लघुकथा समाज, नेपालले स्थापनाको दशौं वर्षका अवसरमा आयोजना गरेको एक कार्यक्रममा वरिष्ठ लघुकथाकार नारायण तिवारीलाई पद्मा रामचन्द्र लघुकथा सम्मानबाट सम्मानित गर्यो ।
समाजले आफ्नो स्थापनाको दिन भदौ ५ गतेलाई लघुकथा दिवशका रुपमा मनाउँदै तिवारीलाई सम्मान गरेको हो । सम्मानको राशी १० हजार एक रुपैयाँको रहेको छ ।
हालै काठमाडौमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले तिवारीलाई सम्मान पत्र प्रदान गरे ।
समाजका अध्यक्ष श्रीओम रोदनको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सह आयोजक सर्वनामका अशेष मल्ल, सम्मानित स्रष्टा तिवारी, समालोचक डा. लक्ष्मण गौतम, धु्रव मधिकर्मी तथा तुलसीहरि कोइरालाले बोलेका थिए ।
सो अवसरमा नेपाली लघुकथाको छैठौं अंकको विमोचन पनि गरिएको थियो भने नारायण तिवारीको लघुकथा क्यान्सरको जात सर्वनामका कलाकारहरुले मञ्चन गरे । लघुकथा मञ्चनको निर्देशन राज शाहले गरेका थिए ।
लघुकथा दिवशकै अवसरमा त्रिदिवशीय लघुकथा दिवस मनाउने क्रममा सोमबार समाजले लघुकथा वाचनको कार्यक्रम आयोजना गरेको थियो ।
सो कार्यक्रममा माया ठकुरी, भागिरथी श्रेष्ठ, अशेष मल्ल, किशोर पहाडी, गोविन्द गिरी प्रेरणा, मोहनबहादुर कायस्थ, मन्दिरा मधुश्री, देवा अधिकारी, विमल भौकाजी, गंगा सुवेदी, राधा कार्की, नारायण तिवारीले आआफ््ना लघुकथा वाचन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समालोचक प्रा. मोहनराज शर्माले लघुकथा लेखकले लघुकथाका सिद्धान्तलाई विशेष ध्यान दिनुपर्ने बताए ।
प्रतिक्रिया