नर्ककुण्डको यात्रा सोझयाएर झलनाथ वैकुण्ठधाम जाने सोचाइमा हुनुहुन्छ

नर्ककुण्डको यात्रा सोझयाएर झलनाथ वैकुण्ठधाम जाने सोचाइमा हुनुहुन्छ


-विद्यादेवी भण्डारी, उपाध्यक्ष, नेकपा एमाले
० माओवादी र काङ्ग्रेसपरस्त रोग लागेर एमाले मृत्युशय्यामा पुग्न लागेको छ भन्छन्, के एमालेभित्र यस्तै भएको हो ?
– नेकपा एमाले नेपालको राष्ट्रिय राजनीतिको केन्द्रमा छ । सही रूपमा आफ्नो भूमिका निर्वाह गर्ने कोसिसमा छ । तर, नेपाली राजनीतिका कमी-कमजोरी या सबल पक्षले यसमा प्रभाव पारेको छैन भन्न सकिन्न । तपार्इं अत्तर कारखानामा जानुभयो भने बाहिर निस्कँदा अत्तरकै बास्ना लिएर आउनुहुन्छ, कपास कारखाना पस्दा शरीरमा कपासको धुलो टाँसिएको हुन्छ, मल बनाउने कारखानामा पसेर निस्कँदा शरीरमा मलको बास्ना आउँछ । त्यसरी बाहिर लिएर आउने बास्ना मात्र हो, मुख्य चरित्र होइन । हामीले त्यसलाई चरित्र नै मान्यौँ भने गलत हुन्छ । यसअनुसार एमालेमा पनि त्यस्ता कमी-कमजोरी हुन सक्छन्, त्यसलाई नकार्न सकिँदैन । पछिल्लो समयमा एमालेभित्र उग्रवामपन्थी र अवसरवादीपन तन्कँदै जान थालेको छ । संसारमा कहीँ नभएको र जतिखेर जे पनि गर्न सक्ने उग्रवामपन्थ छ नेपालमा । त्यसले भ्रम छर्दै अवसरवादी प्रवृत्ति बढाउँदै गएको छ । त्यसविरुद्ध कडाइका साथ आफ्ना कार्यकर्तालाई अघि बढाउनुपर्ने समयमा नेतृत्वले त्यसो नगरिरहेको प्रस्टै छ । यसले गर्दा बाहिरबाट अनेकखाले समस्या या रोग भएजस्तो देखिएको हो ।
० पार्टीका शीर्ष नेताहरू नै अवसरवादी छन् भन्ने आरोप पनि लाग्ने गरेको छ, यो आरोप सही हो ?
– पार्टीले सधैं सही नेतृत्व फेला पार्छ भन्ने हुँदैन । तत्कालीन कम्युनिस्ट पार्टीको महासचिव केशरजंग रायमाझीलाई हेर्दा हुन्छ । त्यतिखेरका महासचिव भनेको अहिलेको अध्यक्षसरहको हो । उनका बारेमा चर्चा गरिरहनुपर्छ जस्तो लाग्दैन । तपाईंले भनेअनुसार अहिले एमाले नेतृत्वमा अवसरवादीपन देखिएको छ ।
० एमालेभित्र देखापरेका तीव्र अन्तरद्वन्द्व पनि अवसरवादी सोच र नेतापिच्छेका नीतिको कारणले हो भन्दा हुन्छ ?
– पार्टीभित्रको अन्तरद्वन्द्व अवसरवादको रूपमा भन्दा पनि राष्ट्रिय राजनीतिलाई कसरी निकास दिने भन्नेदेखि लिएर वैचारिक कुराहरू र माओवादीलाई कसरी विश्लेषण गर्ने भन्नेमा हो । मुख्य नेतृत्वमा अवसरवादी सोच होला तर हामीमा छैन । हामी राष्ट्रिय समस्यामा चिन्तित छौँ । पार्टीभित्र माओवादीलाई एक समूहले कम्युनिस्टको संज्ञा दिँदै एमाले र माओवादी मिलेर देशका सबै समस्या समाधान गर्न सकिन्छ भन्ने भ्रम पाली आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् । उनीहरू माओवादी मात्र हात लिँदा काङ्ग्रेस, मधेसवादीलगायत थुप्रै दललाई पाखा लगाएर दुईतिहाई बहुमतका आधारमा अघि बढेर सबै समस्या समाधान गर्न सकिन्छ भन्ने सोचमा छन् । तर, काङ्ग्रेस, मधेसवादी दललाई निषेध गरेर अघि बढ्दा राष्ट्रिय राजनीतिमा देखापरेको कुनै पनि समस्याको समाधान गर्न सकिँदैन र एमालेको आधिकारिक धारणा पनि यही हो ।
० एमालेले सही नेतृत्व पाउन सकेन भन्दा हुन्छ ?
– हो, एमालेले सही नेतृत्व पाउन नसकेको हो । पार्टीले अङ्गीकार गरेको सिद्धान्त जबजलाई कार्यान्वयन गर्ने सवालमा यही देखिन्छ ।
० यतिखेर पार्टीभित्र झलनाथ खनाल र वरिष्ठ नेता माधव-केपीबीच टकराव पैदा भएको छ, यस्तो बेलामा एमाले कसको र कुन सिद्धान्तमा चलेको छ ?
