खेलकुद लेख
बालपनको अबोधता आफैँमा प्यारो हुन्छ । जान–अनजान बालहठका अगाडि प्रायः सबै अभिभावकले बालक नै बनिदिनुपर्ने हुन्छ । त्यसबेला बालकले गर्ने हरेक क्रियाकलाप अभिभावकका लागि कुतूहलको विषय बन्छ । उसको जिज्ञासा र उत्सुकताले अभिभावकलाई रोमाञ्चित बनाउनुको साथै सोचनीय बनाइदिन्छ । परिणाम एउटा मार्गचित्र तयार हुन्छ, कसरी मार्गदर्शन गर्ने भनेर । यस्तै बालमनोविज्ञानलाई आत्मसात् गर्दै बुबा अनन्त कुँवरले कुमालेको भूमिका निर्वाह गरेका थिए । काँचो माटोलाई सही रूपमा ढाल्न कुँवर पनि बालक बनेका थिए । जब सात वर्षको उमेरमा छोरा अजय कुँवरले प्लास्टिकको ब्याड र बल लिएर बुबा अनन्तलाई बलिङ गर्न बाध्य पारे तब उनले जानी–नजानी बलिङ गरेर छोराको इच्छा पूरा गरेका थिए । छोरा अजयको खेलकुदप्रतिको अगाध रुचिलाई मध्यनजर गर्दै त्यसैबेला उनले अजयको भविष्यको खाका कोर्न बाध्य भए । बुबा अनन्तले त्यसबेला सपना देख्नु अलि हतार भए पनि अजयको आनीबानीले त्यसलाई सार्थक तुल्याउँदै गएको थियो । जुन यद्यपी जारी छ, त्यसबेला देखेको सपना निरन्तर रूपमा साकार भइरहेको छ । अजय आज एक प्रतिभाशाली र उदीयमान खेलाडीको रूपमा खेलकुदको क्षितिजमा देखिएका छन् ।
खेलकुद भनेपछि हुरुक्कै हुने अजयले सानै उमेरदेखि क्रिकेट, फुटबल, टेबुलटेनिस, चेस र बास्केटबलप्रति विशेष झुकाव राखेका थिए । कक्षा तीनमा अध्ययनरत रहँदा प्रायः सबै खेलमा सहभागिता जनाएका अजयले ६ कक्षासम्म यिनै खेलहरूमा रमाएका थिए । सबै खेलमा उत्तिकै दख्खल राख्ने अजयले कक्षा सातमा पुगेपछि बास्केटबललाई आत्मसात् गरेका थिए । उनी अध्ययनरत स्कुल अर्थात् इनोभेटिभ इङ्ग्लिसमा भौतिक पूर्वाधारको कमीले गर्दा बास्केटबलप्रति उनको झुकाव बढेको थियो । यसपछि स्कुलमा रहेको बास्केटबल कोर्ट अजयको पसिना बगाउने र तिर्खा मेटाउने साधन बनेको थियो । उनलाई तिखार्ने काम बुबा अनन्तको प्रेरणा र प्रशिक्षक प्रकाश अवालेको मिहिनेतले गरेको थियो । प्रतिभाशाली अजयले बास्केटबलमा रंग देखाउन थालेपछि उनलाई अझ निखार्ने काम राष्ट्रिय प्रशिक्षक दिनेश नकर्मीले अहिलेसम्म गर्दै आएका छन् । नकर्मीकै प्रशिक्षणमा अजय अहिले बास्केटबलका चम्किलो ताराको रूपमा आवरणमा देखिएका छन् ।
मात्र १२ वर्षको उमेरमा अजयले अन्डर–१४ जुनियर बास्केटबल फेस्टिबलमा सहभागिता जनाएका थिए । आफ्नो पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन गरेका अजयले आफ्नो स्कुल इनाभेटिभलाई पहिलोपटक पदक दिलाउन सफल भएका थिए । उक्त प्रतियोगितामा अजयले महŒवपूर्ण भूमिका निभाउँदै प्रतियोगिताकै टप स्कोर बनेका थिए । अजयको यही उत्कृष्ट प्रदर्शनको मूल्याङ्कन