‘म सभासद् हुन्छु’ : भुवन केसी

‘म सभासद् हुन्छु’ : भुवन केसी


bhuvankcनाम होस्, बद्नाम होस् तर गुमनाम नहोस् । यो गुरुमन्त्र नै हो सद्बहार नायक भुवन केसीको । जीवनमा थुप्रै अवसर र फाइदाका कुरा आउँदा पनि उनले चलचित्र क्षेत्रलाई छाडेनन् । बितेको तीस वर्षदेखि निरन्तर रूपमा चलचित्र क्षेत्रमा लागिपर्दै आएका भुवनमाथि कुनै षड्यन्त्र र दाउपेच भएन भने अब उनी सभासद् हुने निश्चितप्राय: देखिएको छ ।
नेकपा एमालेले समानुपातिकमा नाम राखेपछि उत्साहित देखिएका भुवन आफू सभासद् हुने कुरामा पनि ढुक्क देखिएका छन् । यो चुनावमा उनी एमालेको प्रचारप्रसारमा दिलोज्यानले लागेको कुरा पनि यतिबेला घामजस्तै छर्लङ्ग भएको छ । चलचित्र र राजनीतिक क्षेत्रका बारेमा यसपटक यिनै नायक भुवन केसीसँग केही कुराकानी गरिएको छ ।
० तपाईं नेपाली फिल्मको हिरो कि अब सभासद् ?
– म दुवै हुन चाहन्छु ।
० सभासद् त भइसक्नुभएको छैन नि ?
¬– मलाई विश्वास छ कि म सभासद् हुन्छ ।
० त्यो पद पाउन एमालेभित्रै मारामार छ । तपार्इंले पाउनु नै होला भन्ने आधार के छ त ?
० आधार होइन मलाई विश्वास छ । नेपाली चलचित्र क्षेत्रलाई माया गर्ने पार्टी हो एमाले । त्यसकारणले पनि मलाई हाम्रो पार्टीले सभासद्का लागि उपयुक्त ठान्ने कुरामा म विश्वस्त छु ।
० एमालेलाई फकाएको हो यो ?
– फकाएको होइन । मैले फकाउनु नै पर्दैन । यो कुरा हाम्रा पार्टीका दिग्गज नेताहरूले बुझ्नुभएको छ । तीसौँ वर्ष चलचित्र क्षेत्रमा बिताएको हिरो आएको छ । उसको र समग्र चलचित्र क्षेत्रको इज्जतका लागि भए पनि एमालेले मलाई समानुपातिकमा राख्ने कुरामा म ढुक्क छु ।
० तर, तपाईंको विरोध त पार्टीभित्रैबाट हुने गरेको चर्चा छ नि ?
– यसलाई विरोध नै नभनौँ । यो त सरसल्लाह हो । राम्रो कसरी हुन्छ ? भन्ने कुरामा एमाले सधैँ विचार–विमर्शमा विश्वास गर्छ र त्यसअनुसार नै अगाडि बढ्छ ।
० एमालेको बारेमा त तपार्इंलाई धेरै कुरा थाहा रहेछ नि ?
– त्यसै एमाले छिर्छु त म । केही जानकारी त हुनैपर्छ नि ।
० भनेपछि सभासद् भएपछि के गर्नुहुन्छ ?
– के गर्नु नि ? आफ्नो क्षेत्र र समग्र मुलुकले के गर्दा शान्ति र संविधान पाउँछ त्यसका लागि ध्यान दिनेछु । पहिला त शान्ति नै हो । शान्तिपछि अरू कुरा अगाडि आउँछ ।
० अवसर पाउनुभन्दा पहिले सबैले यस्तै भन्छन् नि होइन र ?
– अरूले के गरे, मलाई थाहा भएन । तर, म बोल्ने मात्र होइन कि आफ्नो उपस्थिति पनि दह्रैसँग गराउनेछु ।
० सभासद् भएपछि मन्त्री पनि हुने कि ?
– त्यो पछिको कुरा हो । अहिले त्यसतर्फ नसोचौँ कि ?
– संविधानसभाभित्र छिर्नुभएको छ ?
– त्यो भवनभित्र धेरैपटक छिरेको छु । तर, राजनीतिक कार्यक्रममा वा सभामा छिरेको छैन ।
० भुवन केसी छिर्दा कस्तो होला माहौल ?
– समग्र चलचित्र क्षेत्रको ठूलो इच्छा र चाहना हो यो । पार्टीले यो चाहनालाई पूरा गर्नेछ ।

