान गरेका थिए । कार्कीको दौडका लागि राष्ट्रिय खेलकुद परिषद्, ललितपुर बाल सङ्गठन, अल्का अस्पताल, नमस्ते नेपाल बहुउद्देश्यीय सहकारी संस्था, ललितपुर जिल्ला विकास समिति तथा डब्लुडब्लुडब्लुडट न्युहोपनेपाल डटकमले पनि सहयोग गरेको बताइएको छ ।

जीपी कोइराला करातेमा लैनचौर अगाडि
आयोजक नेपाल सितोरियो कराते सङ्घ, शाखा डोजो लैनचौरले तेस्रो गिरिजाप्रसाद कोइराला स्मृति जुनियर राष्ट्रिय खुला कराते प्रतियोगिताको उपाधि जितेको छ । लैनचौरले १३ स्वर्ण, पाँच रजत र नौ कास्य हात पारेको थियो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगितामा पाँच स्वर्ण, दुई रजत र ६ कास्यका साथ न्यु लिरा दोस्रो भयो । तेस्रो स्थानमा रहेको मानसिंह डोजोले तीन स्वर्ण, दुई रजत र आठ कास्य प्राप्त गरेको थियो । दुईदिने प्रतियोगिताका विजेतालाई नेपाली काङ्ग्रेसका सदस्य नारायण खड्कालगायतले पुरस्कार प्रदान गरेका थिए ।

चिल्ड्रेन मोडल टिम च्याम्पियन
चिल्डे«न मोडल स्कुल चौथो न्युटन गोजुकाई कराते प्रतियोगिताको टिम च्याम्पियन भएको छ । उसले ६ स्वर्ण, पाँच रजत र पाँच कास्य पदक प्राप्त गर्दै उक्त उपाधि प्राप्त गरेको हो । तीन स्वर्ण, एक रजत र एक कास्यका साथ भ्याली पब्लिक दोस्रो र एक स्वर्ण, तीन रजत र तीन कास्य पदकका साथ आयोजक न्युटन स्कुलले तेस्रो
स्थान प्राप्त गरेको थियो । आयोजकको आफ्नै प्राङ्गणमा सम्पन्न दुईदिने प्रतियोगिताका विजयी खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका सदस्य पुरेन्द्रविक्रम लाखे, नेपाल कराते महासङ्घ रेफ्री काउन्सिलका सचिव राम लामा, गोजुकाई कराते सङ्घका उपाध्यक्ष अशोककुमार पाण्डेलगायतले पुरस्कार वितरण गरेका थिए ।

सङ्कटाको अध्यक्षमा इन्द्रमान
सङ्कटा क्लबको ६२औँ साधारणसभाले इन्द्रमान तुलाधरलाई अध्यक्षमा चयन गरेको छ । तीनवर्षे कार्यकालका लागि चयन भएका तुलाधरको नेतृत्वमा ११ सदस्यीय कार्यकारी समिति गठन गरिएको छ । उक्त कार्यसमितिको उपाध्यक्षमा रमेशध्वज बस्नेत र रजतमान तुलाधर रहेका छन् । त्यस्तै महासचिवमा सुरेन्द्र सिखाकार, कोषाध्यक्षमा गौतम डङ्गोल, सचिवमा रमेशमान तुलाधर, सहकोषध्यक्षमा राम सुवाल निर्विरोध चयन भएका छन् । यसैगरी निर्वाचन कार्यसमितिले चन्द्रमान तुलाधर र सानुकाजी डङ्गोललाई सदस्यमा नियुक्ति गरेको छ भने जुजुकाजी डङ्गोललाई फुटबलको व्यवस्थापकमा चयन गरेको छ ।

