ह्विलचेयर तेक्वान्दोलाई प्रायोजन

ह्विलचेयर तेक्वान्दोलाई प्रायोजन


नेपाली राष्ट्रिय ह्विलचेयर तेक्वान्दो टिमलाई खेल पोसाक प्रायोजन गरिएको छ । इन्टरनेसनल नेप्लिज तेक्वान्दो एसोसिएसन (इन्टा) हङकङका अध्यक्ष राजु खड्काले ह्विलचेयर राष्ट्रिय तेक्वान्दो टिमलाई तेक्वान्दो पोसाक प्रायोजन गरेको प्रशिक्षक कल्याण कुँवरले जानकारी गराएका छन् ।

नेपाल तेक्वान्दो संघअन्तर्गत रहेका ह्विलचेयरका तेक्वान्दो टिमलाई खड्काले करिब ५० हजार रुपैयाँबराबरको खेल पोसाक प्रायोजन गरेका हुन् । जावलाखेलस्थित नेपाल तेक्वान्दो संघ प्रदेश–३ ले आयोजना गरेको कार्यक्रममा खेलाडीलाई खेल सामग्री प्रदान गरिएको थियो ।

खड्काका प्रतिनिधि सिर्जियन गुरुङले उक्त सामग्री तेक्वान्दो संघ प्रदेश–३ का अध्यक्ष केशव पुरी, पारा तेक्वान्दो प्रशिक्षकद्वय कल्याण कुँवर र कविराज नेगी लामालाई हस्तान्तरण गरेका थिए । खड्का हाल हङकङमा रहेकाले उनका प्रतिनिधिले खेल सामग्री प्रदान गरेका हुन् ।

सो अवसरमा तेक्वान्दो प्रदेश–३ का अध्यक्ष पुरीले खेलाडीलाई नै सामग्री प्रदान गरे । कार्यक्रममा अध्यक्ष पुरीले देशका खेलाडीलाई हरेक क्षेत्रबाट प्राप्त स–सानो सहयोग नै खेलका लागि ठूलो प्रेरणा मिल्ने बताएका थिए ।