– किशोर बुढाथोकी/सिन्धुपाल्चोक
एउटा अद्भूत सौन्दर्य । आफू बसिरहेको डाँडामुन्तिर सेता गलैँचाजस्ता लाग्ने उडिरहने बादलका कारण आकाशभन्दा आफू माथि भएकोजस्तै कल्पना हुन्छ । चिसो हावा, पहाड र हिमालको काख, हरियाली वातावरण । सामुन्ने जुगल हिमशङ्खला । वरिपरि दुबोलगायत अन्य झारले घेरिएको बीचमा नीलो ताल । त्यो पनि एकै ठाउँमा पाँचवटा । त्यहाँ पुग्नेहरू भन्छन्, ‘यति सुन्दर दृश्य कुनै शब्दमा बयान गर्न सकिँदैन ।’
यस्तै छ, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित भोताङ शिरमा रहेको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा चिनिएको पाँचपोखरी । सामुद्रिक सतहबाट चार हजार एक सय मिटर उचाइमा रहेको पाँचपोखरीमा अब मेला शुरु हुँदै छ । हरेक वर्ष एकादशीदेखि जनैपूर्णिमाको दिनसम्म लाग्ने मेलाको चहलपहल अहिले जिल्लामा बढिसकेको छ । एकादशीका दिन पाँचपोखरी पुग्नेहरूले आफ्नो यात्रा शुरु गरिसकेका छन् ।
पाँचपोखरी मेला भर्नका लागि जिल्लाबाट मात्रै होइन देशका विभिन्न स्थानबाट पर्यटक आउँछन् । काठमाडौंबाट मेलम्ची भई थाङपालधाप, भोताङबाट जाने एउटा रुट छ । बर्खाको समयमा थाङपालधापसम्म बसको यात्रा गर्न सकिन्छ । त्यसपछि शुरु हुन्छ पैदल यात्रा । पाँचपोखरी रहेकै साविकको गाविस भोताङको बजारसम्म बाटो सहज छ । त्यहाँसम्म पुग्दा होटेलहरू पाइन्छ । प्रायः पर्यटक यहाँनेर पहिलो बास बस्छन् । दोस्रो दिनदेखि शुरु हुने ठाडो उकालो र जङ्गलैजङ्गलको यात्रा केही कष्टकर रहे पनि त्यहाँको सौन्दर्यले दुःख बिर्साउँछ । यो रुटमा आमा याङ्ग्री, ड्रागन गुफा, हवेली, नागी डाँडा, रैथानेश्वरी हेर्नलायक स्थान हुन् । भोताङ बजारबाट उकालो लागेपछि बीचमा पाइने चौँरी गोठबाहेक वासको विकल्प अरू छैन । प्रायः तीर्थालुहरू समुद्र सतहबाट तीन हजार दुई सयको उचाइमा रहेको अवस्थित टपखर्कमा बास बस्ने गर्छन् । यात्राको तेस्रो दिन पाँचपोखरी पुग्न सकिन्छ ।
जिल्लाकै सबैभन्दा ठूला मेला लाग्ने पाँचपोखरीमा तीर्थालु बढाउन र मेलालाई सभ्य रूपले सम्पन्न गर्न स्थानीयसमेत लागिपरेका छन् । ‘यात्रा सहज गराउन यो रुटमा अहिले हामीले भोलेन्टियरहरू खटाएका छौँ,’ मेलम्ची रुट पर्ने मानेखर्कका स्थानीय बाबुलाल तामाङ भन्छन्, ‘भोलेन्टियरले पदयात्रीलाई सहयोग गर्नेछन् ।’ सामान्य व्यक्तिलाई उचाइमा पुगेपछि लेक लाग्ने हुँदा तीर्थालुको उद्धार तथा प्राथमिक उपचार र सहयोगका लागि भोलेन्टियर राखिएको हो । बाबुलालका अनुसार अहिले केही स्थानमा टेन्टसमेत राखिएकाले वासको समस्या पहिलेको जस्तो पर्दैन ।
मेलम्चीपछि पाँचपोखरी पुग्ने अर्काे रुट सदरमुकाम चौताराबाट हो । चौताराबाट रमणीय स्थान ओखरेनी, खस्रेबाट लाङटाङ राष्ट्रिय निकुञ्ज हुँदै जान सकिन्छ । दुई हजार २ सय मिटरको उचाइ रहेको खस्रे, मैदानपछि घरहरू भेटिँदैन । यो रुटबाट जाने तीर्थालुहरू प्रायः च्योच्यो डाँडामा बास बस्न पुग्छन् । च्योच्यो डाँडा जुगल हिमाल सामुन्ने पर्छ । यो डाँडाबाट काठमाडौं सहर पूरै देख्न सकिन्छ । रातको समयमा काठमाडौंको झिलिमिली हेरेर मजा लुट्नकै लागि पनि च्योच्यो डाँडामा तीर्थालुको वास हुने गरेको पर्यटन व्यवसायी मिलन तामाङ बताउँछन् । ‘यो डाँडामा चौँरीका गोठहरू प्रसस्त छन्, अनेक रङका फूलहरू फुलेको सौन्दर्य यहाँ पाइन्छ,’ उनले भने । दोस्रो दिन न्योसाम पाटीमा वास बसेर यो रुट हुँदै जानेहरू तेस्रो दिन पाँचपोखरी पुग्नेछन् ।
