माओवादी मिलेकै वेश – विनोद नेपाल

माओवादी मिलेकै वेश – विनोद नेपाल


bicharनेपाली राजनीतिमा एकपटक नफुटेको दल सम्भवत: कुनै छैन । विचारमा भिन्नता छैन, नीति र सिद्धान्तमा अन्तर छैन तर पनि टुटेर, फुटेर दुईवटा दल बनेका छन् । दुईबाट तीन, चार र अझै टुक्रेर झिना, मसिना नाममात्रका दलमा परिणत भएका अवस्था पनि छ । यसले दलको विभाजनको कारक अरू केही नभएर व्यक्तिको महत्वाकाङ्क्षा, स्वार्थ र दम्भ नै हो भन्ने ठहर गर्न कठिन छैन । यसरी फुटेकामध्ये कतिपय जुटेर एक भएका पनि छन् । तर, त्यसको उदाहरण निकै कम मात्र छ । यही टुट, फुट र जुटको शृङ्खला चल्दै जाँदा मुलुकमा झन्डै दुई सय दल पुगेका हुन् । नेपाली कम्युनिस्टहरूको त झन् टुटफुटको लामो कहानी छ । यसै क्रममा गत वर्ष संविधानसभा विघटनसँगै ठूलो कम्युनिस्ट पार्टी एनेकपा माओवादी फुटेर नेकपा–माओवादी बन्यो र त्यसरी बनेको नेकपा–माओवादी पनि फुटेर ‘नेकपा–माओवादी–विद्रोही’ नामको पार्टी एक दिनका लागि मात्रै भए पनि जन्म्यो र घुमाउरो बाटोबाट फेरि एनेकपा माओवादीमै समाहित हुन पुग्यो । यो नै हालसम्मको पछिल्लो कम्युनिस्ट फुट र जुट हो ।
यतिखेर हामी दोस्रो संविधानसभा निर्वाचनको दिशामा अग्रसर छौँ । राज्यको सारा ध्यान स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनतर्फ केन्द्रित छ । निर्वाचन आयोगले चुनावी कार्यतालिकाअनुसार आफ्नो काम गरिरहेको छ, जसअनुसार उम्मेदवारी दर्ताको दिन नजिकिइसकेको र दलहरू उम्मेदवार घोषणाका तयारीमा छन् । निर्वाचन प्रयोजनका लागि सेना परिचालन गर्न संवैधानिक अड्चन हटी बाटो खुलिसकेको र चुनावी लहर गाउँ–गाउँसम्म पुगिसकेको अवस्था पनि छ । तर, प्रथम संविधानसभा निर्वाचन परिणामको आधारमा अझैसम्म पनि मुलुकको सबैभन्दा ठूलो दल भएको दाबी गरिरहेको नेकपा एमाओवादीबाट फुटेर बनेको नेकपा–माओवादी नेतृत्वमा बनेको ३३ दलीय मोर्चाको धम्की र चेतावनीले सबैलाई हल्लाएको र उसका निर्वाचनविरोधी कार्यक्रमले सबैलाई तर्साएको छ । मोर्चाबाहेक सबैले एकै स्वरमा निर्वाचन सफल हुने बताइरहेका बेला मोर्चाको नेतृत्व गरिरहेको दलका नेताहरूका धम्की र चेतावनीयुक्त भाषण र वक्तव्यबाजीले अझै पनि निर्वाचनप्रतिको आशङ्का निमिट्यान्न हुन सकेको छैन ।
यता एनेकपा माओवादी र नेकपा–माओवादीबीच एकीकरणका कुरा पनि बेलाबेला उठ्ने गरेका छन् । लामो समय एकसाथ सङ्घर्ष गरेर आए पनि एउटै कार्यदिशामा सहमति हुन नसक्दा फुटेको एमाओवादीबाट विभाजित समूहले निर्वाचनमा जानका लागि केही सर्त राखेको तर त्यसमा प्रमुख दलहरू सहमत नभएपछि उसले आफूलाई एक्ल्याएर निर्वाचनमा जान खोजिए परिणाम राम्रो नहुने धम्की दिइरहेको बेला दुई दलका नेताहरूबीच पटकपटक भेटघाट भएको कुरा बाहिर आउने गरेको छ भने एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड स्वयम्ले नेकपा–माओवादीका नेतालाई एकताको लागि पटकपटक आग्रह पनि गरेका छन् । उनले गत वर्ष पार्टी फुटाएका मोहन वैद्यलाई पुन: एकता गर्न पटकपटक आग्रह र अनुरोध गरेका छन् । पछिल्लोपटक उनले नेकपा–माओवादी छाडेर एमाओवादीमा प्रवेश गरेका वैद्य पक्षका पाँच केन्द्रीय सदस्यसहित राज्य र जिल्ला तहका नेता–कार्यकर्तालाई स्वागत गर्दै हालै उक्त अनुरोध गरेका हुन् ।