गर्दै नेपाल बास्केटबल सङ्घले उनलाई जुनियर टिममा राखेको थियो । ०६८ मा सङ्घले जापानमा भएको यू–१४ बास्केटबल फेस्टिबलमा खेल्न अजयलाई लगेको थियो । उमेरका कारणले उक्त फेस्टिबलमा प्रायः समय बेन्चमै बसेका अजयले पाएको अवसरलाई पूर्णरूपमा सदुपयोग गर्दै अन्तर्राष्ट्रिय अनुभव बटुलेका थिए । त्यसबेला उनी टोलीको १५औँ खेलाडी थिए । त्यसपछि विद्यालयस्तरका प्रतियोगितामा अजयले स्मरणयोग्य प्रदर्शन गर्दै इनोभेटिभ स्कुलको झोलीमा थुप्रै उपाधि हाल्न सफल भएका थिए । प्रायः सबै प्रतियोगितामा इनोभेटिभ च्याम्पियन बनेको थियो । यसमा अजयको विशेष योगदान रहेको थियो ।
टाढाबाट फ्याँकेर तीन प्वाइन्ट हासिल गर्नमा अजय माहिर छन् । उनको खेलको सशक्त र सकारात्मक पक्ष भनेको पनि यही हो । उनको यही जादुमयी प्रदर्शनले अन्य खेलाडी, पदाधिकारी र खेलप्रेमीलाई मन्त्रमुग्ध पार्दै आएको छ । बास्केटबल खेल्न थालेको दुई वर्षको अन्तरालमै आफ्नो स्कुललाई राष्ट्रिय च्याम्पियन बनाउन सफल भएका अजयले ०६९ मा आफ्नै कप्तानीमा अन्डर–१४ राष्ट्रिय बास्केटबल प्रतियोगितामा आफ्नो टोलीलाई विजयी बनाएर वाहवाही बटुलेका थिए । त्यस्तै, ०७० मा भएका नवजीवन भ्याली पब्लिक गोल्डन पिक र भ्याली भ्यु बास्केटबल प्रतियोगितामा अजयको प्रदर्शन अविष्मरणीय रहेको थियो । उनले ती दुवै प्रतियोगितामा शानदार कलाको प्रदर्शन गर्दै विद्यालयलाई दुवै ट्रफी दिलाएका थिए । अजयकै अद्भूत प्रदर्शनका कारण अहिले विद्यालयको शोकेस बास्केटबलका विजयी ट्रफीहरूले भरिएको छ । हिजोसम्म गुमनाम स्कुल आज अजयकै कारणले चर्चाको शिखरमा पुगेको छ । इनोभेटिभ स्कुलले पनि अजयजस्तो प्रभावशाली खेलाडी पाउँदा गौरवको महसुस गरेको छ र अजयको सफलताका लागि होस्टेमा हैँसे गर्दै आएको छ ।
यसैगरी ०७० मै बंगलादेशमा सम्पन्न भएको सावा च्याम्पियनसिप अन्डर–१६ बास्केटबल प्रतियोगितामा अजयले प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए । यो उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । भारत, बंगलादेश, नेपाल र माल्दिभ्सको सहभागिता रहेका उक्त प्रतियोगितामा नेपाल, भारत र बंगलादेशसँग पराजित भए पनि माल्दिभ्सलाई भने जित्न सफल भएको थियो । प्रतियोगितामा नेपाल पराजित भए पनि अजयले भने प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनकै उत्कृष्ट प्रदर्शनका बाबजुद माल्दिभ्समाथि नेपालले विजय हासिल गरेको थियो । यसरी राष्ट्रियस्तरमा आफ्नो अमिट छाप बनाउँदै आएका अजयले अन्तर्राष्ट्रियस्तरमा पनि उत्कृष्ट प्रदर्शन गरेर सबैको मन जित्न सफल भएका थिए ।
