अन्तरविचार

अन्तरविचार


antarbicharउनीहरू दोस्रो बन्ने प्रतिस्पर्धामा छन् – प्रकाशमान सिंह (महामन्त्री, नेका)

० तपाईं यतिबेला आममतदाताको घरघर पुगिरहनुभएको छ, मतदाताले काङ्ग्रेस पार्टीलाई कुन रूपमा हेर्दारहेछन् ?
– मतदाताले विशेषगरी विगतको संविधानसभाको चारवर्षे अवधिमा काङ्ग्रेसले संविधान बनाएर जारी गराउनका लागि गरेको सत्प्रयास वा आफ्नोतर्फबाट निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन् । व्यक्तिगत तवरले भन्ने हो भने मैले आफ्नो क्षेत्र र समग्र काठमाडौंको विकास–निर्माणकार्यमा रुचिका साथ खेलेको भूमिकाको प्रशंसा गर्दै यस्तो राम्रो व्यक्तिलाई त फेरि विजयी तुल्याउनुपर्छ भनी आममतदाताले भनेका छन् ।
० चुनावको बेलामा मात्रै जनताको घरमा आयो, अरू बेला त भेट्न सकिन्नथ्यो भनेका छैनन् जनताले ?
– मेरो हकमा त्यो भन्नुपर्ने कुनै कारण नै छैन । बोलाएको र पुग्नुपर्ने ठाउँमा जहिलेसुकै पनि सहजै म पुग्ने गरेकै छु । व्यक्ति, क्लब, एनजीओ–आईएनजीओ, सङ्घ–संस्था आदिले बोलाएको ठाउँमा म बारम्बार पुगिरहेकै हुन्छु । जनताको समस्याको गाँठो फुकाउन म कहिल्यै पछि हटेको छैन । काठमाडौं एक नम्बर क्षेत्रका जनता, यहाँसम्म कि विरोधी पक्षले समेत ‘नेता भनेको त प्रकाशमानजस्तो हुनुपर्छ, सानोभन्दा सानो कार्यक्रम वा स्थानमा पनि बोलाएको ठाउँमा भरसक पुगेकै हुन्छ’ भन्ने प्रतिक्रिया दिने गरेको मैले पाएको छु । यस्तो यथार्थबीच चुनावको बेलामा मात्र जनतासमक्ष पुग्यो भनी मलाई भन्नु दुराग्रही धारणा मात्र हो ।
० विगत संविधानसभामा तपाईं र तपाईंको पार्टीले राम्रो भूमिका निर्वाह गरेको दाबी त गर्नुभयो, संविधान किन बनेन त ?
– सबैलाई थाहा भएकै कुरा हो कि विगतको संविधानसभामा काङ्ग्रेसले एक सय १४ सिट मात्र हासिल गरेको थियो । उता एनेकपा माओवादीले चाहिँ घोषणापत्रमा लोकतान्त्रिक विधिबाट चल्ने कुरा गरे पनि सबभन्दा ठूलो दलको स्वरूप पाउनेबित्तिकै घमण्डले चुर भएर दुईतिहाइ स्थान नै हासिल गरेजस्तै गरी व्यवहार प्रदर्शन गर्न थाल्यो । आन्दोलनका सहयात्री दलहरूलाई उसले पूरै उपेक्षा र अवहेलना गरेर मनपरी गर्न थालेपछि त्यसको असर स्वत: संविधान निर्माणकार्यमा पनि प¥यो । निजी सम्पत्तिमा हदबन्दी लगाउने, न्यायालयलाई निर्देशित र नियन्त्रित विधिबाट चलाउन खोज्ने, नेपालको राष्ट्रिय झण्डा फेर्नुपर्ने भन्नेजस्ता अनावश्यक र अलोकतान्त्रिक कुरामा उसले जिद्दी देखाउन थाल्यो । यति मात्र होइन, जातीय कुरालाई हावा दिएर माओवादीले चौतर्फी वैमनस्यताको बिज रोपिदियो । सहमति गरेर संविधान बनाउनुपर्नेमा असहमतिको बिउ रोपिदियो । यस्तै–यस्तै अनावश्यक र भाँजो