एसियाड प्याराग्लाइडिङ टोली इन्डोनेसिया प्रस्थान

एसियाड प्याराग्लाइडिङ टोली इन्डोनेसिया प्रस्थान


इन्डोनेसियामा आयोजना हुने १८औँ एसियाली खेलकुदमा सहभागी हुन नेपाली प्याराग्लाइडिङ टोली मंगलबार पोखराबाट प्रस्थान गरेको छ । पोखराबाट जान लागेको टिमलाई नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका केन्द्रीय महासचिव शैलेन्द्र राउत, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकलगायतले बिदाइ गरेका थिए ।

प्याराग्लाइडिङ खेलमा सहभागिता जनाउनेमा नेपालका पाँचजना पुरुष र तीनजना महिला खेलाडी गरी कुल आठजना खेलाडी रहेका छन् । नेपाली प्याराग्लाइडिङ टिममा सहभागिता जनाउन लागेका शतप्रतिशत खेलाडी कास्कीका हुन् । टिममा कान्छा उमेरका १६ वर्षीय खेलाडी युकेश गुरुङ पनि छन् । नेपाली प्याराग्लाइडिङ टिमले इन्डिभिजुअल एक्युरेसी, टिम क्रस कन्ट्री र टिम एक्युरेसीमा महिला तथा पुरुष खेलाडी छुट्टा–छुट्टै पदकका लागि भिड्नेछन् ।

साउन २३ गते बुधबार प्रस्थान गर्ने खेलाडीमा विमल अधिकारी (टिम कप्तान) विशाल थापा, सुशील गुरुङ, युकेश गुरुङ, विजय गौतम र महिला खेलाडीमा त्रिशा श्रेष्ठ, प्रतिमा भुजेल र सविता तामाङ रहेका छन् । टिमसँग प्रशिक्षक योगश भट्टराई पनि सँगै प्रस्थान गर्दै छन् ।

नेपाली टिम थप प्रशिक्षणका लागि एक साताअघि नै इन्डोनेसिया जान लागेको हो । ‘प्याराग्लाइडिङमा खेल आयोजना हुने स्थानको हावाको चापलगायतले पनि प्रभाव पार्ने हुनाले खेलाडीलाई त्यहाँ अभ्यस्त बनाउन एक साताअघि नै जान लागेका हौँ,’ प्रशिक्षक भट्टराईले भने ।
नेपाली टिमका व्यवस्थापक शैलेन्द्र राउत र अर्का प्रशिक्षक सानुबाबु सुनुवार भने एक सातापछि त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ । प्याराग्लाइडिङ खेल अगस्त १८ देखि ३० तारिखसम्म सञ्चालन हुँदै छ ।