‘लजालु स्वभावका अजय प्रायः बोल्न हिच्किचाउँछन् । उनी बोलेरभन्दा गरेर देखाउन चाहन्छन,’ यो कथन उनका बुबा अनन्तको हो । अजयसँगको जम्काभेटमा उनको प्रस्तुति पनि बुबाले व्याख्या गरेजस्तै देखियो । कक्षा दशमा पढ्ने उनी साँच्चिकै लजालु स्वभावका रहेछन् । पढाइ र खेलकुदमा उत्तिकै अब्बल उनी बास्केटबल खेल्न थालेपछि पढाइमा अलि पछि परेका छन् । र, पनि टप टेनभित्र भने पर्दै आएका छन् । वर्तमान अवस्थामा पढाइ र खेलकुदलाई सँगसँगै लगेका अजयको भविष्यको योजना भने प्रस्ट छैन । उनले आफूलाई खेलाडी बनाउन सरकारको भूमिका नै अहम् बन्ने बताए । नेपालको परिप्रेक्ष्यमा अहिले पनि खेलाडीको अस्तित्वमा प्रश्नचिह्न नै लागेको बताउने अजयले सरकार र सम्बन्धित निकायको सहकार्यबिना उत्कृष्ट खेलाडी बन्न नसकिने बताए । हामीलाई यहाँसम्म पु-याउन अभिभावकले धेरै सहयोग गरेका छन् । तर, सधैं यस्तो हुँदैन, अबको दायित्व भनेको सरकारको हो । सरकारले नै अग्रिणी भूमिका निभाउनुपर्छ । प्रतिभाको पहिचान गरेर उचित व्यवस्थापन गर्नुपर्छ । अन्यथा खेलकुदलाई अलबिदाबाहेक अन्य के भन्न सकिन्छ र भनी प्रतिप्रश्न गरेका थिए । यसै सन्दर्भमा उनका बुबा अनन्तले भने, ‘म एक खेलकुदप्रेमी भएको नाताले पनि पढाइका अलावा खेलकुदमा पनि राम्रो बने केही छैन, तर त्यसका लागि राज्यस्तरबाटै उचित व्यवस्था हुनुपर्छ ।’
खेल समाचार
विश्वकप फुटबल ट्रफी नेपालमा
सन् २०१४ मा ब्राजिलमा हुने विश्वकप फुटबल प्रतियोगिताको आयोजक राष्ट्र ब्राजिलको रियो दि जेनेरियोबाट गत भदौदेखि शुभारम्भ भएको विश्वकप ट्रफी टुर यात्रामा गत शनिबार नेपाल आइपुगेको हो । भुटान हुँदै नेपाल भित्रिएको विश्वकप ट्रफीलाई राष्ट्रपति डा. रामवरण यादवले दरशरथ रंगशालामा सार्वजनिक गरेका थिए । फिफाको नियमअनुसार टुरको क्रममा विश्वकप विजेता खेलाडी र सम्बन्धित मुलुकका राष्ट्रप्रमुखले मात्र छुन पाउने भएकाले राष्ट्रपति यादवलाई सो अवसर प्राप्त भएको हो । सो अवसरमा राष्ट्रपति यादवले यसलाई विशेष दिनको संज्ञा दिँदै मुलुकभित्र विश्वकप फुटबल ट्रफी ग्रहण गर्न पाउनु र यसको आतिथ्य गर्न पाउनु साँच्चिकै गौरवको कुरो भएको बताएका थिए । विश्वकप ट्रफी सार्वजनिक गर्दा निकै उत्साहित दिएका राष्ट्रपति यादवले फुटबल विश्वभरि लोकप्रिय रहेको स्मरण गराउँदै यो ट्रफी नेपाल यात्रामा समेटिएकोमा धन्यवाद दिएका थिए ।
१८ क्यारेट सुनबाट निर्मित ३६.८ सेन्टिमिटर उचाइ रहेको विश्वकप ट्रफीको तौल ६ किलो एक सय ७५ ग्राम रहेको छ । नेपाल भित्रिएको यो ट्रफी सन् १९७४ को विश्वकप विजेताले प्राप्त गरेको थियो । त्यसपछिका विश्वकप विजेताको नाम यो ट्रफीमा अङ्कित गरिएको छ । ब्राजिलबाट सुरु भएको विश्वकप ट्रफी टुर दुई सय ६७ दिनपछि पुनः आयोजक राष्ट्र ब्राजिलमा पु-याइनेछ । यो अवधिमा विश्वकप ट्रफीलाई विश्वका ८८ देशको भ्रमण गराइनेछ ।
लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपका लागि तीन करोड
शान्तिका लागि खेलकुद भन्ने नाराका साथ प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप १५ पुसदेखि १५ माघसम्म हुने भएको छ । राष्ट्रिय खेल सङ्घका राष्ट्रिय प्रतियोगिता सामूहिक रूपमा गर्नका लागि यस वर्षबाट लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप गर्न लागिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । लामाले पत्रकार सम्मेलनमा प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपको लोगो र कार्यविधि सार्वजनिक गरेका थिए ।
सो च्याम्पियनसिपमार्फत दक्षिण कोरियाको इन्चोनमा हुने एसियन खेलका लागि खेलाडी छनोटसमेत हुने भएकाले प्रतियोगिता अन्तर्राष्ट्रिय मूल्य र मान्यताका आधारमा सञ्चालन गर्न लागिएको सदस्यसचिव लामाले बताए । च्याम्यिनसिपका लागि राखेपले तीन करोड एक लाख रुपैयाँ विनियोजन गरेको छ । सङ्घहरूसँग छलफल गरेर रकम बाँडफाँड गरिएको छ । ९ पुसमा सङ्घहरूलाई सो रकम वितरण गरिनेछ । प्रत्येक दुई वर्षमा बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रत्येक वर्षमा लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप हुने सदस्यसचिव लामाले बताएका थिए । ‘सङ्घहरूलाई लगानी बढाउन पनि यसले ठूलो भूमिका खेल्छ,’ लामाले भने ।
राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको राष्ट्रिय प्रतियोगिता समन्वयन समितिको सिफारिसमा ९ पुसमा च्याम्पियनसिपको सामूहिक उद्घाटन गरिने बताइएको छ । उद्घाटनपछि बक्सिङको राष्ट्रिय प्रतियोगिता सुरु हुनेछ । सो उद्घाटन कार्यक्रममा सङ्घहरूले राष्ट्रिय प्रतियोगिता सञ्चालनका लागि राखेपबाट पाउने रकम प्राप्त गर्नेछन् । ‘संस्थागत रूपमा प्रतियोगिता सञ्चालन गर्न र सबै राष्ट्रिय खेल सङ्घहरूलाई एउटै छातामुनि राखेर तोकिएको समय सीमाभित्र कार्यक्रम सम्पन्न गर्नुका लागि प्रत्येक वर्ष च्याम्पियनसिप गर्न लागिएको हो,’ राष्ट्रिय प्रतियोगिता समन्वय समितिका संयोजक तथा खेलकुद प्रतियोगिता विभाग प्रमुख कमल खनालले भने ।
राष्ट्रिय खेल सङ्घहरूले प्रत्येक वर्ष गरिने राष्ट्रिय प्रतियोगिता परिषद्को सहयोगमा सङ्घद्वारा गरिनेछ । ‘यस वर्षबाट सम्मानजनक रकम उपलब्ध गराई प्रतियोगिता गर्न सङ्घहरूलाई कार्यविधि उपलब्ध गराइएको छ,’ राखेपका सदस्यसचिव युवराज लामाले भने । त्यसैगरी खेल अवधिमा आइपर्ने समस्यालाई समन्वयात्मक किसिमले समाधान गर्न र राष्ट्रिय प्रतियोयिता समन्वय समिति गठन