– पार्टीले निर्णय गरेको जनताको बहुदलीय जनवादको मार्ग निर्देशनभित्र नै पार्टी अघि बढिरहेको छ । तर, छद्म भेषमा जबजको सिद्धान्तलाई कमजोर बनाउने काम नेतृत्वबाट भएको देखिन्छ । यसमा म के भन्न चाहन्छु भने यदि नेतृत्व पार्टीले तयार गरेको कार्यदिशाअनुसार अघि बढ्न सक्दैन र अरूलाई पनि बढाउन सक्दैन भने ‘सकिनँ’ भन्दै नेतृत्व छाड्न सक्नुपर्छ ।
० राष्ट्रिय सहमति कायम गरी शान्ति र संविधान निर्माण गर्छु ।नी अध्यक्ष झलनाथ खनालले चट्टानी अडान लिनुभएको छ, उहाँलाई विश्वास नगर्ने त ?
– राष्ट्रिय सहमति कायम गरी शान्ति र संविधान निर्माणलाई अन्तिम रूप दिने उहाँको चट्टानी अडान हात्तीको देखाउने दाँतजस्तो मात्र हो । राष्ट्रिय सहमतिको अडान राख्ने व्यक्तिले राष्ट्रिय सहमतिबेगर बनेको सरकारको नेतृत्व किन गरेको ? उहाँले त २२ दलको समर्थनमा बनेको सरकारलाई गिराउने अचुक हतियारको रूपमा मात्र राष्ट्रिय सहमतिको नारा दिनुभयो । वास्तवमा उहाँले सरकारको नेतृत्व गरेपछि राष्ट्रिय सहमति बिर्सनुभएको देखिन्छ । पहिले बहुमतको सरकार भनेको नर्ककुण्डको यात्रा हो भन्दै नेपाल-नेतृत्वको सरकारको उहाँ आलोचना गर्नुहुन्थ्यो, अहिले त्यही नर्ककुण्डको यात्राबाट वैकुण्ठधाम जाने सोचाइमा हुनुहुन्छ । तर्सथ उहाँको अडान सिर्फप्रधानमन्त्रीको कुर्सीमा बस्नका लागि मात्र हो भन्ने पुष्टि भइसकेको छ ।
० खनाल-नेतृत्वको सरकार र उहाँको क्रियाकलापलाई कसरी लिनुहुन्छ ?
– पार्टीभित्र सहमति गराएर सरकारलाई सञ्चालन गर्न सक्नुभएको छैन । पार्टीको निर्णय लागू गर्न सक्नुभएको छैन । मुलुक र आम पार्टीकार्यकर्ताको भावनामा आँच आउने काम गर्नुभएको छ । पार्टीबाट मन्त्री बनाउँदा पनि पार्टी निर्णयविपरीत बनाउनुभयो । स्वेच्छाचारी ढङ्गबाट अघि बढ्न खोजरिहनुभएको छ । स्टालिनशैलीमा अघि बढ्दै हुनुहुन्छ जस्तो देखिन्छ । तर्सथ उहाँको क्रियाकलाप पार्टीभित्र र बाहिर सन्तोषजनक रूपमा लिने आधार सकिँदै गएका छन् ।
० एमालेमा स्वेच्छाचारी ढङ्गबाट काम गर्ने नेतृत्वलाई कारबाही गर्ने प्रावधान पनि त होला नि ?
– यसका लागि पार्टीको बैठक राख्नुपर्छ । कोही मानिस स्वेच्छाचारी ढङ्गबाट चल्यो भन्दैमा हामी पनि त्यसरी नै जानु त भएन, विधि र प्रक्रियामा चल्नुपर्छ । हामी विधि र प्रणालीगत ढङ्गबाट अघि बढ्छौँ । त्यसैले यसबारे बैठकमा कुरा राख्छौँ, सचिन आग्रह गर्छौं । त्यस्ता बैठकमा गल्ती, कमी-कमजोरी स्वीकार्नुभयो भने ठिकै छ नत्र त्यसपछि के गर्नुपर्छ त्यो पार्टीले नै गर्छ ।
० तपाईंको विचारमा अहिले झलनाथ खनालको कार्यशैलीलाई हेर्दा उहाँलाई कारबाही गर्न सक्ने ठाउँ छ कि छैन ?
