‘मेरो म्वाइँ सस्तो छैन’- रेखा थापा

‘मेरो म्वाइँ सस्तो छैन’- रेखा थापा


rekhaम्वाइँ–संवाद
नायिका रेखा थापा सधैँ चर्चामा । सिनेमा निर्माण गर्दा होस् या श्रीमान् छवि ओझासँग पारपाचुकेको समयमा होस् । चलचित्र यात्राको समयमा चर्चा र विवादमा छाइरहने रेखा फेरि एकपटक चर्चा र विवादमा तानिएकी छिन् । राउटे समुदायलाई आर्थिक सहयोग प्रदान गर्न उनीहरूमाझ पुगेकी रेखाले एक राउटे पुरुषलाई च्याप्प समातेर म्वाइँ खाएपछि उनको त्यो म्वाइँ विवादमा तानिएको छ ।
यतिबेला काठमाडौंबाहिर आफ्नो रेखा फाउण्डेसनका लागि सहयोग जुटाउन लागिपरेकी रेखासँग मंगलबार फोनबाटै गरिएको म्वाइँ–संवाद ।
० जीवनमा धेरैलाई म्वाइँ खानुभयो होला । यसपटकको म्वाइँ विवादमा तानियो नि ?
– विवादमा तानिएको होइन । मेरो चर्चालाई देख्न नसक्नेहरूले चलाएको हल्ला हो ।
० के सोचेर राउटेलाई म्वाइँ खाइयो ?
– म्वाइँ भनेको मायाको प्रतीक हो । माया लागेर खाएकी हुँ ।
० राउटेलाई देख्दा किन म्वाइँ खान मन लाग्यो ?
– माया लागेर आयो । तर, यसलाई गलत अर्थ लगाइयो ।
० कस्तो मान्छेलाई देख्दा म्वाइँ खाउँm–खाऊँ जस्तो लाग्छ ?
– मायालाग्दो, मिजासिलो र राम्रो मान्छेलाई देख्दा ।
० त्यस्तो मान्छे जसलाई जहाँ देखे पनि म्वाइँ खाइन्छ त ?
– हेइन, त्यस्तो हुँदैन । ठाउँ, परिवेश, पात्र सबैको विचार गरिन्छ ।
० म्वाइँ खानुअघि राउटेसँग अनुमति लिनुभएको थियो कि थिएन ?
– कसैको पीडा, दु:ख र व्यथामा मलहम लगाउन अनुमति लिनुपर्छ भन्ने मलाई लाग्दैन । म त सरकारले पनि नगरेको राउटे समुदायलाई सहयोग गर्न गएकी हुँ । त्यही समयमा भावविह्वल भएर म्वाइँ खाएँ ।
० जबर्जस्ती म्वाइँ खानु यौन हिंसा हो कि होइन ?
– हो । तर, मेरो म्वाइँ जबर्जस्ती थिएन । मेरो म्वाइँलाई गलत अर्थमा बुझ्नेलाई म सुझाव दिन चाहन्छु कि सहरमा बसेर विरोध गर्नुभन्दा राउटेहरूकै बस्तीमा गएर बुझ्दा थाहा हुन्छ त्यहाँको अवस्था कस्तो छ भनेर ।
० यदि कुनै पुरुषले त्यसरी नै तपाईंलाई म्वाइँ खाएमा के गर्नुहुन्थ्यो होला ?
– त्यो त म्वाइँ खाँदाको अवस्था अनि परिस्थितिमा भर पर्छ । किन र केका लागि खाइयो भनेर ।
० जीवनमा अहिलेसम्म कतिजनालाई म्वाइँ खानुभएको छ ?
– मायालाई सङ्ख्याले नापिँदैन । अनि म्वाइँ माया नै हो ।
० आफूले खाएको म्वाइँमध्ये अहिलेसम्मकै सबैभन्दा मीठो म्वाइँ कसलाई खादा लाग्यो ?
– मेरी आमालाई ।
० म्वाइँ खाँदाको सबैभन्दा मीठो क्षण ?
– कुन उद्देश्यले खाएको हो त्यसमा भर पर्छ । लामो समयपछि भेटिएको साथीलाई खाँदा मित्रताको क्षण । श्रीमान्लाई खाँदा नजिकको सम्बन्ध अनि राउटे भाइलाई खाँदा उसको दु:ख र पीडालाई साथ दिएको क्षणको रूपमा लिएकी छु ।
० राउटेको म्वाइँ विवादमा आयो नि । उनीहरू रिसाएका छन् भन्ने चर्चा छ नि ?
– गलत हो यो कुरा । विवादमा आएको होइन । विवादमा ल्याइएको हो । म त राउटे समुदायलाई बिनास्वार्थ सहयोग गरिरहेकी छु । उनीहरूका बच्चालाई पढाउन काठमाडौं ल्याउँदै छु । यस्तो कुरातिर ध्यान छैन तर म्वाइँको चर्चा बढी भयो ।
० राउटे मुखियासँग माफी माग्ने विचार गर्नुभएको छैन ?
– यो त माफीको कुरै होइन । निस्वार्थ रूपले खाइएको म्वाइँ र गरिएको सहयोगमा माफीको कुरा आउँछ र ?
० अब भविष्यमा कसैलाई म्याइँ खाँदा विचार गर्नुहुन्छ होला नि ?
– मेरो म्वाइँ त्यति सस्तो पनि छैन नि जसलाई जहाँ पनि खान्छु । म्वाइँ भनेको माया, सद्भाव र भावनाको प्रतीक हो ।
० तपाईं माओवाद छाडेर म्वाइँवादतिर लागेको होइन, त्यसो भए ?
० मैले माओवादी छोडेको पनि छैन र म्वाइँवादतिर लागेको पनि छैन । यी दुवै अलग कुरा हुन् ।
– राजन घिमिरे