गरिएको छ । खेलकुद प्रतियोगिता विभागका प्रमुख कमल खनालको संयोजकत्वमा नौ सदस्यीय समिति रहेको छ । समितिको सदस्यमा सङ्घ–संस्था विभाग प्रमुख प्रकाशचन्द्र घिमिरे, विद्यालय खेलकुद विकास विभागका प्रमुख कुलबहादुर थापा, खेलकुद प्रशिक्षण विभागका तिलकबहादुर राउत, आर्थिक प्रशासन शाखाका प्रमुख वासुदेव आचार्य, राष्ट्रिय टिम तयारी समितिका निर्देशक हरिहर श्रेष्ठ, विद्यालय खेलकुद शिक्षक कोर्सका प्रमुख पार्थसारथीसेन गुप्त, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव रामबहादुर हमाल र राखेपका जनसम्पर्क अधिकृत मीनकुमार शर्मा रहेका छन् ।
च्याम्यिनसिपमा ३२ खेल
सो च्याम्पियनसिपमा धनगढीमा भएको छैटाँै राष्ट्रिय खेलकुद प्रतियोगितामा ३२ खेल समावेश रहेका छन् । जसमा जुडो, बुद्धिचाल, उसु, सुटिङ, फुलकन्ट्याक्ट, कराते, आईटीएफ, कुस्ती, स्क्वास, भारोत्तोलन, तेक्वान्दो, कराते, बक्सिङ, जिम्न्यास्टिक, सफ्टटेनिस, भलिबल, ह्यान्डबल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, क्रिकेट, आर्चरी, तेक्वान्दो युनियन, साइक्लिङ, विलियर्ड स्नुकर तथा पुल, हक्की, कबड्डी, फुटबल, एथलेटिक्स, बुदोकैदो समावेश गरिएको छ । गल्फ, शारीरिक सुगठन र पौडीका राष्ट्रिय प्रतियोगिता भने तोकिएको समयमा हुने छैन । पानीको तापक्रमका कारण पौडी गराउन नसकिने भएको हो । जाडो मौसम, तयारीका लागि तीन महिना लाग्ने भएकाले शारीरिक सुगठन पनि राखेपले तोकेको मितिमा हुने छैन । त्यसैगरी गल्फ प्रतियोगिता पनि तोकिएको समयभन्दा पछाडि सार्नुपरेका हो । इन्चोनको तयारीमा खेलाडी प्रशिक्षणका लागि भारतमा गएको र अन्य प्रतियोगितामा खेलाडी सहभागी गराउनुपर्ने भएकाले गल्फ सो समयसीमामा नहुने भएको हो ।
छैटौँ कोरियन एम्बेसडर तेक्वान्दो सम्पन्न
छैटौँ कोरियन एम्बेसडर राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सिनियरतर्फ पुरुषमा पर्सा र महिलामा एपीएफ क्लब टिम च्याम्पियन बनेका छन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न प्रतियोगितामा पर्साले दुई स्वर्ण र एक कास्य जित्यो भने एपीएफले एक स्वर्ण, एक रजत र एक कास्य हात पारेको थियो ।
नेपाल तेक्वान्दो सङ्घ, नेपालस्थित कोरियाली दूतावास र विश्व तेक्वान्दो मुख्यालय (कुकिवन) द्वारा आयोजित प्रतियोगिताको जुनियरको पुरुषमा तीन स्वर्णसहित ब्वाइज युनियन तेक्वान्दो डोजाङ पहिलो भयो । जुनियरकै महिलामा कोटेश्वर तेक्वान्दो डोजाङले एक स्वर्ण, एक रजत र एक कास्य जित्दै टिम च्याम्पियनको उपाधि उचालेको थियो ।