– अहिले कारबाहीको कुराभन्दा पहिले बैठक बस्नु जरुरी पर्छ । बैठकमा त्यस विषयमा छलफल हुन्छ । अहिले मैले कारबाही गर्नुपर्छ या पर्दैन भनेर हुँदैन । किनकि बैठकमा उहाँले हिजोका दिनमा गरेका र गर्दै आएका कुरालाई कसरी पुष्टि गर्नुहुन्छ, कसरी विश्वस्त पार्नुहुन्छ, त्यसमा भरपर्छ । मुलुकमा गतिरोध सिर्जना गर्ने र पार्टी भावनाअनुसार नचल्ने हो भने कारबाही गर्ने दिन पनि आउन बेर लाग्दैन । तर, यतिबेला कारबाहीभन्दा पनि पार्टीको नेताले दलको आग्रह र निर्णयअनुसार अघि बढ्नुपर्छ भन्ने आग्रह गर्ने पक्षमा हामी छौँ ।
० पार्टी केन्द्रीय कमिटीको बैठक बस्ने भनिएको तर अध्यक्षले अनिश्चित कालका लागि स्थागित गर्नुभयो, कसरी बैठकमा कुरा राख्नुहुन्छ त ?
– बैठक अहिले पो स्थगित गरिएको छ, सधैंका लागि पक्कै होइन होला । बैठक बस्ने मिति घोषणा भए पनि अध्यक्ष्ँले आनाकानी गर्दै आउनुभएको देखिन्थ्यो । हामीलाई चिन्ता थियो कि उहाँले यसअघिजस्तै विभिन्न बहानामा बैठक टार्ने काम त गर्नुहुन्न ? नभन्दै जे चिन्ता गरेको त्यही भयो, अन्तिम समयमा आएर बैठक सार्नुभएको छ, अब समयमै बैठक बोलाउनका लागि प्रयत्न हुनेछ ।
० बैठकको पूर्वसन्ध्यामा नेपाल-ओलीसमेतको सहभागितामा भएको बेग्लै बैठकले झलनाथको औचित्य सकियो भन्दै राजीनामा माग्ने तयारी गरेका थिए भन्ने सुनियो, यो साँचो हो ?
– अध्यक्ष खनाल स्वयम्ले नै यो शान्ति र संविधानका लागि राष्ट्रिय सहमतिको सरकार भन्नुभएको हो । तर, अहिलेसम्म राष्ट्रिय सहमतिको सरकार बन्न सकिरहेको छैन । राष्ट्रिय सहमतिको सरकार बनाउन सकिएन भने मुलुकलाई निकास दिन पनि सकिँदैन । यो सरकारको औचित्य त दुनियाँले देखिसकेको छ । तर्सथ अहिलेको सरकारको औचित्य स्वत: समाप्त भइसक्यो । तै पनि म यही सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार बनाएर शान्ति र संविधान निर्माण कार्यलाई पूर्णता दिउँm भन्ने पक्षमा छु । त्यसैअनुसार हामी काङ्ग्रेेसलगायत अन्य दलका नेताहरूसँग कुरा गरिरहेका छौँ । तर, ती दलहरूले उहाँको नेतृत्व मान्दैनौँ भन्यो भने मुलुकलाई बन्धक बनाउनु त भएन । २२ दलको समर्थन हुँदा त माधव नेपाल नेतृत्वको सरकारले राष्ट्रिय सहमतिका लागि राजीनामा दिएको थियो भने अहिलेको प्रधानमन्त्रीले पनि राजीनामा दिएर बाटो छाड्नुको विकल्प छैन । यदि त्यसो गर्नुभएन भने उहाँको चट्टानी अडान प्रधानमन्त्रीको कुर्सीसम्म पुग्नका लागि मात्र हो भन्ने पुष्टि हुन्छ ।
० खनालले आफूलाई पार्टीका दुई ठूला नेता माधव र ओलीले असहयोग गरेर काम गर्न दिएनन् भन्नुभएको छ नि, हो ?
– यो फाल्तु कुरा हो । पार्टीको निर्णयअनुसार अघि बढ्न सुझाव-सल्लाह दिइरहनुभएको छ उहाँहरूले । यो दोष लगाउने एक बहाना मात्र हो ।
० झलनाथको छनोटमा परेका मन्त्रीहरूलाई चाहिँ तपाईं कसरी लिनुहुन्छ ?
– व्यक्तिगत रूपमा जान चाहन्न, तर पार्टीप्रति इमानदार र लामो समयदेखि पार्टीमा सक्रिय रहेका, योग्य, सक्षम व्यक्तिलाई पन्छाएर कतैबाट टपक्क टिपेर मन्त्री बनाउने कार्य जो गर्नुभयो यो उहाँको स्वेच्छाचारिताको नमुना हो ।
० उहाँले एक विवादास्पद व्यक्तिलाई पनि मन्त्री बनाउनुभयो, किन होला ?
– उहाँको रहर या बाध्यता हामीले बुझ्न सकेका छैनौँ । जसलाई उहाँले मन्त्री बनाउनुभयो उहाँलाई संविधानसभाको सदस्य बनाउँदा पनि हामीले राम्रोसँग चिनेको मानिस होइन । पछि थुप्रै विवादास्पद कुरा सुनियो, तर म प्रमाण खोज्नतिर लागिनँ । जब मन्त्रीको नाममा प्रस्ताव भएपछि मैले भनेको थिएँ यो के हो, लामा समुदायकै मान्छे छान्ने हो भने पनि अरू धेरै मान्छे छन् भन्दै धेरैको नाम दिएको थिएँ । हामीले यसरी विवादमा परेका व्यक्तिलाई पुन: ल्याउनुहुन्न होला भन्ने लागेको थियो तर राज्यमन्त्री नै पो बनाउनुभयो ।
० यस विषयमा पार्टीमा कुरा उठ्ला नि, होइन ?
