‘अरू र ममा फरक छ’

‘अरू र ममा फरक छ’


funtimeअहिले अभिनेत्री रेखा थापा चटारोमा छिन् । आगामी मङ्सिर ४ गते हुने संविधानसभा चुनावमा प्रत्यक्षतर्फ उठ्नु पनि छ भने अर्कोतर्फ आफूले बनाएको चलचित्र काली पनि रिलिज गर्नु छ । दुवैलाई समय दिनुपर्ने भएकाले अहिले उनले अन्य कुनै पनि कुरा र काम हेरेकी छैनन् । यस कारण पनि प्रस्ताव आएका अन्य नयाँ काम ‘हुन्छ’ भनेर भन्न सकिरहेकी छैनन् उनले । उनी एमाओवादीबाट चुनाव लड्दै छिन् ।
० चुनावमा उठ्ने नै भइयो त ?
– अहिलेसम्मको अवस्थाले त्यही देखायो ।
० कहाँबाट उठ्ने भइयो त ?
– पर्सा क्षेत्र नम्बर १ मा नाम परेको छ ।
० चुनाव प्रचारप्रसार कहिलेबाट सुरु त ?
– अब बिस्तारै हुन्छ, अहिले मनोनीत मात्र हो । अब उम्मेदवारी दर्ता गरेपछि व्यस्त भइन्छ ।
० सिनेमा पनि रिलिज छ । भ्याइन्छ त ?
– सिनेमा र राजनीति अलग पाटा हुन् । दुवैलाई मिलाएर अगाडि बढ्नुपर्छ ।
० चुनावका लागि टिकट पाउन पनि निकै पापड पेल्नुप-यो नि होइन र ?
– पापडै त पेल्नुपरेन । अलि बढी गृहकार्य गर्नुप-यो ।
० चुनावमा उठ्न यसरी किन मरिमेटेको ?
– यसमा मरिमेटेको भन्ने प्रश्न आउँदैन । यो एउटा मेरो उद्देश्य हो । उद्देश्य प्राप्ति गर्न कहाँ सजिलो छ र ?
० भनेपछि राजनीतिमा लागेपछि त फिल्म क्षेत्र छाडिन्छ कि क्या हो ?
– छाडिँदैन । पहिले पूर्णरूपमा कुन क्षेत्रमा लाग्ने हो ? त्यसको निर्णय गरेपछि मात्र छान्नुपर्ला । अहिले नै त्यसतर्फ सोचिएको छैन ।
० फिल्म क्षेत्र नै ठीक थियो नि होइन र ? किन राजनीतितर्फ चासो नि ?
– जसरी पनि दर्शक र जनतामाझ पुग्ने हो । अनि उहाँहरूलाई खुसी बनाएर मन जित्ने हो । मलाई लाग्छ– दुवै क्षेत्रको गन्तव्य भनेकै दर्शकहरू हुन् । त्यसैले क्षेत्र फरक तर उद्देश्य एउटै हो ।
० अरू पनि हिरोइन छन्, तर अरूको सोच राजनीतिमा देखिएन नि ?
– त्यसैले त म र अरूमा फरक छ । त्यही कारणले पनि दर्शकहरूले मलाई साथ दिइराख्नुभएको छ ।

भुवनलाई एमालेको धोका
ठूलै आशा, भरोसा, आड अनि विश्वासमा साथ नायक भुवन केसी एमाले प्रवेश गरे । मिडियामा पनि खुब छाए उनी । चर्चा–परिचर्चा पनि ठूलै भयो उनको । तर, अहिले एमाले प्रवेश र त्यही प्रवेशले ल्याएको चर्चा उनलाई घाँडो हुन थालेको छ । राप्रपा (नेपाल) ले केन्द्रीय सदस्य दिन्छु भन्दासम्म पनि अटेर गरेका भुवन ठूलै आश्वासन पाएर एमाले छिरेका थिए । तर, एमालेले आफ्नो उपस्थितिलाई त्यति महŒव नदिएपछि अब के गर्ने कता जाने ? दोधारमा छन् उनी । एमाले भन्ने छाप लागिसकेपछि अब अन्य पार्टीतिर पनि जान नसक्दा आफूले एमालेबाट ठूलो धोका पाएको अनुभूति आजभोलि भुवन आफ्ना साथीभाइहरूलाई सुनाउँदै हिँड्न थालेका छन् । काठमाडौंबाट चुनावमा उठेर सभासद् हुने र एमालेले टिकट दिने ठूलै भरोसा थियो भुवनमा । यसबीचमा एमालेका प्रभावशाली नेताहरूकहाँ पनि पुगे उनी । कहिले बिहान ७ बजे ओछ्यान नछाड्ने भुवन धेरैपटक सात बजे त केपी ओली र झलनाथ खनालसमक्ष पनि पुगे । उनीहरूबाट पनि गतिलै आश्वासन पाएका हुन् उनले । अन्ततः काठमाडौंको कुनै पनि क्षेत्रमा आफ्नो नाम सिफारिस नभएपछि भुनव अहिले एमालेसँग रिसाएका छन् ।
यही अवस्थाका कारण अहिले एमालेबाट चुनावमा उठ्ने मनस्थितिमा पनि भुवनले केही कमी ल्याएका छन् । उनी आजचोलि भन्न थालेका छन्, ‘आफू पनि स्पष्ट नहुने अनि अरूलाई पनि स्पष्ट नभन्ने गजवको शैली रहेछ एमालेको । म त आजित नै भएँ ।’ एमालेमा प्रवेश गर्दाको सोच अनि उद्देश्य र आश्वासन मेल नखाएपछि अहिले भुवन चुनावका लागि टिकट लिनतिरभन्दा पनि नयाँ सिनेमा निर्माणतिर पो लाग्ने योजनामा छन् । ‘यत्रो दौडधुप गर्दा पनि खासै पोजेटिभ पाइएन । हेरौँ † भए हुन्छ नत्र फिल्मतिर नै जिन्दावाद,’ यसै भन्छन् भुवन आजभोलि ।