जुनियर महिलाको ४६ केजीमा कोटेश्वर तेक्वान्दो डोजाङकी काजल श्रेष्ठले फाइनलमा विजेश्वरीकी विनिता श्रेष्ठलाई पराजित गर्दै स्वर्ण पदक जितेकी थिइन् । सिनियर महिलाको ५३ केजी फाइनलमा कोटेश्वरकी सुष्मा श्रेष्ठले पोखराकी मनीषा परियारलाई हराउँदै शीर्ष स्थान हात पारिन् । सिनियर पुरुषको ६३ केजीमा वीरगञ्जका पुरुषोत्तम मानन्धरले राष्ट्रिय तेक्वान्दो प्रशिक्षण केन्द्रका विजय लामा, जुनियर पुरुषको ३३ केजीमा ब्वाइज युनियन तेक्वान्दो डोजाङका डीबी लामाले इचंगुका अनिश तामाङ, जुनियर पुरुषको ४८ केजीमा वीरगञ्जका विकास राईले सिन्धुपाल्चोकका अजय गुरुङ, जुनियर पुरुषको ३९ केजीमा मैत्रीका बबिन विष्टले बालाजुका सन्तोष डङ्गोल, जुनियर पुरुषको ५५ केजीमा न्यु गोल्ड्सका डेकर राईले कोटेश्वरका कृष्ण लामा, सिनियर महिलाको ४९ केजीमा चितवनकी पार्वती गुरुङले कास्कीकी प्रशंसा क्षेत्री तथा सिनियर महिलाको ५७ केजीमा स्टार गणतान्त्रिककी नम्रता तुलाधरले बाक्सिलाकी दीपशिखा राईलाई पराजित गर्दै स्वर्ण जितेका थिए ।
१३ देखि १९ वर्षको टिम पुम्सेको जुनियर महिलामा स्युचाटार तेक्वान्दो डोजाङकी नमिका मोक्तान, सरस्वती तामाङ र शिखा नेपाल तथा पुरुषमा स्युचाटारका अस्मित रेग्मी, छिरिङ तामाङ र प्रवेश भण्डारी उत्कृष्ट भए । त्यस्तै १९ देखि ३० वर्षको सिनियर पुरुष टिम पुम्सेमा नेपाली सेनाका सञ्जीव ओझा, प्रवीण गुरुङ र रेजिन रिमाल उत्कृष्ट बने । १३ वर्षको पेयर पुम्सेमा स्युचाटारका विनिता तामाङ र अस्मित गुरुङ, १६ वर्षको पेयर पुम्सेमा सैनिक आवासीय महाविद्यालयका सन्दीप पण्डित र शर्मिला उप्रेती, १९ वर्षको पेयर पुम्सेमा नुवाकोटका नितेश श्रेष्ठ र योगमाया थापा, २५ वर्षको पेयर पुम्सेमा कास्कीका रेखमाया गुरुङ र विकास गुरुङ तथा ३० वर्षको पेयर पुम्सेमा सगरमाथाका मीनु कार्की र अर्जुनभक्त राई उत्कृष्ट ठहरिएका थिए ।
पुम्सेको जुनियरतर्फ पुरुषमा सैनिकका सन्दीप पण्डित र महिलामा विजेश्वरीकी रोशनी श्रेष्ठ तथा सिनियरको पुरुषमा बुटवलका मदन थापा र महिलामा निमा गुरुङ उत्कृष्ट चुनिए । त्यस्तै स्पाइरिङको सिनियर पुरुषमा वीरगञ्जका एमडी वेश र महिलामा बुटवलकी सरिता श्रेष्ठ तथा जुनियरको पुरुषमा बुटवलका भोलाविक्रम थापा र महिलामा कोटेश्वरकी काजल श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट चारैले १५ हजारका दरले नगद पुरस्कार प्राप्त गरेका थिए ।
विजेतालाई राखेप सदस्यसचिव युवराज लामा, नेपालका लागि कोरियाली राजदूत किम इल डो, तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणा, प्रतियोगिता संयोजक प्रदीप जोशी (टेकराज), तेक्वान्दो सङ्घका सदस्य जनार्जन केसीलगायतले पुरस्कार वितरण गरेका थिए । तीनदिने प्रतियोगितामा एक हजार चार सय तीन खेलाडीले सिनियर र जुनियरको स्पाइरिङ र पुम्सेतर्फ ४३ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।