– उठ्छ, यसको उहाँले चित्तबुझ्दो जवाफ दिनुपर्छ ।
० लामा प्रकरणले पार्टी, सरकार अनि प्रधानमन्त्रीको छविमा कस्तो असर पर्‍योजस्तो लाग्छ ?
– लामालाई प्रधानमन्त्रीले राज्यमन्त्री बनाएको भए पनि यसमा पार्टीको नाम जोडिएको छ । यसले पार्टीनेतृत्वप्रति कार्यकर्ताको नकारात्मक दृष्टिकोण पर्न जान्छ । यसका साथै मुलुकप्रति नै नकारात्मक दृष्टिकोण बन्न मद्दत पुग्यो भन्ने लाग्छ ।
० तपाईंको भनाइअनुसार यो सरकारले अब केही गर्न सक्दैन भन्ने देखिन्छ, तर प्रधानमन्त्री खनालले यो सरकार कुनै पनि हालतमा हट्दैन, यसैले शान्ति र संविधान निर्माणकार्यलाई पूर्णता दिन्छ भन्दै आउनुभएको छ, के भन्नुहुन्छ ?
– यो उहाँले बोल्नका लागि मात्र बोलेको कुरा हो । अहिले उहाँका सबै बोली फितलो हुँदै गएका छन् । बोलीमा कुनै दम छैन । यदि दमनकारी नीति लिएर अघि बढ्न खोज्नुभएको छ भने त्यो बेग्लै कुरा नत्र प्रजातान्त्रिक ढङ्गबाट खनाल-नेतृत्वको सरकारले शान्ति र संविधान दिन सक्ने आधार देखिँदैन ।
० यो सरकारको आयु सकियो त उसो भए ?
– त्योचाहिँ तपाईंहरूको विश्लेषण हो । समय छोटो भएकाले यसलाई सफल बनाउन पार्टी लागिरहेको छ । तर, परिस्थिति सोहीअनुरूप अघि बढिरहेको देखिँदैन । सरकार यही स्थितिमा रहन्छ भने त कसैले काँध थापेर बस्ने अवस्था पनि आउँदैन ।
० माओवादीकै सहयोगमा सरकार बनेको भए पनि उसले पछिल्लो दिनमा गृह नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको कुरा गरेका छन्, एमाले माओवादीलाई गृह दिन चाहिरहेको छैन, अनि त ?
– गृह मन्त्रालय माओवादीलाई दिन सकिँदैन । यो एमालेको मात्र नभई समग्र शान्तिप्रक्रियासँग जोडिएको सवाल हो । माओवादी पूर्ण रूपमा हिंसालाई त्यागिसकेको पार्टी होइन । ऊ अझै हिंसामा विश्वास गर्छ, उससँग हतियार, लडाकु र विभिन्न नामका सङ्गठित लडाकु दस्ता छन् । पालुङटार बैठकले तय गरेको कुरा गर्दा पनि उनीहरू विद्रोहलाई प्रमुख लक्ष्य बनाउँदै सत्ता कब्जा गर्ने नीतिमा छन् । यस्ता दललाई गृहको जिम्मा लगाउँदा मुलुकको अवस्था के होला ? सुरक्षा निकायको मनोबल कहाँ पुग्ला ? गृह उसले पाउँदा ऊ थप हिंस्रक हुन्छ, झन् घमण्डा पैदा हुन्छ, हिंसालाई फैलाउनुका साथै सङ्गठित गर्ने मौका पाउँछन् । त्यसैले गृह माओवादीलाई दिनुहुँदैन भनिएको हो । यसमा उसको अहित चिताएर होइन ।
० कथं प्रधानमन्त्रीले गृह माओवादीलाई दिनुभयो भने तपाईंहरू के गर्नुहुन्छ ?
– अहिलेको कामगराइले उहाँ त्यस ठाउँमा नपुग्नुहोला भन्न सकिन्न । तर, त्यसरी गृह दिनुभयो भने त त्यो सीधै पार्टीनिर्णय खिलाफमा हुन्छ । त्यसैले अध्यक्ष पार्टी निर्णय खिलाफमा हिँड्न सक्नुहुन्न भन्ने लाग्छ । यदि बुद्धि बिग्रिएर गृह माओवादीलाई दिनुभयो भने त्यतिबेला सरकारको नेतृत्वबाट एमालेको तुरुन्त हट्नुपर्ने अवस्था आउँछ ।
० तपाईं रक्षामन्त्रीबाट भर्खर फिर्ता हुनुभएको छ, तपाईं नेपाली सेनासँग निकै नजिक रहेर काम गर्नुभयो, कस्तो पाउनुभयो नेपाली सेनालाई ?