हाल्ने कुरा मात्र गरेर उसले संविधानसभाको मूल्यवान समय त्यत्तिकै खेरफाल्नमै आफूलाई व्यस्त राखेको जगजाहेर नै छ । सबभन्दा ठूलो दलको हैसियतले सबैसँग समन्वयात्मक भूमिका निर्वाह गर्दै आफूले प्रतिबद्धता जनाएका र दलहरूबीच सहमति भएका कुराहरूलाई उसले व्यवहारत: क्रियान्वयन गर्दै जानुपर्नेमा उल्टो व्यवहार देखायो । यसर्थ, हामीले इमानदारीका साथ संविधान निर्माणका लागि प्रयास गर्दागर्दै पनि माओवादीकै कारण संविधान बन्न सकेन र अन्तत: अत्यन्त कपटपूर्ण ढङ्गले उसले संविधानसभा नै विघटन गरिदियो ।
० तपाईं काङ्ग्रेसजस्तो ठूलो र विश्वमान्यता प्राप्त पार्टीको महामन्त्री हुनुहुन्छ, तर तपाईं देशभर प्रचारमा नगई आफ्नो क्षेत्रमा मात्र सीमित हुन अप्ठ्यारो लाग्दैन ?
– यसपालिको चुनावको प्रवृत्ति नै फरक छ । प्राय: सबै उम्मेदवारहरू मतदाताको घर–घर पुग्ने, जन–जनसँग साक्षात्कार गर्दै एक–अर्कासँग घुलमिल हुने र मत माग्ने कार्यशैली छ । आमसभा गरेर भोट माग्नेभन्दा पनि प्रत्यक्ष रूपमा मतदातासँग अन्तरक्रिया गर्ने, स–साना भेला, कोणसभा, कोठे मिटिङ गरेरै मतदातालाई आकर्षित गर्नेमा सबैको कन्सर्नर्टेसन भएको कारणले यस्तो महसुस भएको होला । मतदाताहरूले पनि अब उम्मेदवारले प्रत्येक्ष तवरमा आफूकहाँ आई कुरा गरोस्, समस्या बुझोस् र दु:खसुख बाँड्ने चेष्टा उम्मेदवारले गरोस् भन्ने चाहना राखेकाले पनि आ–आफ्ना चुनावी क्षेत्रमा उम्मेदवार केन्द्रित हुनुपरेको हो ।
० तपाईं नेपालको प्रजातान्त्रिक आन्दोलनका शीर्ष व्यक्तित्व लौहपुरुष गणेशमान सिंहका पुत्र हुनुहुन्छ, तर यतिबेला आफूलाई देशकै शीर्ष राजनीतिक व्यक्तित्व दाबी गर्ने प्रचण्डकी पुत्रीले तपाईंलाई निर्वाचनमा पराजित गर्ने कुरा गर्न थालेकी छिन्, एमालेकी विद्या न्यौपानेको उद्घोष पनि त्यस्तै छ, वास्तवमा तपाईंको प्रतिस्पर्धा कोसँग छ ?
– काठमाडौं १ नम्बर क्षेत्रको चुनावी प्रतिस्पर्धा गजबको छ हेर्नुस् । अन्यत्र क्षेत्रमा आफू पहिलो हुनका लागि प्रतिस्पर्धा चलेको छ, तर यहाँचाहिँ नेपाली काङ्ग्रेसलाई पहिलो स्थानमा राखेर दोस्रो को हुने भन्ने प्रतिस्पर्धामा माथि नाम लिइएका उम्मेदवारहरू मैदानमा उत्रिएका छन् । अर्थात्, ०६४ को चुनावमा माओवादीको मत तेस्रो स्थानमा थियो, एमाले दोस्रो थियो, अब कसरी दोस्रो स्थानमा उक्लने भनेर एमाओवादी कसरत गरिएको छ भने आफ्नो दोस्रो स्थानलाई कसरी सुरक्षित राखेर इज्जत बचाउने भन्ने चिन्ताका साथ एमाले पनि लागिपरेको छ । प्रतिस्पर्धा मसँग होइन उहाँहरूबीच दोस्रो बन्नका लागि चलिरहेको छ ।
० तैपनि दुई शीर्ष व्यक्तित्वका छोरा–छोरीबीच प्रतिस्पर्धा चलेजस्तो देखियो नि, होइन र ?
