भारतले हस्तक्षेप गरेको मलाई थाहा छैन

भारतले हस्तक्षेप गरेको मलाई थाहा छैन


Surya-Bahadur-Thapa– सूर्यबहादुर थापा (अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी)
० मुलुक मङ्सिर ४ को निर्वाचन तयारी गर्दै छ, हुन्छ होइन मङ्सिरमा चुनाव ?
– चुनाव गर्ने तयारी भइरहेको छ भने नहुने त कुरै भएन नि ।
० माओवादीले हुन नदिने भन्दै अवरोधका अनेक गतिविधि गर्न थालेको छ नि ?
– हुन दिन्न भन्नु एउटा कुरा हो, नहुनु अर्को कुरा हो । हुँदैन भन्दैमा नहुने र हुन्छ भन्दैमा हुने होइन नि ।
० माओवादीलाई छोडर हुने चुनाव के फलदायी होला त ?
– संविधान बनाउने चुनावमा सकभर कसैलाई पनि छोड्नुहुँदैन, मिलाएर लैजानुपर्छ, नभए त्यो संविधान नै खण्डित हुन्छ र सूर्यग्रहण लागेझैँ हुन्छ भनेर त मैले भनिरहेको छु त ।
० त्यसो भए भावी संविधानमा सूर्यग्रहण लाग्यो होइन अब ?
– अहिले नै त्यसो भन्ने बेला भइसकेको छैन ।
० वैद्यजीहरूलाई चुनावमा ल्याउन पहल किन गर्नुभएन तपाईंले ?
– कसैले तपाईं भनोस्–नभनोस् आफैँ मपाइँ भएर बढ्ता बाठो बन्दै अघि सर्न मिल्दैन । यो कामको जिम्मा चार दलले लिएको जगत्लाई थाहा छ भने हामी किन अघि सर्ने ? सम्पूर्ण जिम्मेवारी लिएर हर्ताकर्ता उनीहरू नै बनेको अवस्थामा अरू अघि सर्ने कुरा पनि भएन र आधिकारिक पनि हुँदैन नि ।
० तपाईंलाई नै जिम्मा दिइयो भने वैद्यलाई चुनावमा ल्याउन सक्नुहुन्छ तपाईं ?
– यस्ता कुरा गरेर हिँड्ने स्वभाव पनि मेरो छैन र काम पनि होइन ।
० वैद्यजीहरूले चुनावमा भाग लिएनन् भने नेपालमा चुनाव नै नहुनेजस्तो भयो नि ?
– पार्टी खोल्ने अनि चुनावमा भाग नै लिन्न भनेर प्रजातान्त्रिक परिपाटीमा कहिलेसम्म त्यो पार्टी रहला ? चुनावमा भाग लिएर जनताबाट अनुमोदन हुन नचाहने पार्टीको औचित्य के ?
० केको प्रजातान्त्रिक परिपाटीको कुरा गर्नुहुन्छ, वैद्यजीहरू त संसदीय व्यवस्था ध्वस्त पार्ने भन्दै हिँड्नुभएको छ नि ?
– खै ! त्यो मलाई थाहा भएन । कुन दल संसदीय व्यवस्था ध्वस्त पार्न हिँडेको छ र कुन दल हिँडेको छैन भनी जाँचबुझ गर्नुपर्ने एउटा पाटो हुनसक्छ, तर फलानाले व्यवस्था ध्वस्त पार्न लाग्यो भन्दै अतिसयोक्तिपूर्ण कुरा गरेर म हिँड्ने व्यक्ति होइन । प्रचण्डजीहरू पनि त्यस्तै भन्थे अरे, अहिले परिवर्तित भएर संसदीय व्यवस्थामै कसरत गरिरहेका छन् । यसका आधारमा भन्नुपर्दा वैद्यजीहरू पनि संसदीय धारमा नआउनुहोला भन्ने के छ र ?
० तपाईं ल्याउन सक्नुहुन्छ वैद्यलाई संसदीय धारमा ?
– मेरो काम होइन त्यो । नेपालको वस्तुस्थितिमा त्यो काम चार दलले जिम्मा लिएका छन्, उनैले गर्छन् ।
० चार दलले त सकेनन् नि ?
– सकेनन् भने सकेनन्, मैले क गरूँ त ? म आफ्नो परिधि नाघेर बढी कुरा गर्दै हिँड्न सक्दिनँ । गर्न खोज्नेले एकपटक असफल भयो भनेर लत्तो छोड्ने र झारा टार्ने गर्नुहुँदैन । लागिरहनुपर्छ निरन्तर, बल्ल सफलता मिल्ला ।
० त्यसो भए चार दलले जे ग-यो त्यही–त्यही स्वीकार गर्दै हिँड्नुहुन्छ त तपाईं ?
– उनीहरूले गरेका सबै स्वीकार गर्दै हिँड्नुपर्छ भन्ने छैन र हिँडेको पनि छैन । विषयवस्तु हेरेर कुरा हुन्छ ।
० माओवादीले खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा गर्नुपर्ने माग राखेको छ, यो आवश्यक छ कि छैन होला ?