पदकविजेता नारायण सम्मानित
थाइल्यान्डको बैंककमा भएको स्ट्यान्डर्ड चार्टर्ड बैंक म्याराथनको भेट्रान्सतर्फ तेस्रो भएकी नारायणदेवी सिंह र छैटौं भएका धर्म महर्जनलाई डा. खगेन्द्र स्पोर्टस् फाउन्डेसनले सम्मान गरेको छ । फाउन्डेसनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठलगायतले उनीहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरेका हुन् । साथै टोलीका प्रशिक्षक दक्षिण एसियाली कीर्तिमानी धावक वैकुण्ठ मानन्धर र व्यवस्थापक फाउन्डेसनका महासचिव रजत श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । सम्मानित दुवै खेलाडीले गत नोभेम्बर १७ तारिखमा भएको म्याराथनअन्तर्गत हाफ म्याराथन (२१ किलोमिटर) मा प्रतिस्पर्धा गरेका थिए ।
नारायणदेवीले निर्धारित दूरी एक घन्टा ३३ मिनेटमा पूरा गरेकी थिइन् । फाउन्डेसनका अनुसार नारायणदेवी सहभागी प्रतिस्पर्धामा चार हजार पाँच सय प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । तेस्रो भएबापत नारायणदेवीले नगद पुरस्कारस्वरूप सात हजार भाट पाएकी थिइन् । धर्मले निर्धारित दूरी एक घन्टा १५ मिनेटमा सकाएका थिए । प्रतियोगितामा करिब चार हजार प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । बैंकक म्याराथन विश्वमै सातौँ बरीयताको म्याराथन भएको महासचिव श्रेष्ठले जानकारी गराए । सो म्याराथनमा ६० राष्ट्रका २१ हजारले प्रतिस्पर्धा गरेका थिए ।
भुटानमा जुडोलाई १४ स्वर्ण
भुटानको थिम्पुमा भएको मैत्रीपूर्ण जुडो प्रतियोगितामा नेपालले १४ स्वर्णसहित एक रजत पनि जित्न सफल भएको छ । प्रतियोगितामा सिनियर र जुनियर गरी १५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । स्वर्ण जित्ने सिनियर खेलाडीमा सरोज महर्जन, पवनकुमार श्रेष्ठ, मोहन सुनुवार, सञ्जय महर्जन तथा शिवबहादुर बराम रहेका छन् । त्यस्तै जुनियरतर्फ सुजी सच्छे श्रेष्ठ, सुबोध मण्डल, शनिशसाई खड्गी, पुनम श्रेष्ठ, मनिता श्रेष्ठ प्रधान, इन्द्रबहादुर श्रेष्ठ, देवकीमाया श्रेष्ठ, रेखा सुनार तथा युवराजकुमार सुनारले नेपाललाई स्वर्ण दिलाएका थिए । जुनियरमै सुवेन खड्गीले भने रजतमै चित्त बुझाउनुपरेको थियो । प्रतियोगिताको पुरुषमा भुटान ‘बी’का कर्मा योङ्जे र महिलामा नेपालकी देवकीमाया श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए । एकदिने प्रतियोगितामा नेपाली खेलाडीका अलावा भुटानका पाँच टिमले प्रतिस्पर्धा गरेको नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जनाएका छन् ।
आभाष र विभूति च्याम्पियन