– राज्यको प्रमुख शक्तिको रूपमा नेपाली सेनालाई लिएँ या लिएकी छु । यसलाई सबल सुढृढ र समयानुकूल बनाउन म लागिरहेँ । नेपाली सेनालाई शुद्ध व्यावसायिक सेनाको रूपमा विकास गराउने काममा समर्पित भएँ । राजनीतिक परिस्थिति बुझ्ने तर राजनीति नगर्ने सेनाको विकासमा म लागेको थिएँ । राष्ट्रको मेरुदण्डको रूपमा काम गर्ने, सार्वभौम सत्ताका काम गर्ने शक्तिको रूपमा मैले नेपाली सेनालाई पाएँ ।
० तपाईं रक्षामन्त्री हुँदाका तीता र रमाइला अनुभव छन् ?
– मैलो तीतो-मीठोको समीक्षा गरेको छैन । किनकि म भर्खर मात्र पदमुक्त भएको हुँ । मेरा लागि नयाँ क्षेत्र भएकाले केही कमी-कमजोरी भएको हुनसक्छ । तर, मैले जे-जति गरेँ मुलुकको हितका लागि काम गरेँ भन्ने लाग्छ ।
० तपाईंले प्रचण्ड नेतृत्वमा बनेको सरकारबाट कारबाही परेका जर्नेललाई पदबहाली गर्नुभयो, त्यतिबेला तपाईंमाथि विभिन्न आरोप पनि लागेको थियो, तपाईंले किन त्यसो गरेको ?
– माओवादीको आरोपको पछाडि हिँड्नुपर्छ जस्तो मलाई लाग्दैन । उनीहरूले सेनामा राजनीतीकरण गराई विभाजन गराउन खोजेका थिए, मैले त्यसलाई रोकेको मात्र हुँ, तर्सथ मैले जे गरेँ एकदम सही गरेँ भन्ने लाग्छ ।
० सेना समायोजनसम्बन्धी तयार पारिएको प्रस्तावलाई चाहिँ तपाईं के भन्नुहुन्छ ?
– त्यो बाहिर चर्चामा आइरहेको छ । मेरो आफ्नो विचार तपाईंहरूलाई राम्रो जानकारी हुनुपर्छ कि लडाकुहरूलाई व्यावसायिक रूपमा सुरक्षा फोर्समा सामेल गर्न हुन्न । लडाकुलाई सेनामा समावेश गराउँदा यसले गलत नतिजा स्थापित गर्छ । सुरक्षा निकायमा भयङ्कर राजनीतीकरण हुन्छ । अनुशासनहीन हुन पुगी भविष्यमा सेना अराजक हुनसक्छ । जुन सम्झौताको कुरा छ त्यो भनेको उनीहरूलाई सही रूपमा सेनामा नभई छुट्टै निकायमा पुनर्स्थापना गर्नुपर्छ भनिएको हो, त्यो सही रूपमा समाजमा पुनर्स्थापना गर्ने हो । कि त उनीहरू विजय प्राप्त गरेर अएको सेना हुनुपर्‍यो । त्यो पनि होइन । अनि चिनियाँ मोडल खोजेर हुन्छ ?
० अन्त्यमा, माओवादी र एमालेकै केही नेताहरूले माधव-केपीलाई भारतपरस्त भन्ने आरोप लगाउने गरेका छन्, तपाईं के भन्नुहुन्छ ?
– यो वाहियात र एकदमै गलत कुरा हो । कुनै अरू देशलाई तान्नुपर्ने कुरा छैन । सबैको आ-आफ्नै विचार हुन्छ । त्यस्तै छिमेकी देशको पनि विचार हुन सक्छ । आफ्नो विचार राख्न सबैले पाउँछन् ।
– रामहरि पाण्डे

त्यो वाहियात प्रचारबाजी हो : देव गुरुङ (एकीकृत नेकपा माओवादी)
एकीकृत नेकपा माओवादी स्थायी समितिका सदस्य देव गुरुङ पछिल्लो समयमा पार्टीको तर्फबाट सरकारमा गृह मन्त्रालयको जिम्मेवारी पाउने नेताका रूपमा चर्चामा हुनुहुन्छ । पार्टीभित्र तटस्थ भूमिका निर्वाह गर्दै आए पनि पछिल्लो समयमा गृहमन्त्रीको रूपमा उपाध्यक्ष मोहन वैद्य किरणले प्रस्ताव गरेपछि उहाँ वैद्य क्याम्पमा देखिनुभएको छ । शान्ति र संविधानलाई जनयुद्धको भावनाअनुसार अगाडि बढाउने विषयका पक्षपाती गुरुङसँग पछिल्लो राजनीतिक विषय र माओवादी केन्द्रीय कमिटीको बहुप्रतीक्षित केन्द्रीय समितिको बैठकको विषयमा केन्द्रित रहेर घटना र विचार साप्ताहिकका लागि ऋषि धमलाले गरेको कुराकानीको मुख्य अंश:
माओवादी केन्द्रीय कमिटीको बैठकले कस्तो निर्णय गर्ला ?
त्यो त निर्णय गरिसकेपछि मात्रै थाहा हुन्छ नि । अहिले नै भन्न सकिने अवस्था छैन ।
अहिलेको अवस्थामा पार्टीले कस्तो लाइन लिनुपर्छ ?