– यो म बिल्कुल जान्दिनँ । मैले त मागेर हिँडेको छैन । दलहरूका आ–आफ्ना कुरा हुन्छ, अडान हुन्छ । दल भनेकै यस्तै हो । आज एउटाले राजीनामा माग्ला, भोलि फेरि अर्कोले राजीनामा माग्नेकै राजीनामा माग्न सक्छ । त्यसैले छलफल गरेर सहमतिको टुङ्गोमा पुग्नु नै महŒवपूर्ण हो ।
० तपाईं रेग्मीको राजीनामाको पक्षमा हुनुहुँदोरहेनछ भनेर बुझ्दा हुन्छ त्यसो भए ?
– चुनाव हुन–हुन लागिरहेको छ, अब कता कसको राजीनामा माग्ने ? कसलाई कता टेकाउने ? प्रसङ्गहीन कुरा हो यो । जनताले कसैको राजीनामा मागेको मलाई थाहा छैन, दलका नेताहरूले त के–के मागिरहन्छन्–रहन्छन् ! माग्दैमा सबै पु-याउन सकिन्छ ? प्रधानन्यायाधीशकै नेतृत्वमा चुनावी सरकार बनाएर निर्वाचन सम्पन्न गर्ने भनी निर्णय गरेपछि अब कसैलाई फकाउनका लागि भन्दै राजीनामा माग्नु हावादारी कुरा हो । चुनाव नै गर्न नसकेको अवस्था भएको भए यस कुरामा छलफल हुन सक्छ, तर अहिले यो असान्दर्भिक कुरा हो ।
० तपाईंलाई खिलराज रेग्मी यतिबेला निकै प्यारो लाग्न थालेछ, किन होला ?
– प्यार–व्यारको कुरा होइन । व्यावहारिकतामा जानुपर्छ भन्न खोजेको मैले । यस्ता सवालमा जतिबेला जे मन लाग्यो त्यही गर्न मिल्छ ? राज्य सञ्चालनको कुरो पो हो त यो । यही कुरा ६ महिनाअघि भन्दा सुहाउँथ्यो होला, चुनाव गर्न दुई महिना पनि बाँकी नरहेको अवस्थामा यो बेतुकको कुरा हो ।
० त्यति राजीनामा दिँदा माओवादी चुनावमा आउँछ र देशले निकास पाउँछ भने के फरक पथ्र्यो र भन्न खोजेको नि ?
– खिलराजको राजीनामा बाधक होइन, बरु दलहरूको क्षमता बाधक भएको भन्न मिल्छ । रेग्मीको राजीनामाको कुरा देखावटी मात्र हो, दलहरूले पेट खोलेर कुरा गर्नुप-यो, गम्भीरता प्रदर्शन गर्नुप-यो, सहमतिमा ल्याउन सक्नुप-यो ।
० भारतीय विदेशसचिव नेपाल आएर मिल्न लागेको कुरा बिथोलेको आरोप लगाएको छ नि माओवादीले, यस्तो होला ?
– विदेशसचिवमा नियुक्त भएपछि सबभन्दा नजिकको छिमेकी मित्रराष्ट्रको भ्रमण गर्ने प्रचलन निर्वाह गर्नका लागि भारतका विदेशसचिव नेपाल आएको भन्ने मात्र मेरो बुझाइमा रहेको कुरा प-यो, बाँकी म जान्दिनँ ।
० भारतले हस्तक्षेपकारी भूमिका खेल्यो किन भनेका होलान् ?
– खै किन गरेका हुन् यस्ता बेतुकका कुरा ! भारतका कोही आयो– भारतीय हस्तक्षेप भन्ने, अमेरिकन आयो– अमेरिकनले सिध्यायो भन्ने, यस्तो पनि कुनै तर्क हुन्छ । आफ्नो अयोग्यता छोप्न अर्कालाई आरोप लगाउने यो निकृष्ट र ‘डेट एस्पायर’ फर्मुला हो भन्ने लाग्छ मलाई । भारतले हस्तक्षेप गरेको मलाई थाहा छैन ।
० तपाईं चुनाव नलड्ने हुनुभएछ होइन ?
– हो, नलड्ने ।
० किन होला नि ?
– म कति वर्षको भएँ थाहा छ ? ८६ वर्षको उमेरमा धनकुटाजस्तो पहाडी क्षेत्रमा मैले चुनाव लड्ने कुरा कसैले एस्पेक्ट गर्न सुहाउने कुरा हो र भनेको ? उमेर र असक्तताको कारणले चुनाव नलड्ने हो भनेर बुझ्दा हुन्छ ।
० भनेपछि समानुपातिकमा लड्ने ?
– मलाई थाहा छैन ।
० सूर्यबहादुर थापा अझै एकपटक प्रधानमन्त्री बन्न चाहन्छन् पनि भन्दारहेछन् नि मान्छेहरू, त्यस्तो चाहना छ कि छैन तपाईंलाई ?
– मान्छेहरू के–के धारणा राख्छन्, तर म यस्ता सबै धारणा राखेर बसेको छैन । भविष्यमा के–के हुन्छ, सायद कोही जान्दैन, म त जान्दिनँ ।