अन्तर्राष्ट्रिय खेलकुदमा पदक जित्न ‘लबिङ’को महत्वपूर्ण भूमिका हुन्छ । अन्तर्राष्ट्रिय सम्बन्ध र लबिङ एक–अर्काका परिपूरक भएकाले लबिङबिना नेपालजस्तो मुलुकले एसियाली खेलकुदमा पदकको कल्पनासमेत गर्न सक्तैन भन्नुमा अतिसयोक्ति नहोला । यो कुरा खेलकुदका पदाधिकारीहरूले राम्रोसँग बुझेका छन्, तर व्यवहारमा उतार्ने कार्य गरेका छैनन् । राष्ट्रको सम्बन्धभन्दा व्यक्तिगत सम्बन्ध गाँसेर त्यसको व्यक्तिगत रूपमा फाइदा उठाउँदै आएका छन् । जसले ती पदाधिकारीहरूको व्यक्तिगत स्वार्थ पूरा भए पनि राष्ट्रको स्वार्थ भने पूरा हुन सकेको छैन ।
अब कुरा आउँछ, आखिर अन्तर्राष्ट्रियस्तरमा कसले लबिङ गर्ने ? राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी कि सम्बन्धित सङ्घका पदाधिकारीले ? अहिले यो प्रश्न अहम् बनेको छ । नेपालको खेलकुदको चर्चा गर्दा राष्ट्रिय खेलकुद सङ्घहरू राखेपमा दर्ता भए पनि उनीहरू स्वायत्त छन् । परिणाम, ती सङ्घहरूले नै अन्तर्राष्ट्रिय सङ्घसंस्थामा आफ्नो सम्बन्धलाई विस्तार गरेका छन् र नजिक पनि बन्न पुगेका छन् । तर, उनीहरूको सम्बन्ध राष्ट्रिय सम्बन्ध हो कि व्यक्तिगत त्यसको लेखाजोखा अहिलेसम्म सम्बन्धित निकाय राखेपले गरेको छैन । उनीहरूलाई लगाम लगाउनुको साटो खुला साँढेसरि छोडिदिएको छ । जसले गर्दा अन्तर्राष्ट्रियस्तरमा राष्ट्रको सम्बन्ध सुमधुर र बलियो हुनुको साटो व्यक्तिको सम्बन्ध सुमधुर र बलियो बनिरहेको छ । ती सङ्घकै पदाधिकारीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा हालिमुहाली गरिरहेका छन् । विडम्बना ! राष्ट्रको खेलकुदको सर्वोच्च निकाय युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् मूकदर्शक मात्रै बनेका छन् । खेलुकदमा व्यक्तिले धमिराको गुँड लगाएर समाप्त पार्न खोज्दा पनि अनदेखी र अनसुनीको अवस्थामा छन् । आखिर किन ? यो प्रश्न उठ्नु स्वाभाविक बनेको छ ।
खेलकुदलाई हाँक्ने सम्पूर्ण जिम्मेवारी पाएको राखेपले अफिसियल प्रतियोगितामा सङ्घका पदाधिकारीको कहानी सुन्ने मात्र गरेको छ । सङ्घभित्र के भइरहेको छ, त्यसप्रति कहिल्यै चासो राखेको छैन । साँचो रूपमा भन्नुपर्दा सङ्घका पदाधिकारीहरूले जे भने त्यसैमा विश्वास गर्दै लालमोहर लगाउँदै आएको छ । १८औँ एसियाडमा पनि राखेपले आँखा चिम्लिएर सङ्घका पदाधिकारीहरूमाथि विश्वास गरेको छ । आफूले कहिल्यै पनि हस्तक्षेप गर्ने कोसिस गरेको छैन । उल्टै उनीहरूले जे भन्यो त्यसैमा विश्वास गर्दै सोही कुरालाई महत्व दिएको छ । तर, सम्बन्धित निकायले खेलकुदमा राज्यले गरेको लगानीको प्रतिफलबारे सङ्घका पदाधिकारीहरूसँग कुनै साँवाव्याजको हिसाबकिताब गरेको छैन ।

प्रायजसो रेफ्री ओरिन्टेड पावर गेमहरू बक्सिङ, तेक्वान्दो, कराते, उसु र जुडोमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा ‘लबिङ’ हुँदै आएको कसैबाट छिपेको छैन । जहाँ टाइसिट बनाउँदादेखि नै ‘लबिङको राजनीति’ शुरु हुन्छ । उक्त राजनीति शुरु भएपछि अर्थात् अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो भएको राष्ट्रले आफ्नो खेलाडीलाई कमजोर राष्ट्रको समूहमा पारेर पदक जित्न सफल हुन्छ । विगतमा नेपालले पनि यस्तो लबिङको राजनीति नगरेको होइन, गरेको थियो, तर अहिले किन गर्दैन त्यो महत्वपूर्ण कुरा हो । तत्कालीन राखेपका सदस्यसदस्य शरदचन्द्र शाहले राष्ट्रलाई पदक दिलाउन दक्षिण एसियाली खेलकुद होस् या एसियाली खेलकुद सबैमा राजनीतिक लबिङ गरेका थिए । परिणाम उनको समयमा नेपालले साफ र एसियाली खेलकुदमा नेपाललाई पहिलोपटक स्वर्ण र कांस्य पदक दिलाउन सफल भएका थिए । स्मरण रहोस्, यही लबिङका कारण नेपालले ३२ वर्षपछि एसियाडमा एकैपटक आठवटा कांस्य पदक जितेको थियो । सिउल ओलम्पिकमा राखिएको प्रदर्शन खेलमा विधान लामाले तेक्वान्दोमा जितेको कांस्य पदकलाई पनि यसको उदाहरणको रूपमा लिन सकिन्छ । किनकि त्यतिबेला शरदचन्द्र शाह नेपाल ओलम्पिक कमिटीको अध्यक्ष मात्र नभई ओलम्पिक कमिटी अफ एसिया (ओसीए) को महासचिव पनि थिए ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदकको नजिक पुगेर पनि लबिङ गर्न चुकेका कारण पदकविहीन बनेको घटना अहिले पनि ताजै छ । बेलाबेलामा ती घटनाको स्मरण गर्दा र गराउँदा खेलकुदका पदाधिकारी अहिले चुकचुकाएका र मुख मिठ्याएको सायदै कसैले बिर्सेको होला । अर्को कुरा अहिले नेपालबाट युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेपका सदस्यसचिव केशवकुमार विष्ट र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ अहिले १८औँ एसियाडमा सहभागिता जनाउन इन्डोनेसियाको जकार्तामा छन् । यसबारेमा उनीहरूले गम्भीर रूपमा कुरा उठाउन सक्छन् । नेपाललाई लबिङ गरेर पदक मात्र नभई भौतिक पूर्वाधारको विकास र अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना र अनुदानबारे छलफल गर्न सक्छन् । तर, विडम्बना ! यहाँ कोही पनि यस्तो दूरदर्शी रणनीति बनाएर आएको देखिँदैन । उनीहरूले एसियाडमा सहभागितालाई आफ्नो र राष्ट्रको सफलता मानेका छन् ।
प्रतिक्रिया