मेलम्ची र चौताराबाट अहिले आकर्षक झाँकीसहित झाँक्रीहरू जाने क्रम छ । पाँचपोखरी मेलाको प्रमुख आकर्षणमध्ये झाँक्री नृत्य पनि एक हो । चौतारा साँगाचोकगढी नगरपालिका–८ इर्खुबाट पाँचपोखरी मेला भर्न हिँडेका झाँक्री चिनबहादुर तामाङ त्यहाँ पुगेर पूजाआजा गरेपछि मनमा सन्तोष हुने बताउँछन् । ‘पाँचपोखरीमा मागेको कुरा पुग्छ, त्यसैले हरेक वर्ष झाँकीसहित जाने गरेका छौँ ।’ पूजा गर्दै, नृत्य गर्दै कठिन बाटोहरूलाई सहज हुने गरी पाँचपोखरी पुगेर पूजा गर्ने गरेको उनले सुनाए ।
झाँक्रीहरूलाई नाच्दै आफ्नो संस्कृति जोगाउन झाँकी प्रस्तुत गर्दै पाँचपोखरी पुग्न सात दिनसम्म लाग्छ । पाँचपोखरीमा अवस्थित नजिकै रहेको महादेवको मन्दिर परिसरमा रहेको पोखरीमा नुवाइधुवाइ गरेर पाँचवटा पोखरी परिक्रमा गरेमा पापमोचन हुनुका साथै मनले चिताएको पूरा हुने जनविश्वास छ ।
आफ्ना झाँक्रीहरूको प्रस्तुतिले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने मात्रै नभई आफूले पाँचपोखरी पुगेर मन्दिरमा आफूले चाहेको कुरा पुग्नेसमेत बताउँछन् झाँक्री दीर्घबहादुर तामाङ । ‘झाँक्रीहरूको नृत्यसँगै जाँदा रमाइलो मान्ने र यात्रामा अलि सहज हुने भएकाले थप तीर्थालु हुने गर्छन्,’ उनी भन्छन् । झाँक्री नृत्य निकै रमाइलो हुने गर्छ । आफ्नै भाषा र संस्कृतिका विविध पक्षलाई झाँक्रीहरूले सङ्गीतको रूप दिएर नाचगान गर्ने गर्छन् । ‘झाँक्रीको नाच हेर्नकै लागि पनि पाँचपोखरी पुग्नेहरू धेरै भेटिन्छन्,’ दीर्घबहादुरले भने ।

विशेष गरी पाँचपोखरीमा जनैपूर्णिमाको अघिल्लो दिन र मङ्सिर महिनाको पूर्णिमाका दिन विशेष मेला लाग्ने गर्छ । यो मेला भर्नका लागि भक्तपुर र काभ्रेबाट उल्लेख्य रूपमा सहभागी हुने गर्दछन् । हिमाली भेग भएकाले यात्रा गर्न कठिन छ । कतिपय यात्रुलाई लेक लाग्नेसमेत भएकाले सामान्य प्राथमिक उपचारका सामग्री आफैँले लैजानुपर्ने हुन्छ । पर्यटनको अथाह सम्भावना हुँदा पनि उचित प्रचारप्रसार नभएका कारण यो क्षेत्रमा भौतिक पूर्वाधारको विकास भने हुन सकेको छैन । लामो समयदेखि झाँकी प्रस्तुत गर्दै पाँचपोखरी पुग्ने गरेका अर्का झाँक्री मानवीर तामाङ सडक पूर्वाधारको विकास गरे पर्यटक निकै बढ्ने बताउँछन् । ‘पैदल यात्राका लागि बाटो निकै कठिन भएकाले इच्छा भएर पनि जान नसक्नेहरू धेरै छन्,’ मानवीर भन्छन्, ‘स्थानीय निकाय तथा सरोकारवालाहरूले यसतर्फ ध्यान दिनु जरुरी छ ।’
हुन त अहिले पाँचपोखरी थाङपाल गाउँपालिकाले पाँचपोखरीसम्म पुग्ने गरी केबुलकारको सम्भाव्यता अध्ययन गरेको छ । यो मेलम्ची रुटबाट पर्छ । ‘त्यता केबुलकार राख्ने भनिएको छ, त्यो राम्रो पक्ष हो, विकास हो,’ झाँक्री मानवीरले भने, ‘यता पनि यसको जरुरी छ, विकासप्रति जनप्रतिनिधि जागरुक हुनु आवश्यक छ ।’