जनयुद्धको म्यान्डेट र जनताले उठाएको समस्या समाधान गर्ने गरी शान्तिप्रक्रिया र संविधान निर्माणको कार्य पूरा गर्नुपर्छ । जनतालाई अधिकारसम्पन्न गर्ने हिसाबमा पार्टीको दिशाउन्मुख हुनुपर्छ । शान्ति र संविधान वा जनविद्रोहभन्दा पनि संविधानमा रहने अन्तरवस्तुको विषयलाई लिएर अहिले पार्टीभित्र विवाद भइरहेको हो । अहिले जुन फरक मतहरू छन्, राज्यको पुनर्संरचनालगायतको विषयमा अहिले त्यसलाई आत्मसात् गरेर जाने कि छाडेर जाने भन्ने विषयको विवाद हो अहिलेको । त्यस्तै सेना समायोजनको विषयमा पनि मोडालिटी तयार गरेर रिग्रुपिङ गर्ने कि मोडालिटी तयार नहुँदै रिग्रुपिङ गर्ने भन्ने विवाद पनि हो ।
शान्ति र संविधान कि जनविद्रोह भन्ने अहिले केन्द्रीय कमिटीको विवादको विषय होइन र त्यो कुरा यथार्थ पनि होइन ।
पार्टीभित्रको कुनचाहिँ बहस र्सार्थक हुन सक्छ ?
पार्टीभित्रको मूल बहस भनेको ११ वटा संवैधानिक समितिले दिएको रिपोर्टहरूमा राज्य पुनर्संरचनालगायतका विषयहरूमा जुन खालको विवाद छ, त्यो विवादहरूमा अहिले जुन सुझाव आएको छ त्यसको आधारमा अगाडि बढ्ने कि त्यसलाई छाडेर संविधानको मस्यौदा बनाउने भन्ने विषयमा बहस चलिरहेको छ ।
अध्यक्ष प्रचण्डले त पालुङटार बैठकले तय गरेको कार्यदिशा छाड्नुभयो भन्ने कुरा बाहिर आएको छ नि ?
पालुङटार बैठकको कार्यदिशा भनेको शान्ति र संविधानका लागि सङ्घर्ष गर्ने भन्ने हो । संविधान निर्माणमा जे-जति विषय उठेका छन् । हामीले विगतदेखि नै जे-जति कुराहरू अगाडि बढाउँदै आएका छौँ । वर्ग, जाति, क्षेत्र लिङ्गको भावना सम्बोधन गर्ने भन्नेमा कन्फ्युजन उत्पन्न भएको छ । त्यसैले अहिलेको छलफल पार्टीले उठाउँदै आएका विषयहरू राज्य पुनर्संरचनामा, मौलिक हकको अधिकार, शासकीय स्वरूप र प्रस्तावनामा केन्द्रित छ । ती विषयलाई छाडेर अगाडि बढ्ने कि ती विषयलाई नछाड्ने भन्नेमा बहस केन्द्रित छ । पालुङटारले त ती विषयलाई नछाडी सङ्घर्ष गरेर अगाडि बढ्दै सविधान निर्माण प्रक्रियामा पुग्दा त राम्रो हुन्छ भनेको हो । अघिल्ला समयमा यी विषयलाई छाड्दै जाँदा पनि संविधान बनेन यो नै अहिलेको समस्या हो ।
अध्यक्ष प्रचण्डले पालुङटारको निर्देशनलाई किन मान्नुभएन त ?
उहाँले किन मान्नुभएन, किन कार्यान्वयन गर्नुभएन भन्ने विषय अहिले छलफलको विषय बनेको छ । अहिले पार्टीभित्र छलफलको विषय बनिरहेको कारण विगत कालमा जे मुद्दा उठाइएको थियो त्यो मुद्दाचाहिँ छाडनुहुँदैन भन्ने हाम्रो मान्यता हो । अध्यक्षको प्रतिवेदन अहिले केही विषयलाई छाडेर शान्ति र संविधानमा अगाडि बढ्ने हो कि भन्ने कोणबाट आएको छ । त्यसमा छलफल चलिरहेको छ ।
पार्टी अध्यक्षको प्रतिवेदन पारित गराउन तपाईंको भूमिका रहन्छ कि रहँदैन ?
अहिले सहयोग हुन्छ कि हुँदैन भन्ने प्रश्न भन्दा पनि आन्दोलनको हितमा जे हुन्छ त्यही काम गर्ने भन्ने कुरा मुख्य हो । जनयुद्धले जुन जनादेश दिएको छ त्यो जनादेशको मान्यताभन्दा प्रतिकूल ढङ्गले त बढ्न मिल्दैन । त्यसमा कसैलाई पनि छुट हुँदैन ।
अध्यक्ष प्रचण्डलाई पनि छुट छैन ?