भाइका लागि मनीषाको दौडधुप
सिनेमा खेल्ने आफ्नो उमेर, जोस, उमङ्ग र ऊर्जामा कमी आए तापनि अभिनेत्री मनीषा कोइराला यतिबेला यो क्षेत्रमा आफ्नो भाइ सिद्धार्थ कोइरालालाई स्थापित गराउन भने कम्मर कसेर लागेकी छिन् ।
उनकै आग्रहमा सिद्धार्थले चलचित्र मेघामा नायकको भूमिका पाएका थिए भने मेघामा सिद्धार्थको जोडी भएर नम्रता श्रेष्ठ देखापरेकी छिन् । आफ्नो भाइमा राम्रो सम्भावना देखेकी मनीषाले अब चाँडै प्रदर्शन हुन लागेको चलचित्र मेघाको रिलिजपछि सिद्धार्थको बजारमा रामै्र मात्र हुने विश्वास लिएकी छिन् । सम्झना रौनियारले निर्देशन गरेको मेघाको प्रचारप्रसारका लागि मनीषाले साथ दिने आश्वासन पाएपछि मेघाको युनिट पनि यतिबेला कम दङ्ग छैन । त्यसैले पनि प्रचारप्रसारका नयाँनयाँ शैली अपनाउन तयार भएका छन् यसका निर्माता फोटोपत्रकार विकास रौनियार ।
मेघाको सफलतापछि मनीषाले आफ्नो नयाँ प्रोजेक्टमा अब निरन्तर रूपमा आफ्नै भाइलाई हिरो बनाउँदै छिन् भने सिद्धार्थलाई जसरी भए पनि सफल कलाकार बनाएर स्थापित गराउने उद्देश्य लिएकी छिन् उनले ।
हुन त मनीषाले आफ्नै लगानीमा ‘पैसा असुल’ नामक हिन्दी चलचित्र पनि नबनाएकी होइनन् । यो चलचित्रमा सिद्धार्थ नै हिरो थिए । तर, भारतीय चलचित्र जगत्को त्यो महासागरमा सिद्धार्थ पौडन सकेनन् । बरु नेपाली चलचित्र क्षेत्रमा नै टिक्न सकिने जुक्ति लगाएका छन् यी दिदीभाइले । यही सोच र उद्देश्य बोकेर आएको यो कोइराला परिवारको सोच कत्तिको मेल खाने हो ? त्यो भने हेर्न बाँकी नै छ ।

वेदमणिको ‘भागवत’ विमोचित
साहित्यकार तथा गीतकार गोविन्द घिमिरे ‘वेदमणि’द्वारा लिखित धार्मिक पुस्तक ‘भागवत ः एक विवेचन’को राष्ट्रकवि माधव घिमिरेका साथै घिमिरे बन्धु समाजका अध्यक्षलगायतका पदाधिकारीबाट संयुक्त रूपमा विमोचन गरिएको छ । सो पुस्तकमार्फत समाजमा भइरहेको विकृति र बद्मासीलाई धार्मिक सदाचारबाट कमी गर्न सकिन्छ भन्ने सन्देश दिने उद्देश्य लेखकले राखेको अनुभूति गर्न सकिन्छ ।
काठमाडौं जोरपाटीनिवासी स्रष्टा गोविन्द गीत, गजल, कविता र साहित्यका अन्य विधामा पनि कलम चलाउँदै आएका सुपरिचित व्यक्ति हुनका साथै समाजसेवीका रूपमा पनि चिनिन्छन् । साहित्यलाई पनि समाजकै सेवाका रूपमा ढाल्नुपर्छ भन्ने मान्यता राख्ने ‘वेदमणि’का रचनाहरू अत्यन्तै मन छुने किसमका हुन्छन् । दर्जनजति विभिन्न विधामा पुस्तक प्रकाशन गरिसकेका गोविन्दद्वारा रचना गरिएको गीतको एकल एलबम ‘नुधन’ युवा गायक राजन आचार्यको स्वरमा सजिएर छिट्टै बजारमा आउन लागेको छ ।