रेखालाई टक्कर दिने रजनी टिभी पर्दामा खुम्चिइन्
जब केही समयअगाडि छवि ओझा र रेखा थापाबीच दरार आयो तब छविले रजनी केसीलाई आफ्नो ब्यानरमा भिœयाए । छवि ओझाका फिल्ममा खेल्न पाउनु वा उनको ब्यानरमा प्रवेश पाउनु नाम चलेका अभिनेत्रीहरूका लागि त ठूलो कुरा हो भने रजनीजस्ती नयाँ अनुहारको निमित्त त गौरवको कुरा थियो नै । पहिलोपटक नै छविको ब्यानर अनि आर्यन सिग्देलजस्ता चलेका नायकसँग अभिनय गर्न पाउनुलाई रजनीले जीवनकै ठूलो उपलब्धिको रूपमा लिइन् । कुरा ठीकै पनि थियो ।
रेखा थापालाई देखाउन वा चिढ्याउन छविले आर्यन र रजनीलाई ‘लोफर’ नामक सिनेमामा लिए तापनि अन्तत: रेखाको कालीले नै छविलाई फाइदा पु-यायो । लोफरबाट न त आर्यनले आर्थिक रूपमा छविलाई जोगाउन सके न त रेखाको विकल्पमा आएकी भनेर चर्चा पाएकी रजनीले नै फाइदा दिलाउन सकिन् ।
यतिसम्म कि केही मिडियाहरूमा त रेखाको बजार लिँदै रजनी भनेर बजारमा हल्ला पनि पिटाउन रजनी सफल भइन् । मिडियामा आएका ती कुरामा होमा हो पनि थपिन् रजनीले । अहिले चलचित्र लोफरले आशा गरेअनुरूप व्यापार गर्न नसकेपछि रेखालाई पछार्न, ढाल्न अनि उनको स्थान लिन आएकी भनिएकी रजनी कुन कुनामा छिन् ? अत्तोपत्तो छैन । चलचित्रको सुस्ततासँगै गुमनाम हुन पुगेकी रजनीको चर्चा ‘हात्ती आयो हात्ती आयो फुुस्सा’जस्तै भएको छ । विगत डेढ दशकदेखि निरन्तर रूपमा एकछत्र राज गर्न सफल रेखाको ठाउँ केवल एउटै फिल्म खेलेर लिन सक्ने आँट गर्नु वा त्यो सपना देख्नु पनि रजनीका लागि ठूलो भ्रम थियो । अरूको ठाउँ लिन्छु, अरूलाई ढाल्छु भनेर आउनुभन्दा पनि राम्रो काम गरेर आफूलाई स्थापित गर्छु भन्ने विचार उनमा आउनुपर्ने थियो । तर, अरूले उचालेको भरमा उचालिएकी रजनी अहिले थच्चिएकी छिन् । लोफर रिलिजअगाडि ठूला कुरा गर्ने उनी लोफर रिलिज भएकै भोलिपल्टदेखि आफ्नै हैसियतमा फर्किएकी छिन् अर्थात् त्यत्रो ब्यानर अनि नायकसँग समानान्तर भूमिकामा देखिएकी रजनी अहिले लोकगीतका भिडियोमा अभिनय गर्न थालेकी छिन् ।