आभाष मल्ल र विभूति कार्कीले १२औँ जयकर स्मृति जुनियर राष्ट्रिय खुला लनटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । यू–१६ सिंगल्सको ब्वाइजमा आभाष र गल्र्समा विभूति च्याम्पियन बनेका हुन् । सातदोबाटो टेनिसकोर्टमा भएको ब्वाइजको फाइनलमा आभाषले अभय गौचनलाई ६–३ र ६–४ ले पराजित गरका थिए भने गल्र्सको उपाधि भिडन्तमा विभूतिले मायांका राणाको चुनौती ६–२ र ६–२ ले समाप्त पारेकी थिइन् ।
मनजयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा एनी माथेमा यू–१२ गल्र्स सिंगल्स च्याम्पियन बनिन् । एनीले इरा राउतलाई ६–४, १–६ र ७–५ ले पराजित गरेकी हुन् । त्यसअघि यू–९ सिंगल्सको ब्वाइजमा आदित्य सुवेदी र गल्र्समा इशाश्री शाह, यू–१० सिंगल्सको ब्वाइजमा सम्यकभूषण बज्राचार्य र गल्र्समा अभिलाषा विष्ट, यू–१२ ब्वाइज सिंगल्समा संरक्षकभूषण बज्राचार्य तथा यू–१४ ब्वाइज सिंगल्समा रेन्जन लामाले स्वर्ण जितेका थिए । खुला डबल्सको ब्वाइजमा आभाष मल्ल र अभय गौचन तथा गल्र्समा विभूति कार्की र विजिशा श्रेष्ठको जोडी पहिलो भएका थिए ।
विजेतालाई दोस्रो संविधानसभाको निर्वाचनमा ललितपुर क्षेत्र नं. १ बाट काङ्ग्रेसका तर्फबाट विजयी उम्मेदवार उदयशमशेर राणालगायतले पुरस्कार वितरण गरेका थिए । मङ्सिर ३० गतेदेखि सुरु प्रतियोगितामा एक सय ५६ खेलाडीले ११ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको कुल नगद पुरस्कार राशि दुई लाख ५० हजार रुपैयाँ थियो । आयोजकका अनुसार उक्त नगद पुरस्कार नेपाली जुनियर टेनिसकै सर्वाधिक हो ।
नवनिर्मित टेनिसकोर्टको उद्घाटन
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा निर्माण गरिएको दुई नयाँ कोर्टको हालै उद्घाटन गरिएको छ । उदयशमशेर राणाले नवनिर्मित कोर्टको औपचारिक रूपमा उद्घाटन गरेका थिए । उक्त दुई कोर्टसँगै कम्प्लेक्समा कोर्टको सङ्ख्या ६ पुगेको छ । योसँगै अखिल नेपाल लनटेनिस सङ्घलाई अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने बाटो खुलेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न एउटै परिसरमा कम्तीमा ६ कोर्ट हुनु जरुरी छ ।
दुई कोर्ट निर्माण गर्न २८ लाख रुपैयाँ खर्च भएको लनटेनिस सङ्घका अध्यक्ष मनोजशमशेर जंगबहादुर राणाले जनाएका छन् । त्यसमा शिखर इन्सोरेन्स प्रा.लि. का विकासजंग राणा, मनजयकर टेनिस फ्यान क्लबका मनोजशमशेर जंगबहादुर राणा, नेपाल इन्भेस्टमेन्ट बैंक प्रा.लि. का पृथ्वीबहादुर पाण्डे, स्पिड वे कार्गो प्रा.लि. का राजु श्रेष्ठ र होटल हिमालयका दिनेश तुलाधरले समान ५–५ लाख रुपैयाँ प्रायोजन गरेको लनटेनिस सङ्घले जनाएको छ ।
प्रतिक्रिया