तेक्वान्दो राष्ट्रिय टिमलाई इन्टाको प्रायोजन

तेक्वान्दो राष्ट्रिय टिमलाई इन्टाको प्रायोजन


इन्टरनेसनल नेप्लिज तेक्वान्दो एसोसिएसन (इन्टा) ले नेपाली राष्ट्रिय तेक्वान्दो टिमलाई प्रायोजन गरेका छन् । इन्डोनेसिया हुने १८औँ एसियन गेम्सको तयारीमा रहेका तेक्वान्दो खेलाडीलाई इन्टाले २ लाखबराबरको ट्रयाक सुट प्रायोजन गरेको राष्ट्रिय टिमका प्रशिक्षक दीपक विष्टले जानकारी गराएका छन् ।

इन्टाको अध्यक्षमा ओलम्पियन सिओल ओलम्पिकका कांस्य विजेता विधान लामा, उपाध्यक्षमा एसियाडमा हालसम्म एक मात्र रजत पदक विजेता सविता राजभण्डारी, सपना मल्ल, आठौँ सागका स्वर्ण पदक विजेता कमल क्षत्री र पूर्व राष्ट्रिय खेलाडी अच्युत बास्कोटा, महासचिवमा ओलम्पियन नारायण गुरुङ, सहमहासचिवमा नवौँ सागका स्वर्ण पदक विजेता निर्मल श्रेष्ठ, बैंकक एसियाडका कांस्य र आठौँ सागका स्वर्ण विजेता किशोर श्रेष्ठ कोषाध्यक्षमा छन् ।

एसियाड र सागको पदक विजेता रितु जिमी राई, नवौँ सागका पदक विजेता निरञ्जन श्रेष्ठ, सागकी पदक बन्दना श्रेष्ठ, पासाङ लामा, कल्पना क्षेत्री, पुष्प थापामगर, विमा राई इन्टाको सदस्यमा छन् । लामो समय नेपाली तेक्वान्दोको राष्ट्रिय टिममा खेलेका पूर्वखेलाडीहरूको संस्था इन्टाले नेपाली तेक्वान्दो खेलाडीको प्रोत्साहनका लागि विभिन्न समयमा सहयोग गर्दै आइरहेको ओलम्पियन विष्टले जानकारी दिए ।