राष्ट्रिय जुडो टोलीले ग्रान्डप्रिक्समा सहभागिता जनाउने

राष्ट्रिय जुडो टोलीले ग्रान्डप्रिक्समा सहभागिता जनाउने


बुढापेस्ट ग्रान्डप्रिक्समा सहभागी हुन सात खेलाडीसहित ८ सदस्यीय नेपाली जुडो टोली साउन २३ गते बुधबार हंगेरीको बुढापेस्ट प्रस्थान गरेको छ ।

अगस्ट १० देखि १२ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ, ७३ केजीमुनि सन्जित डंगोल, ९० केजीमुनि श्रीराम मकाजु र १०० केजीमुनि रविन श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । महिलाको ५२ केजीमुनि देविका खड्का, ५७ केजीमुनि मनिता श्रेष्ठ प्रधान र ७८ केजीमुनि पुनम श्रेष्ठले सहभागिता जनाउनेछन् ।

उक्त प्रतियोगितामा सहभागी हुने सातै खेलाडी इन्डोनेसियामा हुने १८औँ एसियाली खेलकुदमा सहभागी हुने खेलाडी हुन् । इन्डोनेसिया एसियाडमा नेपालबाट जुडोमा ८ खेलाडी सहभागी हुँदै छन् । बाँकी एक खेलाडी फुपुल्हामु खत्री टोकियो ओलम्पिक २०२० र एसियाडको तयारीका लागि जापानमा प्रशिक्षणरत छिन् ।

बुढापेस्ट ग्रान्डप्रिक्समा पुरुष ६० केजीमुनि मोहन बमले पनि नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछन् । केही वर्षयता अस्ट्रेलियामा बस्दै आएका मोहन उतैैबाट बुढापेस्ट पुगिसकेको नेपाल जुडो संघले जनाएको छ । प्रतियोगिता सम्पन्न भएपछि जुडो टोलीले हंगेरीमै प्रशिक्षण गर्नेछ । अगस्ट २५ तारिखमा हंगेरीबाटै टोली इन्डोनेसिया जानेछ ।

टोलीलाई प्रतिनिधिसभाका सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच बिदाइ गरे ।