एमाओवादी अध्यक्षले आफूहरूलाई फुटाउन ठूलै षड्यन्त्र भएको र मिल्न नदिनका लागि पनि षड्यन्त्र भइरहेको बताउने गरेका छन् । दुई दलको एकता नहोस् भन्नेमा केही दल अझै पनि लागिरहेका भन्ने उनको आरोप छ । दाहालले मधेसबाट भएको कार्यकर्ता प्रवेश र एकीकरणको सुरुआत मात्र भएको बताउँदै भनेका छन्, ‘वैद्यजीसँग अनुरोध छ जनताले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीजस्ता कुराहहरू संस्थागत होस् भन्ने चाहेका छन् । दश वर्ष सँगै लडेका हाम्रो यी सबै विषयमा पूरै दृष्टिकोण मिल्छ, एकताबद्ध हुनुको विकल्प छैन । उच्चस्तरीय राजनीतिक समिति र अरू बैठकमा पनि राजनीतिक दलका नेताहरूमा माओवादी फेरि एक हुने हो कि भन्ने डर झल्कने गरेका छन् ।’ यस्तै ‘माओवादीका बीच एकता हुन नदिन ठूलो डिजाइन चलिरहेको’ दाबी पनि उनले गरेका छन् ।
एनेकपा माओवादी कसैले फुटाएको नभई व्यक्तिगत हठ र दम्भका कारण फुटेको हो । अहिले पनि नारायणकाजी श्रेष्ठ र बाबुराम भट्टराईबीचको सम्बन्ध, प्रचण्ड–नारायणकाजी र प्रचण्ड–बाबुरामबीचको सम्बन्ध कस्तो छ सबैलाई थाहै छ । नारायणकाजी आफूहरूमाथि विभेद हुने गरेको गुनासो गरिरहेकै छन् । पछि भित्रिएकालाई ‘ऐंजेरु’को संज्ञा पनि दिइएकै हो । यसैले फुटका लागि अरूलाई दोष दिने होइन पहिले आफैँभित्रका कमजोरी सच्याउनु जरुरी छ । तर, पार्टीहरू फुट्नुभन्दा जुट्नु नै उचित हुने र अनावश्यक रूपमा टुक्राटुक्रामा विभाजित भएर धेरै र कमजोर हुनुभन्दा थोरै सुदृढ र सशक्त हुनु हरेक दृष्टिकोणले उचित हुने भएकाले विचार र मान्यतामा समयानुकूल परिमार्जन गरी व्यर्थका अनुचित, अस्वाभाविक हठ र अडान परित्याग गरी एकीकृत हुनुमै दल र मुलुकको हित हुने भएकाले दलहरू एकीकृत हुनु नै उचित हुन्छ । एनेकपा माओवादीले वैद्य माओवादीलाई सोहीअनुसार एकीकरणको प्रस्ताव गर्ने तथा विभाजनले विरोधी उत्साहित भएका भनेर होइन आफ्नाबीचका मतमतान्तरको कसरी अन्त्य गर्ने भन्ने विषयमा पनि ध्यान दिई एकीकरणको प्रयास गर्नुपर्छ ।
समग्रमा, एमाओवादी कसैले फुटाएर फुटेको होइन । यो फुटमा कोही रमाएको वा यसबाट आफूलाई फाइदा हुने पनि शायदै कसैले सोचेको छ । माओवादी मिलेकै वेश छ । एमाओवादीको फुट प्रचण्डको दोधारे नीतिका कारण भएको हो भन्ने जगजाहेर छ । यसैले पहिले उनी स्वयम् स्पष्ट हुने र तत्पश्चात् असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउनुपर्छ । नेताले चर्चामा आउनका लागि आरोप, आदेश, सुझाब र निर्देशनको मात्र सहारा लिने होइन व्यावहारिक पनि हुन सक्नुपर्छ । आफू अस्थिर र रहस्यको पोको बनिरहने अरूलाई नानाथरी विशेषण भिराएर आफू नेता भएको देखाउन खोज्नु उचित होइन । आफ्नो पार्टी जुटाउन र एक राख्न नसक्नेले कसरी मुलुकको नेतृत्व लिने दाबी गर्छन् ? उनीमाथि प्रश्न छ । यसैले अरूलाई दोष दिने होइन असन्तुष्टलाई सन्तुष्ट बनाएर एक गराउँदै आसन्न निर्वाचनमा सहभागी हुने उनको प्रयत्न हुनुपर्छ । यसो गर्न सके भने प्रचण्डलाई इतिहासले पनि कुशल नेताको रूपमा सम्झनेछ । अन्यथा उनका भाषण हावादारी गफ मात्र सावित हुनेछन् ।