स्वर्णपदकधारी भण्डारीलाई सम्मानको ओइरो

स्वर्णपदकधारी भण्डारीलाई सम्मानको ओइरो


– किशोर बुढाथोकी/सिन्धुपाल्चोक

जिल्लाको फुल्पिङकोटमा जन्मिएर नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाएका तेक्वान्दो खेलाडी प्रेम भण्डारीलाई सम्मानको ओइरो लागेको छ । दक्षिण कोरियामा भएको १२औँ विश्व तेक्वान्दो कल्चर एक्सपो र विश्व तेक्वान्दो हामादाङ प्रतियोगितामा स्वर्ण पदक पाएका भण्डारीलाई गृह जिल्ला सिन्धुपाल्चोकलगायत अन्य स्थानमा सम्मान गरिएको हो ।

कोरियामा भएको खेलमा भण्डारीले ८० केजी तौल समूहमा गेरोगीतर्फ स्वर्ण पदक र पुम्सेतर्फ रजत पदक जितेका थिए । प्रतियोगितामा पाएको सफलतासँगै देशको नाम राखेको भन्दै उनलाई सम्मान तथा पुरस्कारको ओइरो लागेको हो । जितलगत्तै उनी सुरुमै दक्षिण कोरियामा सम्मानित भएका थिए । कोरियामा उनलाई सिन्धु समाज दक्षिण कोरिया र प्रदेश नं ३ एकता समाज दक्षिण कोरियाद्वारा गरेका थिए ।

स्वदेश फर्किएपछि भण्डारीलाई बाह्रबिसे नगरपालिकाबाट नगरपालिकाले ६१ हजार नगद पुस्कारसहित सम्मान गऱ्यो । त्यस्तै भण्डारी प्रशिक्षक रहेका होलिक्रस स्कुल, बाह्रविसे तेक्वान्दो डोजाङ, ग्रिनल्याण्ड सेकेण्डरी स्कुल, हेभन्ली गार्डन क्याम्पस र हिराहरी तेक्वान्दो डोजाङ चौताराबाट पनि उनी सम्मानित भए ।

कोरियामा गएर अन्तर्राष्ट्रिय स्वर्ण पदक पाएका कोरियाले सम्मानले थप जिम्मेवारी बोध गराएको प्रतिक्रिया दिए । तेक्वान्दोमा झण्डै तीन दसक बिताएका भण्डारीले जिल्लामा स्वयमसेवी प्रशिक्षकका रुपमा सक्रिय रहँदै तेक्वान्दो खेलाडी उत्पादन गरिरहेका छन् ।