आगामी जेठ चौधसम्म बेग्लै भूमिकामा प्रचण्ड

आगामी जेठ चौधसम्म बेग्लै भूमिकामा प्रचण्ड


संविधानसभाको कार्यकाल समाप्त हुन करिब एक महिना मात्र बाँकी हुँदा नेकपा माओवादीको नेतृत्व जेठ चौधपछि उत्पन्न हुनसक्ने परिस्थितिलाई लिएर आत्तिएको छ । तर, उसले आफ्नो अत्यास आक्रोशमा नभई नरमी र उदारतापूर्ण व्यवहार दर्शाएर प्रकट गर्ने सम्भावना छ । पार्टीको कठोर धारका नेता मोहन वैद्य किरणसँग लोली मिलाउँदै जनविद्रोहको वकालत गर्नुहुने प्रचण्ड यतिबेला पीपलको पातझैं पर्लक्क पल्टिएर डा. बाबुराम भट्टर्राईको लाइनमा पुग्नुभएको छ । उहाँ भट्टर्राईझैं राष्ट्रिय सहमतिको माध्यमबाट संविधान निर्माण गर्ने र शान्ति स्थापना प्रक्रियालाई सकारात्मक निष्कर्षमा पुर्‍याउने लाइनमा आउनुभएको छ । तर, प्रचण्डको यो लचकता जेठ चौध (२०६८) सम्मका लागि मात्र हुनसक्ने बढी सम्भावना छ । संविधानसभाको कार्यकाल पुनः थप गर्ने उपायको खोजीमा भित्रभित्रै चिन्तित र सक्रिय रहनुभएका प्रचण्ड आगामी करिब एक महिना ‘नरम र उदार नायकको भूमिकामा अभिनय गर्न’ तत्पर हुनुभएको छ । त्यसैले उहाँले पार्टीभित्र यसअघि आफ्नो मुख्य एवम् खतरनाक प्रतिद्वन्द्वी ठान्नुभएका बाबुराम भट्टर्राईसँग नाटकीय रूपमा निकटता बढाउनुभएको छ । भट्टर्राई प्रचण्ड आफ्नो लाइनमा आउन लागेका कुराले दङ्ग पर्नुभएको छ र पछिल्ला दिनहरूमा उहाँले पार्टीभित्र प्रचण्डको सहयोगी भूमिका निर्वाह गर्ने सङ्केत दिइसक्नुभएको छ । जेठ चौधसम्म नरम र उदार भूमिकामा देखापरे पनि त्यसपछि भने प्रचण्ड कठोर बन्ने र वैद्यसँगको निकटतालाई नै उहाँले प्राथमिकता दिनुहुने प्रबल सम्भावना छ । संविधानसभाको कार्यकाल थप गर्न भएका प्रयासहरू असफल भई जेठ चौध गते संविधानसभाको स्वाभाविक मृत्यु भएमा प्रचण्ड कठोर सङ्घर्ष र विद्रोहको तयारीमा जानुहुने सम्भावना जति छ, म्याद थप भएमा पुनः आफ्ना हठहरू यथावत् राख्दै लोकतन्त्र पक्षधर शक्तिहरूलाई हायलकायल पार्न वैद्यको लाइनअनुरूप अघि बढ्ने सम्भावना पनि त्यत्ति नै छ । त्यसैले जेठ चौधपछि संविधानसभा रहेको या नरहेको दुवै अवस्थामा प्रचण्ड कठोर एवम् अनुदारवादी सोचअनुरूप अघि बढ्ने तस्बिर स्पष्ट देखिँदै छ । तर, आगामी एक महिनासम्म उहाँले कुन रूपमा कसरी ‘उदारता’ र ‘नरमी’ प्रस्तुत गर्नुहोला जिज्ञाशाको विषय बनेको छ । अरू बेला जतिसुकै दूरीको सम्बन्ध देखिए पनि आफूले चाहेका बेला जो-कसैलाई आफ्नो पक्षमा उपयोग गर्न सक्ने क्षमताका प्रचण्ड राजधानीनजिकैको एक रिसोर्टमा राजनीतिक प्रतिवेदन तयारी भन्दै ‘चिन्तन-मनन’सहित ‘तपस्या’ गर्न जानुभयो । यो तपस्या कसलाई कसरी माकुरीजाल बिछ्याउने भन्ने कुरामा नै केन्द्रित रहेको विश्वास गरिन्छ । आगामी साताभित्रै विरोधीहरूलाई मायाजालमा पार्ने खेल सुरु हुने प्रचण्डनिकटकाहरूको दाबी पनि छ । नेपाली काङ्ग्रेससहित सबै विपक्षीलाई जालमा पार्ने र संविधानसभाको कार्यकाल थप गराइछाड्ने उहाँको योजना कसरी सार्वजनिक हुने हो त्यस निम्ति अब दुई साताभन्दा बढी प्रतीक्षा गर्नुपर्ने ठानिएको छैन । सीधै लडेरभन्दा