भुजेल राष्ट्रिय तेक्वान्दो संघको केन्द्रीय सदस्यमा मनोनीत

भुजेल राष्ट्रिय तेक्वान्दो संघको केन्द्रीय सदस्यमा मनोनीत


राष्ट्रिय तेक्वान्दो संघ नेपालले तेक्वान्दोका दोस्रो व्याजका खेलाडी प्रेमबहादुर भुजेललाई साउन २४ गते बिहीबार केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । संघको कार्यालय सानोभऱ्याङमा आयोजित कार्यक्रममा संघका अध्यक्ष शिव कोइराला (ज्वाला) ले भुजेललाई संघको २९औँ कार्यसमितिको बैठकले केन्द्रीय सदस्यमा मनोनयन गरेको जानकारी गराए ।

साथै संघले भुजेलले नेपालमा तेक्वान्दोको खेल स्थापनादेखि वर्तमान अवस्थासम्म यो खेलको विकास र विस्तारमा अमूल्य योगदान पु¥याएकोमा धन्यवाद ज्ञापन गर्दै सम्मानसमेत गरेको थियो । भुजेललाई संघका अध्यक्ष ज्वाला र वरिष्ठ उपााध्यक्ष एकनाथ थापा, राखेपका वरिष्ठ तेक्वान्दो प्रशिक्षक तथा संघका उपाध्यक्ष ध्रुवबहादुर गुरुङ र महासचिव राजकुमार कार्कीले खादा लगाएर सम्मान गरेका थिए ।

सम्मानपछि अध्यक्ष ज्वालाले वरिष्ठ प्रशिक्षकहरूको राष्ट्रिय तेक्वान्दो संघमा प्रवेशले संघ निकै बलियो भएको बताए । संघले तेक्वान्दोमा रगत सुकाएका र पसिना बगाएका खेलाडीहरूको सम्मान गर्दै आएको र त्यस्ता व्यक्तित्वहरूलाई उचित स्थान र सम्मान दिन सधैँ अग्रसर रहने बताए । आज भुजेलजस्तो वरिष्ठ गुरुलाई केन्द्रीय सदस्यमा मनोनयन गर्दै सम्मान गर्न पाउँदा आफूलाई गर्व लागेको उनले बताए ।

सो अवसरमा संघका केन्द्रीय सल्लाहकार तथा वरिष्ठ प्रशिक्षक शेरबहादुर थापा, केन्द्रीय सदस्य चुलाई मुखिया, रघुनाथ खत्री, राष्ट्रिय खेलकुद परिषद् कानुन शाखाका प्रमुख नारायण अर्याल र काठमाडौं जिल्ला तेक्वान्दोे संघका पदाधिकारीको उपस्थिति रहेको थियो ।

सो सम्मान कार्यक्रममा बधाई तथा शुभकामना दिँदै वरिष्ठ प्रशिक्षक गुरुङले सँगै तेक्वान्दो खेलेको, एउटै थालमा भात खाएको साथी (जोडा)लाई संघमा भित्र्याउन र स्वागत गर्न पाउँदा आज आफू निकै खुसी भएको बताए । साथै गुरुङले राष्ट्रिय तेक्वान्दो संघ सङ्लो पानीको ताल भएको चर्चा गर्दै यहाँ सबै कुरा पारदर्शी भएकोले सबै तेक्वान्दोकर्मीहरू अटाउन सक्ने दाबी गरे । त्यस्तै, संघमा प्रवेश गरेकोमा भुजेललाई बधाई दिएका थिए । त्यस्तै संघका वरिष्ठ उपाध्यक्ष एकनाथ थापाले हाम्रो संघर्ष सकिएको छैन, बाटाहरू अप्ठ्यारा छन, हाम्रो प्रयास जारी छ, त्यो समय नजिक आउँदै छ हामी सफल हुन्छौँ भन्दै खेलाडीहरूलाई विचलित नहुन आग्रह गरेका थिए ।

सम्मानपछि बोल्दै भुजेलले भने, ‘अब कसरी संघलाई बलियो बनाउन सकिन्छ, त्यसमा आफूले विशेष भूमिका निभाउने बताए । साथै विदेशमा रहेर पनि स्वदेशको तेक्वान्दोको विकास र विस्तारमा सहयोगी भूमिका निभाउने प्रतिबद्धता जाहेर गरे ।