पाँचपोखरी जाँदा जति बढी गन्तव्य नजिकिन्छ, उत्तिकै चिसो बतास चल्न थाल्छ । कान, मुख र हात नीला हुन थाल्छन् । बाटैभर भेटिने पहेँला झारबाट अनौठो गन्ध आउन थाल्छ । जुन गन्ध तीर्थालुका लागि विष पनि हुन सक्छ । अनि लेक लाग्छ । तर, जति कष्टकर यात्राबाट पुगिन्छ पाँचपोखरी त्योभन्दा आनन्द त्यहाँ पुगेपछि आउँछ । पाँचपोखरीमा भगवान् शिवको मन्दिर छ । ढुङ्गामा बयान गरिएको त्यहाँको किंबदन्ती निकै रोचक लाग्छ । किंबदन्तीमा भनिएको छ, ‘झन्डै २ हजार ३ सयभन्दा बढी वर्षअगाडि प्रख्यात सिकारी बुम्बा बाइवा सिकार खेल्दै पाँचपोखरी पुगेका थिए । उनी त्यहाँ पुग्दा धान खेती गरिरहेको देखेछन् । यस्तो हिउँ पर्ने ठाउँमा पनि खेती गर्ने को होला भनी छेउमा जाँदा धानखेती गर्नेमध्येका मानिस (महादेव) सिकारी बुम्बालाई देख्नेबित्तिकै सम्पूर्ण धानखेती गर्ने खेताला, यसै पाँचपोखरीको हाल मन्दिर रहेको स्थानमा अलप भएछन् । यो दृश्य देखेपछि बुम्बाले आफ्नो सिकारी कुकुरलाई लगाएको घन्टी फुकाली रोपाइँ गर्दा अलप भएको ठाउँमा झुन्ड्याई मन्दिरको स्थापना गरी फर्केछन् ।’
त्यसयता हरेक वर्ष भदौ महिनाको एकादशीदेखि जनैपूर्णिमाको दिनसम्म यहाँ मेला लाग्ने गरेको हो । पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा आई पूजा गरेमा सुख, शान्ति र महिलाले शिवसरह श्रीमान् पाउने र बिहेपश्चात् सन्तान नहुनेहरूको मनोकामना पूरा हुने धार्मिक विश्वासले गर्दा यो तीर्थस्थल ज्यादै लोकप्रिय हुन पुगेको रहेछ ।
अहिले मेला नजिकिएको छ । पाँचपोखरी मेला व्यवस्थापन समितिले त्यहाँ आउने पर्यटकका लागि सुरक्षा निकायसँग समन्वय गरेर व्यवस्थापन गर्नेछन् । ‘वास बस्नेस्थानको अभाव हुन नदिन र मेलालाई व्यवस्थित पार्न लागिपरेका छौँ,’ समितिका अध्यक्ष बुद्ध लामा भन्छन्, ‘जतिसक्दो धेरै तीर्थालु भित्र्याउने लक्ष्य छ, जसका लागि प्रचारसमेत गरिरहेका छौँ ।’
पाँचपोखरी मेलाको आकर्षण बढाउन र पर्यटन प्रवद्र्धनका लागि पाँचपोखरी थाडपाल गाउँपालिकाले ट्रेल रेस प्रतियोगिताको पनि आयोजना गरेको छ । ‘अघिल्लो वर्षदेखि साहसिक खेलकुदमार्फत पर्यटक भित्र्याउन प्रतियोगिताको शुरुवात गरिएको हो,’ गाउँपालिकाका अध्यक्ष टासी लामा ह्योल्मो भन्छन्, ‘अहिले पनि यसलाई निरन्तरता दिएका छौँ ।’ उनले यो प्रतियोगितामा विदेशीहरू पनि सहभागी हुने भएकाले अन्तर्राष्ट्रिय स्तरमै पाँचपोखरीको लोकप्रियता बढ्ने विश्वास गरे । ‘व्यवस्थापन समितिलाई सहयोग गर्दै मेला भव्य, सभ्य रूपले सम्पन्न गर्न गाउँपालिका लागिरहेको छ,’ उनले भने ।
इन्द्रावती नदीको उद्गमस्थलका रूपमा रहेको पाँचपोखरीका सबै कुण्डका नामसमेत फरक–फरक छ । भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्डका नामले यहाँका पोखरी चिनिन्छन् । यसको धार्मिक पक्ष खोतल्दै जाने हो भने त स्कन्ध पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ, जसलाई तीर्थराज प्रयाग र वाँणगंगा (कुरुक्षेत्र) समानका तीर्थस्थल भनिएको छ । सुनपाती, धुपी, चौँरीको दूधबाट बनेको छुर्पीजस्ता चिजहरू यहाँ पाइन्छ । गुराँस फुल्ने याममा यहाँका सबै पाखा रातै हुन्छन् । सेतो गुराँससमेत पाँचपोखरी जाने रुटमा पाइन्छ । त्यसैले यो रुटलाई पर्यटन व्यवसायीले गुराँसको राजधानीसमेत भन्ने गरेका छन् । निकै नै सम्भाव्यता बोकेको यसको उचित प्रचारतिर अझै पनि सरोकारवाला लाग्न सकेका छैनन् । यो गर्न सके जिल्लाको आर्थिक समृद्धिमा पनि टेवा पुग्ने देखिन्छ ।
प्रतिक्रिया