कसैलाई छुट छ वा छैन भन्ने कुरा होइन । विगतकालको मूल्य मान्यता नै छाडेर जान चाहने हो भने त्यो व्यक्तिगत स्वतन्त्रताको कुरा हो । सीधै आन्दोलनको कोणबाट हेर्दाखेरि विगतमा १० वर्षो जनयुद्ध उठान गर्नुको मूल कारण के हो भन्दा वर्ग, जाति, क्षेत्र, लिङ्ग, मजदुर किसानका अधिकारलाई सुनिश्चित गर्नुपर्छ । विगतको संविधानबाट त्यो हुन सकेन । त्यसकारण राज्य पुनर्संरचना गर्दै नयाँ संविधान निर्माण गर्नुपर्छ । नयाँ संविधान निर्माणमै त्यो कुरा छाडिदिने हो भने त ४७ सालको पुरानै संविधान ब्युँताउने कुरा भयो । त्यसो हुँदा विगत कालका आन्दोलनका मुद्दामा हामी सहिद पनि हुन सक्छौँ । त्यसो गर्नुहुँदैन भन्ने विषयमा छलफल र बहस चलिरहेको छ । त्यसबाट एउटा उचित निर्णय लिने भन्नेमा म आशावादी छु ।
उपाध्यक्ष वैद्यको प्रतिवेदन तपाईंलाई कस्तो लाग्छ ?
यो अहिले पार्टीभित्रको छलफल र बहसको विषय हो । अहिले छलफल चलिरहेको छ । वैद्यले प्रतिवेदनमा संविधान निर्माणमा आधारभूत कुरा छुट्ने भए किन संविधान बनाउने ? आधारभूत कुराहरूलाई किन छाड्ने भन्ने एउटा कुरा उठाउनुभएको छ । अर्को सेना समायोजनको सर्न्दर्भमा मोडालिटी नै क्लियर नभई रिगु्रपिङ गर्दै जाने, समायोजन गर्दै जाने भन्ने कुरा अलि मिलेन, त्यसकारणले गर्दा मोडालिटी नै पहिला क्लियर गर्नुपर्छ भन्ने कुरा उठाउनुभएको छ ।
शान्ति र संविधानको सुनिश्चितताका लागि अहिले अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईबीच एकता भएको छ नि, यसलाई कसरी लिनुभएको छ ?
शान्ति र संविधानका लागि भनेर जुन ढङ्गले प्रचार गरिएको छ । यो यथार्थपरक भएन । शान्ति र संविधानको जिम्मेवारी पूरा गर्ने-नगर्ने भन्ने विषयको विवादै होइन अहिलेको । मूल मुद्दा भनेको शान्ति र संविधानलाई सुनिश्चित गर्न कुन मुद्दालाई अगाडि बढाउने भन्ने कुरामै विवाद छ । कसैले शान्ति र संविधानका लागि कसैले चाहिँ शान्ति नचाहेको संविधान नचाहेको भन्ने ढङ्गले जसरी प्रचार गरिएको छ, त्यो सोह्रैआना झुट कुरो हो, गलत कुरो हो । यसमा कुनै यथार्थता छैन ।
तर बाहिर त वैद्य शान्ति र संविधान चाहनुहुन्न जनविद्रोहमार्फत सत्ता कब्जा गर्न चाहनुहुन्छ भनिन्छ नि ?
त्यो त साम्राज्यवादी, विस्तारवादी शक्तिहरूले चलाएको कथित सुनियोजित प्रचारबाजी हो । यसमा कुनै सत्यता छैन ।
किन वैद्यमाथि यस्तो आरोप लगाइएको त ?
यो त साम्राज्यवादी, विस्तारवादी शक्तिहरूले लगाएको आरोप हो । देशभक्त र क्रान्तिकारीले लगाएको आरोप होइन । बिलकुल झुट कुरा हो । जुन ढङ्गले प्रचारबाजी भइरहेको छ त्यो विसुद्ध ढङ्गले विस्तारवादी र साम्राज्यवादीका दलालहरूले लगाएका आरोप हो । नेपाली जनता र राष्ट्रवादीहरूले लगाएको आरोप हुँदै होइन ।
त्यसो भए तपाईंको पार्टीभित्र पनि त्यस्ता दलालहरू छन्, होइन ?
पार्टीभित्रबाट लगाएको आरोप होइन, बाहिर मिडियाले चलाएको कुरा हो यो, पार्टीभित्र त्यस्तो कुरा छैन ।
अहिले जनविद्रोह गर्न सकिँदैन भन्ने मान्यता त तपाईंहरूको पार्टीभित्र पनि छ नि ?
गर्न सकिन्छ कि सकिँदैन भन्नेभन्दा पनि अहिलेको मूल प्रश्न भनेको जनताको समस्यालाई ठीक ढङ्गले सम्बोधन भयो भने जनविद्रोह गर्ने कुरा हुनेवाला छैन । जनताको समस्यालाई ठीक ढङ्गले सम्बोधन गरिएन भने जनविद्रोह हुँदैन भनियो भने पनि जनताले विद्रोह गर्नेवाला छन् । यो एकै ठाउँमा जोडेर व्याख्या गर्ने विषय नै होइन । मूल कुरो के भने अहिले संविधान निर्माण प्रक्रिया र सेना समायोजन प्रक्रिया अगाडि बढिरहेको बेलामा उठेका विषयलाई सम्बोधन गर्ने कि नगर्ने भन्ने कुरा हो ।
देव गुरुङले गृह मन्त्रालय नपाएको कारण अहिले प्रचण्डको विरोधमा उत्रिएको हो भनिन्छ, सुन्नुभएको छ ?
