जीवनरामले किन गरे खेलकुदमन्त्रीको उपेक्षा ?

जीवनरामले किन गरे खेलकुदमन्त्रीको उपेक्षा ?


– श्रीविक्रम भण्डारी (इन्डोनेसिया, जकार्ता)

इन्डोनेसियाको राजधानी जाकार्तामा सञ्चालन भैरहेको १८औं एसियाली खेलकुद प्रतियोगितामा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) लाई ‘बाइपास’ गरिएको छ । मन्त्री सु्नारलाई सर्वोच्चद्वारा अवैधानिक घोषित नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बाइपास गरेका हुन् ।

इन्डोनेसियामा सँगै बसेर पनि अध्यक्ष श्रेष्ठले मन्त्री सुनुवारलाई वास्ता नगरेको स्रोतले बताएको छ । श्रेष्ठले आफू ओलम्पिक कमिटीको अध्यक्ष भएको दम्भ देखाउँदै सुनुवारलाई बाइपास गरेको बुझिएको छ । थुप्रै दिन जाकार्तामा संगै बस्दा पनि श्रेष्ठले मन्त्री सुनारसँग भेटघाट र कुराकानी नगरेको सुत्रको दाबी छ । सो अवसरमा श्रेष्ठले अन्तर्राष्ट्रिय डेलिगेटहरुसंग व्यक्तिगत रुपमा भेटघाट गरे पनि उनीहरुको परिचयसमेत मन्त्री सुनारसँग गराएनन् ।

श्रेष्ठको यो हर्कतले यतिबेला खेलकुद मन्त्री मात्र नभई खेलकुदका पदाधिकारी र कर्मचारी समेत चिढिएका छन् । श्रेष्ठले अन्तर्राष्ट्रिय सम्वन्धका कारण राष्ट्रको मन्त्रीलाई यस्तो व्यवहार गर्न नहुने खेलकुदका एक कर्मचारीले बताए । जकार्तामा मन्त्रीको पोर्टफोलियो जस्तो भए पनि उहाँ नेपालको खेलकुद मन्त्री हो, यो कुरा श्रेष्ठले बुझ्नुपर्ने थियो, तर किन यस्तो व्यवहार गरे भन्ने चाहिँ अब नेपाल फर्केपछि मात्रै बुझ्न सकिने भन्दै उनले जीवनरामको निम्ति यो रवैया आत्मघाती हुन सक्नेतर्क गरे ।

राष्ट्रको खेलकुदको विकासको लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र ओलम्पिक कमिटी अफ एसिया (ओसिए) बाट नेपालको नाममा आउने सम्पूर्ण आर्थिक सहयोग श्रेष्ठले व्यक्तिगत रुपमा प्रयोग गर्दै आएका छन् । जसको दुरुपयोग श्रेष्ठले १८औं एसियाली खेलकुद प्रतियोगितामा समेत गरेका छन् । राष्ट्रिय खेलकुद परिषदलाई समेत थाहा नदिई श्रेष्ठले आफ्ना आसेपासेहरुलाई ओलम्पिकबाट भत्ता दिएर एसियाडको सयर गराएको पनि स्रोतले बताएको छ ।

१८ औं एसियाडमा पदक जित्न ओलम्पिक कमिटीले कस्तो भूमिका निर्वाह गर्नुपर्ने थियो, त्यसमा पूर्ण रुपमा चुकेका श्रेष्ठले खेलाडीहरुको लागि बैदेशिक प्रशिक्षणको व्यवस्था नमिलाए पनि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटीको दम्भमा मन्त्री सुनारलाई बाईपास गर्न भने सफल भएका छन् । अहिले जाकर्ताबाट नेपाल फर्किसकेका मन्त्री सुनारले श्रेष्ठको यो व्यवहारलाई कसरी लिएका गरेका छन्, त्यो श्रेष्ठ नेपाल फर्केपछि मन्त्रीले गर्ने व्यवहारबाट प्रस्ट हुने अनुमान गरिएको छ ।