एसियाडमा तेक्वान्दोको लज्जाजनक प्रदर्शन

एसियाडमा तेक्वान्दोको लज्जाजनक प्रदर्शन



– श्रीविक्रम भण्डारी (जकार्ता, इन्डोनेसिया)

जकार्ताको इन्डोनेसियामा सञ्चालन भैरहेको १८औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत आज भदौ ५ गते नेपालले ९ खेलमा प्रतिस्पर्धा गरेको थियो । नेपालले ९ वटा खेलमा प्रतिस्पर्धा गरे पनि सुखद समाचार कुनै खेलबाट पनि आउन सकेन् । तेक्वान्दोमा एउटा खेल जित्नु नै नेपालका लागि ठूलो उपलब्धि बन्यो ।

भदौ ५ गते नेपाली खेलाडीहरुले पौडी, फेन्सिङ, तेक्वान्दो, आर्चरी, बास्केटबल, साईक्लीङ, प्याराग्लाइडिङ, उसु र भारोत्तोलनमा प्रतिस्पर्धा गरेका थिए । यी खेलमा नेपालले पदक जित्नेभन्दा पनि सहभागिता जनाउने किसिमबाट प्रतिस्पर्धामा सामेल हुनु नेपालको लागि दुर्भाग्य बनेको छ । साथै नेपालको एसियाली खेलकुदमा पदक जित्ने सपना दिन–प्रतिदिन न्युन हुँदै गएको छ । अन्य सहभागी खेलको चर्चा गर्दा अनुभव बटुल्नु नै नेपालको लागि उपलब्धि बनेको छ ।

५७ केजी तौल समुहको पहिलो राउण्डमा तेक्वान्दोतर्फ नेपालकी ज्ञानी चुनाराले भुटानकी चोडेन किनजाङलाई पराजित गर्दै पदकको आश दिखाए पनि त्यो आशमै समित भएको थियो । दोश्रो राउण्डमा पनि उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरिएकी चुनारा उक्त राउण्डमा नमिठो पराजय भोग्नु परेको थियो । चुनारा फिलिपिन्सकी पाउलिन लुईस लोपेजसँग २०–० ले पराजित भइन् । चुनाराले पहिलो राउण्डमा भुटानकी खेलाडीलाई २८–६ को अन्तरले पराजित गरेकी थिइन् ।

त्यस्तै उसुतर्फ ६० केजी तौल समुहमा नेपालकी लुमन्ती श्रेष्ठले पहिलो राउण्डमा वाई पाएर क्वाटर फाइनलमा पुगेपछि नेपाल पदकको नजिक पुगेको थियो । तर क्वाटर फाइनलमा थाइल्याण्डकी सुचया बुएलुयनले नेपालको १८ औं एसियाडमा पहिलो पदक जित्ने सपना चकनाचुर पार्दै श्रेष्ठलाई पहिलो राउण्डमै ठूलो अंकको अन्तरले पराजित गरेकी थिइन् ।

यसैगरी भारोत्तोलनतर्फ ५३ किलो समुहको प्रतिस्पर्धामा सन्जु चौधरीले आफ्नो प्रदर्शनमा सुधार गरे पनि अन्तिम १२ भन्दामाथि उक्लिन सकिनन् । सन्जुले स्न्याच र क्लीन एण्ड जर्कतर्फ कुल १ सय ५८ केजी भार उठाएकी थिइन् ।

त्यस्तै पौडीका सिरिङ गुरुङ, तेक्वान्दोका ओनोज पुजारा र निसा रावलले पनि आज पराजयको मुख देख्नुपरेको छ । ६७ केजीतर्फ प्रतिस्पर्धा गरेका पुजारा काजकिस्तानका खेलाडी रुसलान जापारोभसँग २१–० को अन्तरले लज्जात्मक तरिकाले पराजित भएका थिए । त्यस्तै निसा रावलपनि आफ्नो प्रतिद्वन्दी चीनकी पङ गाओसँग २२–६ को अन्तरले पराजित भएकी थिइन् ।

सम्भावित पदक जित्ने सूचीमा राखिएका तेक्वान्दोका खेलाडीहरुले सर्मनाक प्रदर्शन गरेपछि अब बाँकी खेलाडीहरुबाट पदकको आशा मारिएको तेक्वान्दोका प्रशिक्षकले नाम नखुलाउने सर्तमा जानकारी गराएका छन् । ती प्रशिक्षकले अब बाँकी खेलमा तेक्वान्दोले पदक नजित्ने ठोकुवा समेत गरेका थिए । तेक्वान्दोमा अँझै तीन खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी छ ।