यो वाहियात, हावादारी प्रचारबाजी हो ।
त्यसो भए गृहमन्त्री तपाईं नै हुनुहुन्छ ?
यो प्राविधिक विषयमा प्रस्ताव उठेको पनि छैन । छलफलका लागि प्रस्ताव आएको पनि छैन । आउँदै नआएको विषयलाई लिएर हावादारी ढङ्गले चरित्र हत्या गर्न गरिएको प्रचारबाजी हो यो ।
केन्द्रीय कमिटीको बैठकले अध्यक्ष प्रचण्डको प्रस्ताव प्रचण्ड बहुमतले पारित हुन्छ भनिन्छ त, सम्भावना के छ ?
पारित हुन्छ हुँदैन भन्ने कुरा निर्णय भइसकेपछि थाहा हुने कुरो हो ।
प्रचण्डको प्रस्ताव पारित भयो भने मोहन वैद्यले के गर्नुहुन्छ ?
अहिले निर्णय नै भएको छैन । निर्णय गर्नु प्रचारबाजी गरेर त हुँदैन नि । भविष्यको विषयमा अड्कलबाजी गरेर हुँदैन । बैठकले उचित निर्णय लिन्छ । अहिले नै यो हुन्छ वा हुँदैन भनेर भन्न सकिँदैन ।

लडाउने भिडाउने होइन, हार्दिकता कायम गर्ने हो
-कृष्णप्रसाद निरौला, अध्यक्ष मधेसी कारखाना श्रमिक फोरम
० मधेसी-मधेसीमा द्वन्द्व एवम् विभेद देखिन्छ, किन होला ?
– वैचारिक भिन्नता हुँदा द्वन्द्व भएजस्तो देखिन्छ । द्वन्द्व विभेदले मात्र हुँदैन । अब समाज समृद्धि र विचारप्रधान हुनुपर्छ ।
० तपाईं त ‘पहाडिया’, मधेसेकोमा किन जानुभो नि ?
– अब पहाडे र मधेसे भनेर लड्ने समय होइन । मधेसमा बसोबास गर्ने चाहे जोकोही हुन् मधेसवासी हुन् । त्यसैले समस्त मधेसवासीका समस्याको सम्बोधन गर्ने उद्देश्य बोकेर आएको हुँ म । यसका लागि समस्याको जड पत्ता लगाउने प्रयास सक्दो गर्नेछु ।
० नेकामा पद नपाएर त होइन ?
– पक्कै पनि होइन । वैचारिक कारणले मात्र हो ।
० मजदुरहरू त केवल आन्दोलन गर्छन्, मालिकलाई सताउँछन् भनिन्छ नि, हो ?
– यो सर्वथा गलत कुरा हो, आरोप मात्र हो । मजदुरका हकहितका विरुद्धमा शोषक मालिकहरूले चलाएको हल्ला मात्र हो । शोषकलाई हामी कदापि क्षमा गर्दैनौँ । मजदुरलाई न्याय दिलाउनु सङ्गठनको प्रमुख कर्तव्य हो ।
० कलकारखाना त ठप्पै थिए नि, यो पनि झुट हो त ?
– जब-जब मजदुरको चोखो पसिनामाथि खेलवाड हुन्छ तबतब सम्पूर्ण मजदुर गोलबद्ध हुने गर्छन् । आफ्नो हकहितको रक्षाका निमित्त बन्द मात्र त के जीवन आहुती दिन पनि हामी पछि पर्दैनौँ ।
० त्यसैले होला तपाईं नेताहरू मालिक र मजदुरलाई भिडाउनुहुन्छ, होइन ?
– अधिकारको रक्षा त गर्नुपर्‍यो नि । मजदुर सङ्गठनले मालिकसँग भिड्ने-भिडाउने नभएर दुईका बीचको सौहार्दपूर्ण नङमासुको सम्बन्धलाई अझ सुमधुर एवम् प्रगाढ तुल्याउँदै लैजानु आजको आवश्यकता हो । समस्याको समाधान टेबुलटकबाट गर्न सकिहालिन्छ नि ।
० संविधान बन्लाजस्तो लाग्छ नेपालमा ?
– यस्तै हो भने बन्न अत्यन्त गाह्रो छ । ठूला नेताहरू पूर्ण रूपले गैरजिम्मेवार देखिएका छन् । यो लगभग राष्ट्र र जनताप्रतिको बेइमानी हो ।
० अब तपाईं आफ्ना अधिकार सुनिश्चित कसरी गर्नुहुन्छ त, सम्भावना छ ?
– असम्भव त केही पनि छैन । गाह्रो भयो भन्दैमा नबन्ने नै चाहिँ होइन संविधान । जहाँसम्म अधिकार सुनिश्चितताको प्रश्न छ, महासङ्घ पूर्णतया सचेत छ ।
– टंकमणि निरौला