राष्ट्रिय जुडोमा काठमाडौंलाई उपाधि
१२औँ राष्ट्रिय जुडो प्रतियोगिताको टिम इभेन्ट्समा काठमाडौंले पुरुषतर्फ स्वर्ण जितेको छ । नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतिस्पर्धामा सरोज महर्जन, रमेश मगर, मोहन सुनार, दीपककृष्ण श्रेष्ठ र सन्जय महर्जन सम्मिलित टिमले काठमाडौंलाई प्रतियोगिताको छैटौँ स्वर्ण दिलाएका हुन् । प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले दोस्रो स्थान हात पार्दा नेपाल आर्मी क्लबले तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो ।
उता टिम इभेन्ट्सको महिलातर्फ भने नेपाल पुलिस क्लबले स्वर्ण जित्यो । पुलिसको टिममा सीता चौधरी, राधादेवी राई, सुशीला अधिकारी, प्रमिला खड्का र इन्दिरा राईले प्रतिस्पर्धा गरेका थिए । महिला टिम इभेन्ट्समा काठमाडांैले दोस्रो स्थान हात प-यो भने बाँके तेस्रो भयो ।
प्रतियोगिताको पुरुषतर्फको उत्कृष्ट खेलाडी ७३ केजीमुनिका नेपाल पुलिस क्लबका प्रकाश नेपाली घोषित भए । महिलतर्फ ४८ केजीमुनिकी खेलाडी नेपाली आर्मीकी लीला अधिकारी उत्कृष्ट ठहरिन् ।
नेपाल जुडो सङ्घद्वारा आयोजित प्रतियोगितामा ललितपुरका खेलाडी दिवाकर बस्नेत इप्पोनमा उत्कृष्ट भए । महिलामा उक्त उपाधि पुलिस क्लबकी सुशीला अधिकारीले जितिन् । उत्कृष्ट घोषित भएका चारै खेलाडीले जनही एक–एक हजार नगद पुरस्कार हात पारे ।
तीनदिने प्रतियोगितामा ६ स्वर्ण, चार रजत र एक कास्य गरी कुल ११ पदक जित्दै काठमाडौंले पहिलो स्थान कब्जा गर्न सफल भयो । दोस्रो स्थान हात पारेको नेपाल पुलिस क्लबले पाँच स्वर्ण, दुई रजत र दुई कास्य गरी नौ पदक जितेको थियो । नेपाल आर्मीले दुई स्वर्ण, तीन रजत र तीन कास्य गरी आठ पदक जित्दै तेस्रो स्थानमा रहन सफल भयो । नेपाल जुडो सङ्घद्वारा आयोजित तीनदिने प्रतियोगितामा १७ जिल्ला, तीन विभागीय टोली प्रहरी, एपीएफ र नेपाली सेनाका एक सय ५६ खेलाडीले सहभागिता जनाएका थिए । जसमा ९३ पुरुष र ६३ महिला छन् । १४ व्यक्तिगत र दुई टिम गरी कुल १६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

लिङ्कनलाई पौडी उपाधि
लिङ्कन स्कुलले १४औँ एलए अन्तरविद्यालय पौडी प्रतियोगिताको उपाधि जितेको छ । लिङ्कनले कुल एक सय ७६ अङ्क जोड्दै चौथोपटक च्याम्पियन बन्न सफल भएको हो । सातपटकको विजेता आयोजक लिटिल एन्जल्स (एलए) स्कुल एक सय १२ अङ्कसाथ दोस्रो भयो भने तेस्रो स्थानमा रहेको हिम्सले ३८ अङ्क बटुलेको थियो । प्रतियोगिताको गल्र्सतर्फ लिङ्कनकी सोफिया शाहले दुई रिले र पाँच व्यक्तिगत स्पर्धामा गरी जम्मा सात स्वर्ण जितिन् । अन्तिम दिन सोफियाले १५ वर्षमाथि गल्र्सको ५० मिटर ब्रेस्टस्ट्रोक ३७.२९ सेकेन्ड र ५० मिटर फ्रिस्टायल २९.५५ सेकेन्डमा पूरा गरी स्वर्ण जितिन् । गल्र्स खुलातर्फ चार गुणा ५० मिटर फ्रिस्टायल रिलेमा पनि सोफिया सम्मिलित लिङ्कन टोलीले स्वर्ण जितेको थियो ।
हात्तीवनस्थित एलएको पौडीपोखरीमा सञ्चालित प्रतियोगितामा हिम्सका मनीष चित्रकारले १५ वर्षमाथि ब्वाइजको ५० मिटर ब्याकस्ट्रोक ३४.३४ सेकेन्ड र ५० मिटर फ्रिस्टायल २७.३४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका थिए । योसहित प्रतियोगितामा मनीषले कुल पाँच स्वर्णमाथि कब्जा जमाए । लिङ्कनकी ओशिना भारतीले १३–१४ वर्षको गल्र्स एक सय मिटर व्यक्तिगत मिड्लेमा एक मिनेट २१.७९ सेकेन्ड, ५० मिटर ब्याकस्ट्रोकमा ३८.७४ सेकेन्ड तथा ५० मिटर फ्रिस्टायलमा ३३.२७ सेकेन्ड समय खर्चंदै स्वर्ण हात पारिन् । सोफियाले स्वर्ण जितेको रिलेमा पनि ओशिना समावेश थिइन् । अन्तिम दिन आ–आफ्नो स्पर्धामा होली गार्डेनका देवेश मानन्धरले तीन, एलएका तेन्जिङ डोमा शेर्पाले दुई तथा लिङ्कनका एलेक्स शाहले दुई स्वर्ण हात पारेका थिए । दुईदिने प्रतियोगितामा ४९ विद्यालयका तीन सय २४ प्रतिस्पर्धीले ४० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

