एसियाडमा तेक्वान्दोको पराजयको ‘ह्याट्रिक’

एसियाडमा तेक्वान्दोको पराजयको ‘ह्याट्रिक’


– श्रीविक्रम भण्डारी (इन्डोनेसिया, जाकर्ता)

इन्डोनेसियाको राजधानी जकार्तामा संचालन भैरहेको १८ औं एसियाली खेलकुद प्रतियोगितामा तेक्वान्दो पदकविहीन बनेको छ । भदौ ७ गते विहिबार भएका अन्तिम दुई खेलमा पनि नेपाली खेलाडी पराजित भएपछि तेक्वान्दोमा नेपाल पदकविहीन भएको हो । यो पराजयसँगै तेक्वान्दोले एसियाली खेलकुदमा पराजयको निम्ति ह्याट्रिक ‘रेकर्ड’ कायम गरेको छ ।

एसियाली खेलकुद प्रतियोगिताको इतिहास पल्टाउँदा सन् २००६ मा कतारको दोहामा सम्पन्न १५ औं एसियाडमा तेक्वान्दोले अन्तिम पटक पदक जितेको थियो । उक्त एसियाडमा तेक्वान्दोका दीपक विष्ट, आयशा शाक्य र मनिता शाक्यले काँश्य पदक जितेका थिए । त्यसपछि आयोजना भएका दुई एसियाली खेलकुदमा तेक्वान्दो पदकविहिन बन्दै आएको थियो । यो प्रदर्शनलाई तेक्वान्दोले १८औं एसियाडमा पनि दोह¥याउन सफल भएको छ ।

एसियाली खेलकुदमा सर्वाधिक १४ पदक जितेर इतिहास बनाएको तेक्वान्दो अहिले १२ वर्षको अन्तरालमा समेत एसियाडमा पदक जित्न सकेन । १२ वर्षपछि त खोलो त फर्किन्छ भन्थे, दुर्भाग्यले त्यो कथन तेक्वान्दोमा लागु भएन । १८औं एसियाडको शुभारम्भसँगै पराजयलाई आत्मसात गरेको तेक्वान्दोले तीनजना भुटानी खेलाडीलाई जित्नु नै ठूलो उपलब्धि ठान्नुपर्ने अवस्था आइपर्यो ।

पहिलो राउण्डमा भुटानी खेलाडीलाई पराजित गरेपनि दोश्रो राउण्डमा नेपाली खेलाडीले गरेको प्रदर्शन कहालीलाग्दो थियो । नेपालका दुई खेलाडी ओजन पुजारा र ज्ञानी चुनाराले दोश्रो राउण्डमा अंक नै बटुल्न सकेनन् । उनीहरु प्रतिद्वन्दीहरुसंग ०–२१ र ०–२० को अन्तरले पराजित भएका थिए ।

सन् २०१० मा चीनको ग्वाङझाउमा आयोजना भएको १६ औं एसियाड होस या सन २०१४ मा कोरियाको इन्चोनमा आयोजना भएको १७ औं एसियाड यी दुवै एसियाडमा तेक्वान्दोको प्रदर्शन अपेक्षानुरुप रहेन् । यी दुवै एसियाडमा पदकविहिन बनेर निरस बनाएको तेक्वान्दो १८ औं एसियाडमा पनि यहि परम्परालाई पुनः दोह¥याएको छ । जस्ले तेक्वान्दो खेल र खेलाडीलाई मात्र नभै राष्ट्रलाई समेत कुठाराघात भएको छ ।

१२ बर्षसम्म पनि किन तेक्वान्दो आफ्नो लयमा फर्किएन त्यो अहिले अहम प्रश्न बनेको छ । विगतमा एसियाडमा गरेको प्रदर्शनकै आधारमा राज्यको सवैभन्दा सुविधा तेक्वान्दोले प्राप्त गर्दै आएको छ । तर तेक्वान्दो खेलाडीको प्रदर्शन एसियाडमा मात्र नभै दक्षिण एसियाली खेलकुद प्रतियोगितामा समेत खस्किनुलाई राम्रो संकेत मान्न सकिँदैन । भारतको गुवाहटी र सिलोङमा सम्पन्न १२ सागमा नेपालले तेक्वान्दोवाट थुप्रै स्वर्ण पदकको आशा गरेको थियो । विडम्बना, तेक्वान्दोले एउटा स्वर्ण पदक पनि जित्न सकेन । तेक्वान्दोले साग गेममा किन स्वर्ण पदक जित्न सकेन त्यसको बारेमा सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषदले पनि कुनै चासो देखाएन । उल्टै आँखा चिम्लिएर सहयोग गर्दै आयो । अहिले त्यसको परिणाम इन्डोनेसिया एसियाडमा देखिएको छ ।

१८औं एसियाडमा तेक्वान्दो खेलाडीको निरासाजनक प्रदर्शनपछि अहिले यो खेलका खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुप्रति औंला उठेको छ । तीन महिना कोरियामा बैदेशिक प्रशिक्षणपश्चात तेक्वान्दोले जुन उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरिएको थियो त्यो अहिले निरासामा परिणत भएको छ । सुन्य अंकले पराजित हुने खेलाडीले कोरियामा कस्तो प्रशिक्षण पाएका थिए ? त्यसको जवाफ प्रशिक्षक र पदाधिकारीले दिनु पर्नेछ । अहिले तेक्वान्दोका शुभचिन्तक र नेपाली जनता यो जवाफको प्रतीक्षामा छन् ।

त्यस्तै १८औं एसियाली खेलकुदमा आज नेपालले १० खेल बास्केटबल, फेन्सिङ, कबड्डी, प्याराग्लाइडिङ, पौडी, तेक्वान्दो, भलिबल, भारोत्तोलन, स्क्वास र ब्याडमिन्टनमा प्रतिस्पर्धा गरेका थिए । जस्मा तेक्वान्दोतर्फ ज्ञानेन्द्र हमाल, ब्याडमिन्टनतर्फ मेन डबल्समा विकास श्रेष्ठ र नविन श्रेष्ठ, र महिला एकलतर्फ नङसलदेवी तामाङले सफलता हात पार्नु बाहेक अन्य खेलमा नेपाली खेलाडीहरु पहिलो राउण्डबाट विदा भएका छन् ।