एसियाडमा निरासाजन प्रदर्शन श्रृंखला जारी

एसियाडमा निरासाजन प्रदर्शन श्रृंखला जारी


– श्रीविक्रम भण्डारी (इन्डोनेसिया, जाकर्ता)

नेपाली खेलाडीहरुको निरासाजनक प्रदर्शनले यतिबेला जाकर्तामा रहेको नेपाली खेलाडी एवम् पदाधिकारीबीच भएका सन्नाटा छाएको छ । इन्डोनेसियाको जाकर्ता र पालेम्वाङमा सञ्चालन भैरहेका कुनै पनि खेलमा नेपाली खेलाडीले अपेक्षाअनुसारको प्रदर्शन गर्न सफल भएनन् ।

नेपालले पराजयको श्रृंखला बनाउँदै गर्दा के १८ औं एसियाडमा नेपाल पदकविहीन नै हुने त होइन चर्चा चल्न थालेको छ । यदि यो एसियाडमा नेपाल पदकविहीन भयो भने सन् १९८६ पछि पहिलो पटक पदकविहीन को ‘रेकर्ड’ कायम हुनेछ । स्मरण रहोस्, नेपालले सन् १९८६ मा पहिलो पटक एसियाडमा पदक जितेपछि खाली हात घर पर्किनु परेको छैन ।

नेपाली खेलाडीहरुको यस्तो दयनीय प्रदर्शनका बारेमा राखेपका सदस्यसचिव, एसियाडमा नेपाली टोलीका टोली नेता तथा ‘सेभ द मिसन’ केसवकुमार विष्टसंग सम्पर्क गर्दा विष्टले नेपालको पदक जित्ने सम्भावना अझै जीवित रहेको बताए । विष्टले भने– ‘हो हामीले अहिलेसम्म पदक जित्न सकेका छैनौं, तर पदक जित्ने कुरामा आश पनि मारिसकेका छैनौँ ।’ तेक्वान्दो प्रदर्शन निरासाजनक रहेपनि सम्भावित पदक जित्ने खेलहरु खेल्न अँझै बाँकी छ भन्दै विष्टले भने– ‘कराते र बक्सिङका खेलाडीले नेपाललाई पदक दिलाउने खुलासा गरे । यतिबेला युवा तथा खेलुकद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र विष्ट नेपाली खेलाडीहरुको खेल हेर्न पालेम्वाङमा रहेका छन् । पालेम्वाङमा एसियाडमा राखिएका ६ वटा खेल संचालन हुँदैछन् ।

१८ औं एसियाली खेलकुद प्रतियोगितामा भदौ ६ गते बुधवार नेपाली खेलाडीहरुले दसवटा खेलहरु बास्केटबल, फेन्सिङ, कबड्डी, प्याराग्लाईडिङ, पौडी, तेक्वान्दो, टेनिस, भलिबल, भारोत्तोलन र उसुमा प्रतिस्पर्धा गरेको थियो । यी प्रतिस्पर्धा गरेका खेलहरुमा तेक्वान्दो बाहेक सवै खेलमा नेपाल पहिलो राउण्डमै पराजित भएको छ । तेक्वान्दोको ६३ केजी तौल समुहको पहिलो राउण्डमा नेपालका बीरवहादुर महराले अफगानिस्तानका खेलाडीलाई पराजित गर्नुबाहेक नेपालले विजयको अर्को सुखद समाचार सुन्न पाएन् । दोश्रो राउण्डमा महरा पनि काजकिस्तानका खेलाडीसंग पराजित भएपछि तेक्वान्दोवाट अर्को निरासा हात लागेको थियो । अव तेक्वान्दोतर्फ नेपालले भदौं ७ गते अन्तिम दुईवटा खेल खेल्न मात्रै बाँकी छ ।

त्यस्तै पहिलो राउण्डमा विजयी भएर दाश्रो राउण्डमा पुगेका लन टेनिसका जुम्ल्याहा दिदीबहिनी मायांका राणा र माहिका राणाले महिला डबल्सको दोश्रो खेलमा नमिठो पराजय भोगेका छन् । राणा दिदीबहिनीलाई जापानका खेलाडीले ६–०, ६–० को सोझो सेटमा पराजित गरेका थिए । यसैगरि तेक्वान्दो ८० केजीतर्फ भुपेन्द्र श्रेष्ठ अफगानिस्तानका रामेश हुसैनीसंग २७–७ को अन्तरले पराजित भएका थिए ।

त्यस्तै पौडीतर्फ २०० मिटर फ्रिस्टाइल हिटमा नेपालकी गौरिका सिंहले सातौं स्थान हासिल गरेन् । पौडीतर्फकै १०० मिटर ब्रेकस्टोकको हिटमा प्रतिस्पर्धा गरेका शुभम श्रेष्ठले अर्को चरणमा पुग्न सकेनन् । त्यस्तै फेन्सिङतर्फ पनि नेपाल महिला टोली थाइल्याण्डको टोलीसंग ४५–१० को अन्तरले पराजित भएको थियो । यसैगरि पदकको आशा गरिएको प्याराग्लाईडिङमा पनि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । सो प्रतिस्पर्धामा नेपाली पुरुष टीमले आठौं र महिला टीमले सातौं स्थानमा रहेका थिए ।

भदौ १० गते बुधवारसम्म नेपालले १६ वटा खेलहरुमा प्रतिस्पर्धा गरिरहेको छ । यी १६ वटा खेलमा नेपालले पदकको आशा गरेका दुईवटा खेल तेक्वान्दो र प्याराग्लाईडिङ थिए । तर यी दुवै खेलमा नेपाली खेलाडीहरुको निरासाजनक प्रदर्शनले पदक जित्ने सम्भावनालाई निकै न्युन बनाएको छ । अव नेपालको पदकको आशा भनेको कराँते र बक्सिङमा टिकेको छ । ति खेलहरु आगामी भदौं ९ गते देखि संचालन हुँदैछन् ।