वैधानिक प्रक्रियाहरू पूरा गर्दै जनवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने विश्वासमा रहनुभएका प्रचण्डले अरूलाई तर्साउन-धम्क्याउन र कार्यकर्ता पङ्क्तिमा आफू क्रान्तिकारी रहेको प्रमाणित गर्न वैद्यको लाइनमा रहेको देखाउने तर वैधानिक तवरबाट क्रान्ति सम्पन्न गर्ने बाटो सोझयाउनका लागि चाहिँ डा. बाबुराम भट्टर्राईको लाइनअनुरूप व्यवहार गर्ने गर्दै आउनुभएको छ । वैद्यको लाइनअनुरूप चल्दा संविधानसभाको म्याद थप गर्न नसकिने र सीधा लडाइँमा जानुपर्ने अवस्था आउने भएकोले आगामी एक महिनाको निमित प्रचण्ड बाबुराम-पथमा हिँड्न तयार हुनुभएको देखिन्छ । तर, बाबुराम-पथमा हिँड्दा पार्टीभित्रका क्रान्तिकारीहरूको कोपभाजनमा परिने, जसका कारण आफू कमजोर हुनसक्ने र पार्टीमै कमजोर भए राज्यसत्ताको र्सर्वेसर्वा आफू हुन नसक्ने तथ्यलाई प्रचण्डले धेरै राम्रोसँग आत्मसात् गर्नुभएको बुझिन्छ । त्यसैले बाबुरामसँग प्रचण्डको मोर्चाबन्दी जेठ चौधसम्म मात्र कायम रहन सक्ने ठानिएको छ । तर, मोहन वैद्य किरण प्रचण्डको व्यवहार र कार्यशैलीसँग अत्यन्त असन्तुष्ट हुनुभएकोले अब उहाँले चाहेको समयमा चाहेका तरिकाले वैद्यलाई उपयोग या कन्भिन्स गर्न सक्ने सम्भावना घटेर गएको छ । जे होस्, माओवादीभित्रको त्रिपक्षीय टक्कर अब दुईपक्षीय हुने देखिएको छ । वैद्य र बाबुरामलाई पालैपालो खेलाएर र उपयोग गरेर आफ्नो भूमिकालाई शीर्षस्थ र केन्द्रीय बनाउन सफल रहँदै आउनुभएका प्रचण्डलाई यसपटक किरणलाई फकाउन मुस्किल पर्ने अवस्था छ । क्रान्ति खेलवाड नभएको तर प्रचण्डले क्रान्तिलाई खेलवाडको विषय बनाउनुभएको किरणको ठहर छ । यर्सथ आउँदा दिनहरू प्रचण्डका निम्ति थप कष्टकर हुनसक्ने देखिएको छ । किरणलाई पाखा लगाएर संविधानसभाको कार्यकाल थप गर्ने र साउन बीस गतेपछि प्रधानमन्त्री हुने प्रचण्डको दुवै चाहना पूरा हुन मुस्किल छ । तर, प्रचण्डका निकटवर्तीहरूको भनाइ छ- ‘किरणको घुर्कीले केही हुनेवाला छैन, हेर्नुहोला प्रचण्डले चमत्कार गरेर देखाइदिनुहुनेछ ।’ चमत्कार गरेर अरूलाई भुलभुलैयामा राखिने हो या प्रचण्ड आफैं चमत्कारको सिकार बन्नुहुने हो आगामी एक महिनाभित्रै तस्बिर स्पष्ट हुने अपेक्षा राजनीतिक विश्लेषकहरूको छ ।
प्रधानमन्त्री झलनाथ खनाल, माओवादी अध्यक्ष प्रचण्ड र बाबुराम भट्टर्राईलगायतका नेताहरू संविधानसभाको कार्यकाल थप गर्न एकमत भएका छन् । कदाचित म्याद थप गर्न नसकिएमा सङ्कटकाल घोषणा गरी कम्तीमा ६ महिना आफ्नो कार्यकाल लम्ब्याउने प्रयत्न खनालबाट हुन सक्नेछ । ठीक त्यही समयमा माओवादीले पनि राज्यसत्ता आफ्नो हातमा लिन प्रयत्न गर्ने तयारी गरेको छ । झलनाथ खनाल सङ्कटकाल घोषणामा नेपाली सेनाको पनि पूर्ण साथ रहनेमा विश्वस्त हुनुभएको बताइन्छ । त्यस्तो अवस्थामा झलनाथ-प्रचण्डको विधिवत् सत्ताको आयु छोट्टएि पनि ‘नयाँ सत्ता’ स्थापनाका निम्ति वातावरण उर्वर हुने प्रचण्डको विश्लेषण छ । राज्यसत्ता कसरी कब्जा गर्ने, प्रचण्डको ध्यान त्यसैमा केन्द्रित रहेको महसुस प्रचण्डका निकटवर्तीहरूले गरेका छन् ।