एआईजी बन्ने चलखेल उत्कर्षमा

एआईजी बन्ने चलखेल उत्कर्षमा


bichar– विपन भण्डारी
प्रहरी महानिरीक्षकमा पदोन्नति भएका उपेन्द्रकान्त अर्यालले आफ्नो कार्यभार सम्हालेपछि अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पदको रिक्त सात स्थानमा बढुवा पाउन महानिरीक्षक अर्यालकै ब्याजका डीआईजीहरू आ–आफ्नो पहुँच पु¥याउन जोडतोडले लागेका छन् । उनीहरूले राजनीतिक दलका नेताहरूदेखि विभिन्न कूटनीतिकज्ञहरूलाई समेत आफ्नो पक्षमा लबिङ गरिदिन आग्रह गर्न थालेको चर्चा प्रहरी निकायमै हुन थालेको छ ।
एआईजी हुन एकीकृत नेकपा माओवादीका नेताहरूलाई रिझाउने खेलमा लागेका कतिपय डीआईजी निर्वाचनको परिणामले पछिल्लो परिणामका कारण अहिले खिन्न भएको एक प्रहरी अधिकृतले बताए । एकीकृत नेकपा माओवादी यो चुनावबाट तेस्रो पार्टीमा आएपछि उसको प्रभाव सरकारमा कम हुने अनुमानका आधारमा पदोन्नति चाहने डीआईजीहरूमा खिन्नता छाएको हो । सरकारमा अब काङ्ग्रेस र एमालेको पकड बलियो हुने भएकोले तिनै दिलका नेताहरूसँग प्रहरी उच्चाधिकारीहरूले खुसामद सुरु गर्ने भएका छन् ।
रिक्त सात एआईजी पदका लागि १६ डीआईजीहरूबीच प्रतिस्पर्धा रहेको छ । यसका लागि दुई महिला डीआईजीसहित राजेन्द्रसिंह भण्डारी, नारायण बस्ताकोटी, सुरेन्द्रबहादुर शाह, केदारप्रकाश साउद, रमेशशेखर बज्राचार्य, विज्ञानराज शर्मा, गणेशराज राई, यादव अधिकारीलगायत प्रमुख दाबेदार देखिएका छन् । महिला डीआईजीद्वय पार्वती थापामगर र विमला थापाले एआईजी पदका लागि दाबी गर्नु अस्वाभाविक नभए पनि उनीहरू यही मङ्सिर १२ गते नै अवकाश पाउने लाइनमा रहेकाले उनीहरूले बढुवा पाउनेमा आशङ्का रहेको बताइन्छ । यसअघि पनि महिलालाई विशेष बढुवा गरेर डीआईजी बनाइएकाले यसभन्दा माथि लैजान नमिल्ने अवस्था रहेको भनी प्रहरीको उच्च निकायलाई उद्धृत गर्दै विभिन्न टिप्पणीहरू सार्वजनिक हुँदै आएका छन् ।
यता अर्यालसँगै आईजीपीको दाबी गरेका राजेन्द्रसिंह भण्डारी र सुरेन्द्रबहादुर शाह एआईजी पदमा बढुवा हुने पक्कापक्की ठानिएको छ भने बाँकी स्थानमा कडा टक्कर हुने देखिएको छ । आफ्नो कार्यकालभर विवादमुक्त रहेका केदारप्रसाद साउद, मध्यमाञ्चल प्रहरी प्रमुखका रूपमा कार्यरत विज्ञानराज शर्मा, नारायण बस्ताकोटी, रमेशशेखर बज्राचार्य आदि एआईजी पदका लागि बलिया दाबेदार मानिन्छन् । जिम्मेवारी निर्वाहमा गम्भीर बन्नेभन्दा पनि एमाओवादीको संरक्षण खोजेर ढुक्क हुनखोज्ने डीआईजीहरूलाई भने यसपटक विगतमा जस्तै असहज अवस्था आइपर्ने देखिएको छ । बढुवाको यो खेलमा यसपटक पनि वीरेन्द्रबाबु श्रेष्ठ, पर्शुराम खत्री, गणेशराज राईको अवस्था कमजोर देखिएको एक प्रहरी अधिकारीले बताए ।
यसैगरी, पाँचजना एआईजीमा बढुवा भएपछि त्यही सङ्ख्याका वरिष्ठ उपरीक्षक एसएसपीहरू डीआईजीमा बढुवा हुनेछन् । त्यसका लागि २०४३ र २०४४ ब्याचका एसएसपीबीच प्रतिस्पर्धा हुने देखिएको छ । २०४३ ब्याचबाट धेरैजसो डीआईजी भइसके पनि श्यामबहादुर खड्का, पूर्णसिंह खड्का, मनोहरप्रसाद रिमाललगायत एसएसपीबाट माथि उक्लिन आजको दिनसम्म असफल नै भएका छन् । २०४३ ब्याचका बाँकी एसएसपी विभिन्न किसिमका विवादमा मुछिएकाले पनि डीआईजी बढुवामा आफूहरू पर्नुपर्ने भन्दै २०४४ ब्याचका एसएसपीसमेत तीव्र लबिङमा लागेका छन् ।
पूर्वप्रहरीप्रमुखहरू सभासद् बन्नबाट वञ्चित
संविधानसभा निर्वाचनको प्रत्यक्षतर्फ उत्रिएका पूर्वप्रहरीप्रमुखहरू ध्रुवबहादुर प्रधान र प्रदीपशमशेर राणाले पराजय व्यहोरेका छन् । राष्ट्रिय मधेस समाजवादी पार्टीका उम्मेदवारका रूपमा रौतहट–४ मा खडा भएका पूर्वआईजीपी राणा चौथो स्थानमा पर्दै पराजित भए । सो क्षेत्रका एकीकृत माओवादीका उम्मेदवार सत्यनारायण भगत बिनले १० हजार आठ मत ल्याई विजयी बन्दा पूर्वआईजीपी राणाले दुई हजार सात सय ६० मत मात्र ल्याउन सके ।
त्यसैगरी नवलपरासी–४ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तर्फबाट उम्मेदवार बनेका पूर्वआईजीपी ध्रुवबहादुर प्रधानले पनि लज्जास्पद पराजय व्यहोर्नुप¥यो । उनी त झन्् छैटौँ स्थानमा रहे । सो क्षेत्रबाट पहिलो हुने नेकपा एमालेका उम्मेदवार वैजनाथ चौधरी थारूले १० हजार सात सय ५० मत प्राप्त गर्दा प्रधानले भने मात्र एक हजार तीन सय ९४ मत ल्याएका थिए । यस्तै, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट मोरङ–६ मा उम्मेदवार बनाइएका पूर्वडीआईजी भक्तिनाथ माझी थारूले सम्मानजनक पराजय व्यहोरेका छन् । नेपाली काङ्ग्रेसका महेश आचार्यले १२ हजार पाँच सय ५२ मत हासिल गरी विजयी हुँदा पूर्वडीआईजी थारूले सात हजार पाँच सय ६८ मत ल्याएर दोस्रो बनेका थिए ।