एपेक्स ‘ए’लाई फुटसल उपाधि
एपेक्स ‘ए’ ले प्रथम अन्तरकलेज छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ । ठमेलस्थित जीएए हलको फुटसल एरिनामा भएको फाइनलमा एपेक्सले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ९–५ गोलअन्तरले पराजित गरेकोे थियो । साइपाल एकेडेमीले ज्ञानकुञ्जलाई हराउँदै तेस्रो स्थानमा चित्त बुझायो । शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमश: ४० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे । एजे इन्टरनेसनल प्रा.लि.द्वारा आयोजित प्रतियोगितामा एपेक्स ‘ए’का प्रमेश कार्की उत्कृष्ट खेलाडी तथा ज्ञानकुञ्जका समीर खान उत्कृष्ट रक्षक घोषित भए । प्रतियोगिताभर नौ गोल गरेका साइपालका नवीन लामा सर्वाधिक स्कोरकर्ता बने । भदौ २५ देखि सुरु प्रतियोगितामा २४ टिमको सहभागिता रहेको आयोजकका प्रमुख कार्यकारी अधिकृत निशान्त खेडियाले जनाएका छन् ।
काठमाडौं म्याराथन असोज पाँचमा
प्रो. स्पोर्टस् प्रा.लि.को आयोजनामा सातौँ रियल काठमाडौं म्याराथन असोज ५ गते हुने भएको छ । प्रतियोगितामा महिला/पुरुषको फुल र हाफ म्याराथन, महिला/पुरुषको पाँच किलोमिटर खुला दौड, स्कुलतर्फ छात्र/छात्राको पाँच किलोमिटर दौड तथा महिला/पुरुषको ह्विलचेयर स्पर्धामा प्रतिस्पर्धा हुने हालै आयोजित पत्रकार सम्मेलनमा आयोजक प्रमुख नीलेन्द्रराज श्रेष्ठले जानकारी गराएका छन ।
उक्त म्याराथनमा दशवटै विधामा नगद पुरस्कारको व्यवस्था गरिएको छ । सबै १० विधामा कुल नगद पुरस्कार सात लाख ४६ हजार रुपैयाँ रहेको छ । फुल म्याराथनको पुरुष/महिलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमश: एक लाख, ५० हजार र २० हजार नगद पुरस्कार पाउनेछन् । दुवै समूहमा चौथोदेखि दशौं स्थानमा दौड पूरा गर्नेलाई पनि नगद पुरस्कार दिइनेछ ।
हाफ म्याराथनको पुरुष/महिलामा पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १० हजार नगद पुरस्कार जित्नेछन् । पाँच किलोमिटर खुला दौडको पुरुष/महिलामा पहिलो हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । बाँकी चारै विधाका प्रथमले १० हजार, द्वितीयले पाँच हजार र तृतीयले तीन हजारका दरले नगद पुरस्कार जित्नेछन् ।
डाबर नेपालद्वारा उत्पादित रियल फ्रुट जुसको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगितामा अनुमानित २० राष्ट्रका करिब ६ हजार प्रतिस्पर्धी सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताको अनुमानित बजेट ५२ लाख रुपैयाँ रहेको छ ।