आफन्तदेखि पराईसम्म
त्यतिबेला नेपाली चलचित्रहरू एकपछि अर्को गरेर असफल भइरहेका थिए । फाट्टफुट्ट रूपमा चलचित्र लेख्दै आएका शिव रेग्मीले एउटा चलचित्रको निर्देशन गर्ने अवसर पाए ‘आफन्त’ ।
आफन्त यसरी हिट भयो कि यो चलचित्रले रातारात रेग्मीलाई उचाइमा मात्र पु-याएन कि सुतिरहेको नेपाली चलचित्र बजारलाई ततायो पनि । आफन्तको सफलतापछि उनलाई अफर आएका चलचित्र आफ्नो मान्छे, ए मेरो हजुर, सुखदु:ख पनि सुपरहिट नै भए ।
यसरी एकपछि अर्को सुपरहिट चलचित्र नेपाली चलचित्र क्षेत्रलाई दिन सफल निर्देशक अब रहनुभएन । सोमबार निधन भएपछि उहाँको अभावमा समग्र नेपाली चलचित्र क्षेत्रले खल्लो महसुस गरेको छ । विशेष गरेर सामाजिक, पारिवारिक र नारीप्रधान चलचित्र मेकरका लागि रेग्मी कहलिनुभएको थियो । पछिल्लोपटक ‘कहाँ भेटिएला’ नामक उहाँको चलचित्रले अत्यधिक सफलता हात पारेको थियो । लामो समयदेखि दुवै मिर्गौलाले काम गर्न छोडेपछि रेग्मी विगत नौ महिनादेखि उपचार गराइरहेका थिए ।
सोमबार स्वर्गीय रेग्मीको अन्तिम दर्शन गर्न काठमाडौंको कुलेश्वरमा रहेको बयोधा अस्पतालमा कलाकर्मीको उपस्थिति बाक्लै थियो । पहिले रेग्मीको सहायक निर्देशक भएर काम गरेका र अहिले पूर्णरूपमा चलचित्र निर्देशक बनेका राजेन्द्र उपे्रती, भद्र भुजेल, सविर श्रेष्ठ र गोपालचन्द्र लामिछानेले आफूहरूले अभिभावक गुमाएको बताए । रेग्मीबाटै निर्देशन सिकेका यी निर्देशक अहिले नेपाली चलचित्र क्षेत्रमा व्यस्त चलचित्र निर्देशकको रूपमा चिनिन्छिन् । करिब दुई दर्जनभन्दा बढी सफल नेपाली चलचित्रको निर्देशन गरेका रेग्मीले निर्देशन गरेको अन्तिम चलचित्र भने पराई हुन पुगेको छ । यो चलचित्र अब प्रदर्शनको क्रममा रहेको छ भने पराई पुस २६ गतेबाट प्रदर्शनमा आउनेछ ।
अहिलेका चलेका चलचित्र लेखक शिव अधिकारी पनि स्वर्गीय रेग्मीको लेखन विधाबाट आफू प्रभावित भएको कुरा बताउँछन् । रेग्मीको टिपिकल नेपालीपन र भाषालाई चलचित्रमा प्रवेश गराउने गजबको शैलीको तारिफ जति गरे पनि नपुग्ने कुरा अधिकारीले बताए ।

रेग्मीलाई बिर्सिए श्रीकृष्णले
नेपाली सिनेमा क्षेत्रमा स्थापित हुन सङ्घर्षरत श्रीकृष्ण श्रेष्ठलाई यो क्षेत्रमा स्थापित गराउने निर्देशक शिव रेग्मी नै हुन् । आफन्त, आफ्नो मान्छे, ए मेरो हजुर, सुखदु:ख र कहाँ भेटिएला गरेर पाँचवटा निरन्तर रूपमा हिट चलचित्रमा खेलाएर सबैको वाहवाही बटुलेका थिए श्रीकृष्णले । तर, विडम्बना ! श्रीकृष्ण रेग्मी ओछ्यान परेको समयमा अस्पताल त गएनन् गएनन् । सोमबार अन्तिम श्रद्धाञ्जली दिन अस्पताल पनि पुगेनन् । सम्पूर्ण फिल्म उद्योग रेग्मीको अनुहार हेर्न आतुर थिए तर श्रीकृष्ण भने पुगेनन् । श्रीलाई चर्चाको शिखरमा पु-याउने रेग्मीलाई भेट्न उनी आउने आशामा रेग्मीका परिवार देखिन्थे । यो कारणले पनि यतिबेला श्रीकृष्णप्रति चलचित्र क्षेत्र नकारात्मक सोच्न बाध्य भएको छ । श्रीकृष्णलाई भन्न थालेको छ, ‘उनी स्वार्थी र बेइमानी हुन् ।’

अमिताभ र अमिरकै तहमा प्रियंका
funtimeबलिवुडकी सुपर एक्स्ट्रेस प्रियंका चोपडालाई नचिन्ने को सिनेप्रेमी होला ? मनोरञ्जनको संसारमा सर्वपरिचित यिनै प्रियंका यतिबेला अमिताभ बच्चन र अमिर खानकै हाराहारीमा उक्लिएकी छिन् । यो सुन्दा जो–कसैको दिमागमा आउन सक्छ– के प्रियंकाले पनि ३०–४० करोडको हाराहारीमा पारिश्रमिक पाउन थालिन् ? यदि यस्तै सोच्नुभएको हो भने यो गलत हुनेछ । उल्लेखित सिने व्यक्तित्वहरूकै हाराहारीमा उक्लनका लागि प्रियंकाले अर्कै बाटो अवलम्बन गरेकी छिन् । त्यो बाटो हो– उच्चतम् धनी र विश्वविख्यात व्यक्तिहरूको रोजाइ र पहुँचको विलासी साधन ठानिएको रोल्स रोयस कार । हो, गाडीको रफ्तारको सोख मर्दले मात्रै राख्छ भन्ने मान्यता तोड्दै रोल्स रोयस कार खरिद गरेर सो कार प्रयोग गर्ने बलिवुडकै प्रथम अभिनेत्री बन्न पुगेकी छिन् प्रियंका चोपडा ।
बलिवुडमा अमिताभ बच्चन, अमिर खान, सञ्जय दत्त र दक्षिण भारतीय सुपरस्टार चिरञ्जीवीले मात्रै ६ करोडभन्दा बढी मूल्य पर्ने रोल्स रोयस चढ्दै आएका थिए । यसअघि मल्लिक सेरावतले पनि सो कार खरिद गर्ने चाहना दर्शाए पनि उनी सफल भएकी थिइनन् । प्रियंकाले भने बैंकबाट लोन लिएरै भए पनि रोल्स रोयसको महँगो सोख पूरा गरेकी छिन् ।