जेनिसालाई अब जाग्यो आशा
के छैन जेनिसा केसीसँग । उनी राम्री छिन्, आवाज पनि वजनदार छ । उनको मुस्कानको तारिफ गर्नेहरू पनि प्रशस्त छन् । अझ सिनेमाको पर्दामा त उनी धपक्कै बल्छिन् । नायकसँग अङ्गालो मार्दा मेचमाथि बस्नुपर्ने थुपै्र नायिकाको भीडमा अग्लि अनि खाइलाग्दो शरीरकी धनी पनि हुन् उनी । उसो भए किन चर्चामा आउँदिनन् र बजार गरम पार्न सक्दिनन् त जेनिसाले ? जवाफमा उनले भनिन्, ‘काम त केही नयाँ नायिकाहरूभन्दा बढी नै गरेकी छु । बीसवटा फिल्म भनेको जोक होइन । तीनवटा फिल्म खेल्नेको चर्चा यहाँ धेरै छ तर मेरो त्यति छैन । किनकि… ?’ जेनिसा आफैँले पनि बुझेकी छैनन् ।
पोखरा गएर सिनेमाको सुटिङ गर्दा कहाँ नै गएजस्तो हल्लाको खेती गर्नेहरूको भीड बढिरहेको समयमा जेनिसाले लन्डनमा गएर सुटिङ गरेर आउँदा पनि हल्ला गरिनन् । ‘किन–किन हल्ला गर्न मन लागेन । तर, यहाँ त्यसरी चल्दोरहनेछ । बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भन्ने भनाइ सही हो रहेछ,’ उनले अनुभव सुनाइन् ।
गत महिना मात्र जेनिसा लन्डनमा नेपाली चलचित्र ‘आधी बाटो’को सुटिङ सकाएर फर्किन् । २१ दिन लन्डन पुगेर आएकी जेनिसाले लन्डनको बारेमा भनिन्, ‘लन्डन सपनाको सहर भन्थे हो रहेछ । सकिन्छ भने जीवनमा एकपटक पुग्नैपर्ने मुलुक । सुटिङको क्रममा पुग्दा साँच्चै अविष्मरणीय भयो ।’ जेनिसाले चलचित्र ‘आधी बाटो’बाट निकै ठूलो आशा राखेकी छिन् । उनले थपिन्, ‘मेरा अघिल्ला ब्यानर त्यति बलियो नभएका कारण पनि मेरो सही मूल्याङ्कन भएन । अब भने यो चलचित्रबाट साँच्चै मेरो मूल्याङ्कन हुनेछ ।’

funtimeसुजैनाले त्यागिन् ऋतिक
बलिवुड सिनेमाका सुपरस्टार ऋतिक रोशन आफ्नी बाल्यकालदेखिकी सहेली एवम् पत्नी सुजैनसँग अलग भएका छन् । १७ वर्ष लामो मित्रता र १३ वर्षे वैवाहिक जीवनको अन्त्य गर्ने फैसला सुजैनले नै लिएकी भए पनि यसको आधिकारिक घोषणाचाहिँ ऋतिकले गत साता शुक्रबार प्रेस विज्ञप्तिमार्फत गरेका हुन् । सुजैन एक जमानाका हिट टीभी कलाकार सञ्जय खानकी सुपुत्री हुन् । सुजैन र ऋतिकबीच विगत तीन महिनायता सम्बन्धमा फाटो बढ्दै आएको थियो । मिडियाहरूले यसबारे समाचार प्रकाशित गरे पनि दुवैले अस्वीकार गर्दै आएका थिए । सुजैनले ऋतिक सिने क्षेत्रकै अन्य युवतीसँग आकर्षित हुन थालेको शङ्का केही समयदेखि गर्दै आएकी र सोही विषयमा विवाद बढ्दै गएर डिभोर्ससम्मको परिस्थिति खडा भएको टिप्पणी गरिएको छ ।
सन् २००० मा वैवाहिक बन्धनमा बाँधिएका ऋतिक र सुजैनका दुई सन्तान छन् । डिभोर्सको घोषणा गर्दैगर्दा सन्तान र तिनका भविष्यबारे कुनै कुरा उल्लेख गरिएको छैन । ऋतिकले अब पत्नी सुजैनसँग आफ्नो कुनै सम्बन्ध नरहेको वक्तव्यमा उल्लेख गरेका छन् । पारपाचुकेको फैसलाले दुवै परिवारमा तनाव र दु:खको अनुभूति भएको ऋतिकले वक्तव्यमा जनाएका छन् । आफ्ना प्रशंसकहरूलाई निराश नहुन पनि उनले आह्वान गरेका छन् ।