– यस्तो तुलना कसरी हुन्छ ? मेरा पिताजीले ९७ सालमै राणातन्त्र खत्तम गरी प्रजातन्त्र स्थापनार्थ ज्यान जोखिममा राखेर सङ्घर्ष गरेको, ०७ सालको क्रान्तिमा उहाँले त्यत्रो नेतृत्वदायी भूमिका निर्वाह गरेको, यसैगरी पञ्चायती निरङ्कुशताविरुद्ध तीसौँ वर्ष लडेको, जीवनकालमा १५ वर्ष निर्वासित र १५ वर्ष जेलमा गरी कठिन जीवन गुजारेको, मेरी आमा मंगलादेवीले पनि प्रजातन्त्र स्थापनाका निम्ति पन्धौँ वर्ष जेल र निर्वासित जीवन व्यहोर्नुभएको र प्रचण्डजीहरूले जनयुद्धका नाममा हतियार प्रयोग गरी पन्ध्र हजार निर्दोष नेपालीको ज्यान लिएको, शिक्षकलाई कक्षाकोठाबाटै थुतेर नृशंस हत्या गरेको, पत्रकारको घाँटी रेटेको, अन्य आमतहका कैयन नेपालीलाई आमाबाबुकै अगाडि खुकुरीले छप्काएको कलुषित इतिहास ताजै छ । यस्तोमा शान्तिपूर्ण रूपले जनतालाई दु:ख नदिईकन आमनेपालीलाई रैतीबाट नागरिक बनाउन जीवन समर्पण गरेको परिवार र नेपाल एवम् नेपालीलाई त्रासमय द्वन्द्वको भासमा जाकेर अधोगतिमा पु¥याउने धुन्धुकारी भूमिका निर्वाह गरेको परिवारका सदस्यबीच कसरी तुलना हुन्छ ? समस्त नेपाली जनताले यो यथार्थ राम्ररी बुझेका छन् ।
० यसको मतलब यसपटक पनि तपाईं सजिलै चुनाव जित्नुहुनेछ, होइन त ?
– यो फैसला गर्ने त आदरणीय सचेत मतदाताले नै हो । तर, म यत्ति त दाबीका साथ भन्न चाहन्छु कि हिजोको संविधानसभामा लोकतान्त्रिक संविधान निर्माण गरी जारी गराउनका लागि नेपाली काङ्ग्रेसले निर्वाह गरेको भूमिका र त्यसको ठीक विपरीत क्रियाकलापका साथ संविधानसभा नै तुहाउन एमाओवादीले खेलेको खलनायकी भूमिकाको नेपाली जनता तथा आममतदाताले निष्पक्ष मूल्याङ्कन गर्नुहुने नै छ । विकास–निर्माणका काममा पनि मैले निर्वाह गरेको भूमिकासँग सरोकारवाला सबै सुपरिचित नै हुनुहुन्छ । यस्तोमा मेरो जित सतप्रतिशत नै सुरक्षित र सुनिश्चित छ । मेरो मात्रै जितको कुरा होइन, जनचाहनाअनुसारको लोकतान्त्रिक लिखित संविधान बनाएर जारी गर्दै मुलुकलाई शान्ति, राजनीतिक स्थायित्व एवम् विकास र समृद्धिको मार्गमा डो¥याउन अब नेपाली काङ्ग्रेसको विकल्प छैन भन्नेमा नेपाली जनता विश्वस्त बनिसकेकाले देशभर नै काङ्ग्रेसको विजयपताका फहरिने विश्वास मैले लिएको छु ।