सबभन्दा ठूलो क्षति व्यहोर्दै एमाओवादी

सबभन्दा ठूलो क्षति व्यहोर्दै एमाओवादी


prachanda-kiranसंविधानसभा निर्वाचनको तिथि नजिकिँदै जाँदा देशको चुनावी माहौल प्रजातन्त्र र राष्ट्रपे्रमीहरूको पक्षमा सुदृढ हुँदै गएका सङ्केतहरू देखापर्न थालेका छन् । २०६४ को संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ एक सय बीस स्थानमा विजय हासिल गरेर सबभन्दा ठूलो दलको हैसियत बनाउने एनेकपा माओवादी यसपटकको निर्वाचनमा दोस्रो ठूलो दल बन्न पनि मुस्किल पर्ने स्थितिमा पुगेको छ । देशका दुई सय चालीस निर्वाचन क्षेत्रमध्ये अधिकांश क्षेत्रमा नेपाली काङ्गे्रस मूल प्रतिस्पर्धीको रूपमा देखिएको छ । तराईका कतिपय निर्वाचन क्षेत्रमा मधेसकेन्द्रित दलहरूसँग प्रतिस्पर्धामा रहेको काङ्गे्रस सुदूरपश्चिम र पूर्वाञ्चलसहित पहाडी तथा हिमाली क्षेत्रमा नेकपा एमाले र एमाओवादीसँग प्रतिस्पर्धा गर्दै छ । काङ्गे्रसको मूल प्रतिस्पर्धा भने नेकपा एमालेसँग भइरहेको छ । सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा नेपाली काङ्गे्रस कम्तीमा चौध निर्वाचन क्षेत्रमा अगाडि देखिएको छ भने त्यस क्षेत्रबाट एमाले र एमाओवादीले दुई/दुई स्थानमा मात्र विजय हासिल गर्न सक्ने विश्वास गरिएको छ । मध्यपश्चिमको सुर्खेतमा काङ्ग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्का मात्र नभई सो जिल्लाको तीनवटै निर्वाचन क्षेत्रमा काङ्ग्रेस विजयी हुने स्थिति छ । दैलेखको दुई क्षेत्रमा काङ्ग्रेस र एमालेबीच प्रतिस्पर्धा छ । जाजरकोटमा एमाओवादीका शक्ति बस्नेत अगाडि छन् भने सल्यानको एउटा क्षेत्र र रोल्पा तथा रुकुममा एमाओवादी बलियो प्रतिस्पर्धाको रूपमा छ । दाङको सबै क्षेत्रमा काङ्ग्रेस र एमाले मुख्य प्रतिस्पर्धीको रूपमा रहेका छन् । बागमती अञ्चलका २९ निर्वाचन क्षेत्रमध्ये झण्डै दुई दर्जन निर्वाचन क्षेत्र हात पार्ने एनेकपा माओवादीले यसपालि जम्मा दुईभन्दा बढी स्थानमा विजय हासिल गर्न सके भने त्यसैलाई ठूलो उपलब्धि मान्नुपर्ने अवस्था छ । बागमतीमा काङ्गे्रस र एमालेबीच मुख्य प्रतिस्पर्धा भए पनि बढी स्थान काङ्गे्रसले हात लगाउने सम्भावना छ भने दोस्रो स्थान नेकपा एमालेले सुरक्षित तुल्याउने स्थिति छ । हालसम्म एनेकपा माओवादी काभे्रको क्षेत्र नंंं. एकमा मात्र अगाडि देखिएको छ । सिन्धुपाल्चोकमा अग्नि सापकोटा, नुवाकोटमा पोष्टबहादुर बोगटी, धादिङमा शालिकराम जमकटेल, ललितपुरमा हरि दाहाल, काठमाडौंमा नन्दकिशोर पुन मात्र मुख्य प्रतिस्पर्धीका रूपमा देखापरेका छन् । काठमाडौं क्षेत्र नं. १० मा उम्मेदवार बनेका प्रचण्ड अहिलेसम्म तेस्रो स्थानमा छन् । सो क्षेत्रमा नेपाली काङ्गे्रसका राजेन्द्र केसी अग्रपङ्क्तिमा देखिएका छन् भने केसीसँग एमालेका सुरेन्द्र मानन्धरले प्रतिस्पर्धा गरिरहेका छन् । कुनै चमत्कार गरेर प्रचण्ड दोस्रो स्थानमा उक्लन सकेनन् भने उनले यसपटक तेस्रो स्थानमै चित्त बुझाउनुपर्ने अवस्था छ । पूर्वाञ्चलको झापामा एमाओवादीका पूर्णसिंह राजवंशी जो क्षेत्र नं. २ मा उम्मेदवार बनेका छन्, उनी मात्र अगाडि देखिएका छन् । क्षेत्र नं. ३ मा काङ्गे्रस महानमन्त्री कृष्ण सिटौलासँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता एमाओवादीकी धर्मशिला चापागार्इंले देखाएको भए पनि यसपालि सिटौला नै अगाडि रहेका छन् । क्षेत्र नं. ७ मा एमाओवादीका गोपाल किरातीलाई एमाले नेता केपी शर्मा ओलीले धेरै नै पछाडि पारिदिएका छन् । झापा एक नं. क्षेत्रमा काङ्गे्रसका विश्वप्रकाश शर्मा र एमालेका रविन कोइरालाबीच मुख्य प्रतिस्पर्धा भए पनि शर्मा केही अगाडि मानिएका छन् । झापाको चार नं. क्षेत्रमा काङ्गे्रसका उद्धव थापा एमालेका पे्रम