आयोजक काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) र ग्रिनल्यान्डले दोस्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ विजयी सुरुवात गरेका छन् ।
टोखास्थित घरेलु कोर्टमा केभीकेएसएसले सेवा सदनलाई २४–२० ले पराजित गरेको थियो । केभीकेएसएसको जितमा कविन थापाले १० अंक योगदान गरेका थिए । राजीव आलेको २१ अंकको सहयोगमा ग्रिनल्यान्डले टीआईएलाई ४८–४६ को साँघुरो अन्तरले पराजित गरेको थियो ।
ब्वाइजतर्फ डिफेन्डिङ च्याम्पियन ह्यापी हिमालय चाइल्ड एकेडेमी (एचएचसीए) ले स्किब्सलाई ८१–६०, चाँदबागले दीपज्योतिलाई ३१–१८ र स्वेता सदनले लुनारलाई २०–१९ ले पराजित गरेका छन् । एचएचसीएका प्रवीण राईले १६, चाँदबागका राजदीपसिंह कार्कीले १४ र स्वेता सदनका अरुण पण्डितले १० स्कोर गरे ।
गल्र्समा ग्रिनल्यान्डले स्किब्सलाई २६–१०, भ्याली पब्लिकले साबिक विजेता एचएचसीएलाई ४३–३०, टीआईएले दीपज्योतिलाई १५–६ र चाँदबागले त्रियोगलाई १७–१२ ले पाखा लगाएका थिए । ग्रिनल्यान्डकी आरिश्का खड्काले ८, भ्याली पब्लिककी सुमिना तामाङले १६, टीआईएकी रिन्चिन मोक्तानले ६ र चाँदबागकी रोजी राईले ७ अंक जोडेका थिए ।
प्रतियोगिताको टोखा नगरपालिका– ८ का अध्यक्ष केशवबहादुर खत्रीले निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरे । साउन ३१ गतेसम्म चल्ने प्रतियोगिताको ब्वाइजमा २४ र गल्र्समा १६ टिम सहभागी रहेका छन् ।
प्रतिक्रिया