मुलुकी देवानीसंहिता २०७४ को व्यवस्था : ज्युँदैमा दाहसंस्कार !

मुलुकी देवानीसंहिता २०७४ को व्यवस्था : ज्युँदैमा दाहसंस्कार !


मानिसको मृत्युपछि कसरी दाहसंस्कार गर्ने भन्नेबारेमा आफैँले निर्णय गर्ने गरी कानुन बनाइएको छ । यही भदौदेखि लागू हुने मुलुकी देवानीसंहिता २०७४ मा आफ्नो दाहसंस्कार, काजकिरिया वा सद्गद्को विधि निर्धारण गर्न सक्ने उल्लेख गरिएको छ । उक्त कानुनअनुसार, व्यक्तिले आफू जीवित छँदै आफ्नो मृत्युपछि दाहसंस्कार कसरी गर्ने भन्नेबारेमा तय गर्न सक्नेछ । यसरी जिउँदै हुँदा गरिएको योजनाअनुरूप हकवालाले दाहसंस्कार र काजकिरिया गर्नुपर्नेछ । आफ्नो दाहसंस्कारको योजनाबिना नै कसैको मृत्यु भएमा परम्पराअनुरूपको दाहसंस्कार गर्नुपर्ने व्यवस्था नयाँ कानुनमा गरिएको छ ।

कुनै व्यक्ति बिनासूचना लगातार १२ वर्षदेखि बेपत्ता भएमा वा त्यस्तो व्यक्तिको सम्बन्धमा स्वाभाविक रूपमा जानकारी पाउनुपर्ने व्यक्तिले १२ वर्षसम्म जानकारी नपाएमा त्यस्तो व्यक्तिको मृत्यु भएको मानिने कानुनमा उल्लेख छ । मृत घोषणा गरिएको व्यक्ति जीवित फर्किएमा मृत्यु बदर हुने भनिएको छ । यदि त्यस्ता व्यक्तिका पत्नीले विवाह गरिसकेको भए त्यस्तो विवाह बदर नहुने स्पष्ट उल्लेख भए पनि पतिले विवाह गरिसकेपछि पत्नी फर्किए के हुने भन्ने उल्लेख छैन ।

विवाहमा अन्योल
विवाहसम्बन्धी कानुनमा बहुविवाह गर्न नपाइने र बहुविवाह स्वतः रद्द हुने कुरा स्पष्ट उल्लेख गरिएको छ । तर, कुनै महिला र पुरुषबीच शारीरिक सम्पर्क भएर बच्चा जन्मिएमा स्वतः विवाह भएको मानिनेछ भनिएको छ । यदि विवाहितहरूबीचको सम्पर्कबाट बच्चा जन्मियो भने के हुन्छ भनी उल्लेख छैन । कानुनमा बलात्कार र हाडनाता करणीका कारणबाट जन्मिएका बच्चाको सवालमा स्वतः विवाह भएको मानिनेछैन भनिएको छ । यीबाहेक अन्यबीचको सम्बन्धबाट सन्तान जन्मिएमा स्वतः विवाह भएको मानिनेछ भनिएको छ । यो कानुनलाई जस्ताको तस्तै मान्ने हो भने पहिला बच्चा जन्मिएकाहरूको हकमा बहुविवाह मानिनेछैन भनेर लिनुपर्ने हुन्छ ।

विवाहपछि थर कसको ?
मुलुकी ऐनमा विवाहित महिलाको थर प्रयोगसम्बन्धी व्यवस्था पनि गरिएको छ । विवाहित महिलाको सवालमा माइती या श्रीमान् जसको थर राखे पनि कानुनले छुट दिएको छ । कानुनतः महिलाले दुवै थर पनि राख्न पाउनेछन् । तर, विवाहिता महिलाको थरको सम्बन्धमा कुनै प्रश्न उठेमा अन्यथा प्रमाणित भएकोमा बाहेक आफ्नो पतिको थर मान्य हुने भनिएको छ । यो व्यवस्थाले अहिले राजनीतिमा भएका महिलाहरूले माइतीको थरबाट प्राप्त गरेको आरक्षण गलत हुनेछ । भदौ महिनापछि आरक्षणमा कुनै पद लिँदा विवाहित महिलाले पतिको थरबाट लिनुपर्नेछ ।