गिरीभन्दा धेरै अगाडि छन् भने ६ नं. क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धामा एमालेका दीपक कार्की केही अगाडि रहेको मानिन्छ । पाँच नं. क्षेत्रमा चाहिँ एमाओवादीका झलक दर्लामी, एमालेका एलपी साँवा र काङ्गे्रसका केशवकुमार बुढाथोकीबीच त्रिपक्षीय प्रतिस्पर्धाको स्थिति छ । इलामका तीनवटै निर्वाचन क्षेत्रमा काङ्गे्रस र एमाले मुख्य प्रतिस्पर्धी रहेका छन् । क्षेत्र नं. तीनमा काङ्गे्रसका केशव थापा र दुईमा एमालेका सुवास नेम्वाङलाई बढी सुरक्षित उम्मेदवारका रूपमा हेरिएको छ । पाँचथर एकमा काङ्गे्रसका नरेन्द्र केरुङ एमालेसँगको प्रतिस्पर्धामा अगाडि रहेका छन् भने दुई नम्बर क्षेत्रमा एमालेका डम्बरसिंह सम्वाहाम्फे र काङ्गे्रसका भीष्मराज आङदम्बेबीच प्रतिस्पर्धा देखिएको छ । ताप्लेजुङको दुई नम्बर क्षेत्रमा भने एमाओवादीका डम्बरध्वज तुम्बाहाम्फे केही बलियो मानिएका छन् । तर, एक नम्बर क्षेत्रमा काङ्गे्रसकी लीला बोखिमले आफ्नो विजय सुनिश्चित तुल्याउँदै लगेकी छिन् । मोरङको क्षेत्र नं. एक मा काङ्गे्रस नेता आमोदप्रसाद उपाध्याय प्रतिस्पर्धामा धेरै अगाडि देखिएका छन् भने क्षेत्र नं.२ मा शेखर थापा, पाँचमा अमृत अर्याल र ६ मा महेश आचार्यले काङ्गे्रसको तर्फबाट विजयी झण्डा फहराउने सम्भावना बढेको छ भने क्षेत्र नं. ७ मा काङ्गे्रस नेता शेखर कोइराला र फोरम अध्यक्ष विजय गच्छदारबीच तीव्र प्रतिस्पर्धाको स्थिति छ ।
त्यसैगरी क्षेत्र नं. ९ मा एमालेका घनश्याम खतिवडा र काङ्गे्रसका डिकमान लिम्बू मुख्य प्रतिस्पर्धामा छन् । ललितपुर छोडी मोरङको ९ नम्बर क्षेत्रमा उम्मेदवारी दिन पुगेका एमाओवादी नेता वर्षमान पुन हालसम्म तेस्रो स्थानमा रहेका छन् । मोरङ ८ मा एमालेका चन्द्रबहादुर गुरुङ र काङ्गे्रसका रमेशजंग रायमाझीबीच प्रतिस्पर्धा देखिएको छ । क्षेत्र नं. ३ मा एमालेका गुरु बरालको स्थिति केही राम्रो मानिएको छ भने ४ नम्बर क्षेत्रमा चाहिँ एमाओवादीका शिवकुमार मण्डल केवट अगाडि देखिएका छन् । क्षेत्र नं. ९ मा वर्षमान पुनले ठूलो धनराशि खर्च गर्न सक्ने चिन्ता काङ्गे्रस र एमालेका उम्मेदवारहरूमा पैदा भएको छ ।
सिरहाको ५ नम्बर क्षेत्रमा एमाओवादी अध्यक्ष प्रचण्डलाई एमालेका लीला श्रेष्ठले पछाडि पार्ने स्थिति बनिसकेको छ भने रूपन्देही र गोरखाबाट उम्मेदवार बनेका डा. बाबुराम भट्टराईको स्थिति दुवै क्षेत्रमा कमजोर देखिँदै छ । गोरखामा काङ्गे्रसका किरणबाबु श्रेष्ठ र रूपन्देहीमा एमाले नेता विष्णु पौडेल डा. भट्टराईभन्दा सुदृढ देखिएपछि भट्टराईले दुवै क्षेत्रमा पराजय व्यहोर्ने सम्भावना बढेको छ ।
पश्चिम नेपालमा अखण्ड नेपाल पार्टी तथा धवलागिरी अञ्चलका केही जिल्ला र प्युठानमा राष्ट्रिय जनमोर्चा काङ्गे्रस र एमालेको मुख्य प्रतिस्पर्धीको रूपमा देखापरेका छन् । चितवनको एउटाबाहेक सबै क्षेत्रमा काङ्गे्रस र एमालेबीच मुख्य प्रतिस्पर्धा रहेको छ । पर्सा, बारा, रौतहट र सर्लाहीलगायतका जिल्लामा काङ्गे्रस कतै मधेसकेन्द्रित दलसँग त कतै एमाओवादी र एमालेसँगको प्रतिस्पर्धामा देखिएको छ भने सिन्धुली, ओखलढुङ्गा, मकवानपुर, दोलखा, रामेछापसहित अधिकांश जिल्लामा काङ्गे्रस र एमाले नै प्रमुख प्रतिस्पर्धी बनेका छन् । यसरी चुनावी मैदानमा सबभन्दा बलियो पार्टीका रूपमा काङ्गे्रस देखापरेको छ भने दोस्रो शक्तिका रूपमा एमाले देखिएको छ । एमाओवादी तेस्रो ठूलो दलको रूपमा सीमित हुने सम्भावना बढ्दै गएकाले संविधानसभाको दोस्रो निर्वाचन एमाओवादीका निम्ति सबभन्दा क्षतिपूर्ण हुने निश्चितप्राय: छ । क्षति त मधेसकेन्द्रित दलहरूले पनि व्यहोर्ने अवस्था छ, तर एमाओवादीलाई निर्वाचनले सबभन्दा बढी क्षति पु¥याउनेमा अब शङ्कै नगर्दा हुने भएको छ ।