पाठक मञ्च

पाठक मञ्च


pathakmanchराम्रो गर्न खोज्नेलाई निरुत्साहन किन ?
सम्पादकज्यू
मेरो विचारमा सबैले आ–आफ्नो ठाउँमा रहेर सफा, इमानदारीपूर्ण र जिम्मेवार भूमिका निर्वाह गर्ने हो भने देश बन्न समय लाग्दैन । म एउटा सरकारी कर्मचारी हुँ र आफ्नो ठाउँमा रहेर देशका लागि केही गरौँ भन्ने भावनाबाट अभिपे्ररित छु । भू तथा जलाधार संरक्षण विभागमा मैले जिम्मेवारी सम्हालेको केही महिना मात्रै भएको छ र यस अवधिमा मेरो ध्यान आन्तरिक सुधार तथा सकारात्मक परिणाममुखी कार्यका निम्ति केन्द्रित रहेको छ । सिङ्गै देश हाम्रो हो र सबैका लागि हामीले केही गर्नुपर्छ भन्ने सोचअनुरूप काम गर्न खोज्दा हाम्रो प्रयासलाई प्रोत्साहित गर्ने कार्य भइदिए हुन्थ्यो भन्ने चाहना हुँदोरहेछ । तर, गताङ्कको घटना र विचारमा ‘मुख्यसचिवको आडमा भूसंरक्षणमा दोहन’ शीर्षकमा प्रकाशित समाचार राम्रो काम गर्न चाहनेलाई प्रोत्साहित गर्ने प्रकारको नपाउँदा धेरै दु:ख लाग्यो । मुख्यसचिवज्यू र म एउटै जिल्लावासी भएकाले हुनुपर्छ– जोड्ने काम भएको छ । अनुचित लाभ या पूर्वाग्रही व्यवहार मबाट कहिल्यै भएको छैन र हुने पनि छैन । मुख्यसचिवज्यूलाई मसँग जोडेर लेख्नु या बोल्नुपर्ने काम पनि म देख्दिनँ । समाचार बनाउनुपर्ने भए हाम्रो भनाइ पनि त्यहाँ राखिँदा पत्रिकाको विश्वसनीयतालाई बल पुग्न सक्थ्यो । घटना र विचारजस्तो पत्रिकाले आफ्नो स्तर कायम राख्न नखोज्दा दु:ख लागेको छ । हामीले कुनै पनि प्रकारको अनियमितता या पूर्वाग्रही व्यवहार कसैका प्रति राखेका छैनौँ र राख्ने पनि छैनौँ । गलत नियतले प्रकाशित सामग्रीप्रति हाम्रो आपत्ति छ, त्यसको खण्डन गरियोस् भन्ने हामी चाहन्छौँ । यो समाचार कसले किन लेखायो या लेख्यो भन्ने विषय जानकारीमा भए पनि म तत्काल त्यसलाई सार्वजनिक गर्न आवश्यक ठान्दिनँ । पत्रिकाले सत्यतथ्य बुझेर लेखोस्, राम्रो काम गर्न खोज्नेलाई निरुत्साहित गर्ने काम नगरोस् । धन्यवाद ।
– पेम कँडेल
भू तथा जलाधार संरक्षण विभाग, बबरमहल, काठमाडौं

पत्रिकाले विश्वसनीयता कायम राखोस्
श्री सम्पादकज्यू
हामी घटना र विचार साप्ताहिकका नियमित पाठक हौँ र यस पत्रिकाको विश्वसनीयता र आकर्षणमा कमी कहिल्यै नआओस् भन्ने कामना गर्दछौँ । तर, गताङ्कको ‘मुख्यसचिवको आडमा भूसंरक्षणमा दोहन’ शीर्षकअन्तर्गत प्रकाशित समाचारले हामीलाई स्तब्ध बनाएको छ । भू तथा जलाधार संरक्षण विभागका महानिर्देशक पेम कँडेललाई बद्नाम गराउने उद्देश्यले प्रकाशित समाचारले पत्रिकाकै विश्वसनीयतामाथि प्रश्न उठाउने सम्भावना बढेको महसुस हामीले गरेका छौँ । किनभने यस विभागमा पेम कँडेल महानिर्देशक भएर आउनुभएपछि केही राम्रो कामको प्रयास भइरहेको छ । निश्चित मापदण्डका आधारमा सेवा र सुविधाको वितरण गर्ने, कसैलाई काखा र पाखाको व्यवहार नगर्ने र विभागको कामलाई प्रभावकारी तुल्याउने पेम कँडेलज्यूबाट विशेष प्रयास भइरहेका बेला उहाँलाई विवादमा तान्ने प्रकारको समाचार सार्वजनिक हुनुलाई हामीले दु:खद् संयोग मानेका छौँ । यो समाचारले नेपालमा ‘राम्रो काम गर्नेको भलो हुँदैन’ भन्ने उखानको चरितार्थ गरेको छ । पत्रकार श्रीविक्रम भण्डारीजीले पूर्वाग्रह नराखीकन समाचार सम्पे्रषण गर्नुभएको भए हामी सबैले उहाँ र त्यस पत्रिकाप्रति कृतज्ञता जाहेर गर्ने थियौँ, अब त पत्रिकाले आफ्नो विश्वसनीयता कायम राख्न सकोस् भन्ने कामनासहित सुझाव दिनुबाहेक थप भन्नुपर्ने केही रहेन ।
स्वाभिमानी कर्मचारीहरू
भू तथा जलाधार संरक्षण विभाग